सजिलै पुगेको अवसर
 ई. राजदास श्रेष्ठ
आफ्नो विवाहको औँठी (वेडिङ्ग रिङ्ग) बेचेर प्रफुल्लित मन लिएर म वार्सा (पोल्यान्डको राजधानी सहर) को रेल वे स्टेसन नजिकको एक गार्मेन्ट पसलभित्र छिरेँ । आफूलाई चाहिने साथीहरूको अर्डरअनुसार मैले लन्डनमा सबैजसो सामान किनिसकेको थिएँ । तर, आफ्नै श्रीमतीको लागि भनेर केही किनेको थिएन । त्यसकारण त्यो औँठी बेचेको पैसाले श्रीमतीको लागि केही किन्ने इच्छाले पसल हेर्दै गएँ ।
गाढा हरियो–कालो रङ्गको कटराइजको भित्र सिल्क कपडा भएको ५ फीट जति लामो ओभरकोट श्रीमतीको लागि भनेर किनेँ ।
ओभरकोट किनेपछि मेरो खल्ती रित्तो भयो र म पेरिसबाट लेनिनग्राडको लागि आउने कार्गाे टे«न पर्खेर रेलवे स्टेसनमा आएँ ।
एक घण्टा जति कुरेपछि खाली डिब्बाभित्र मभित्र छिरेँ । रेलको डिब्बाभित्रका क्याविनहरू प्रायः खाली थिए । एउटा क्याविनमा म आरामले बसेँ । लामो सास फेर्दै एउटा डनहील चुरोट सल्काएँ । त्यसबेला म चुरोट निकै खान्थेँ । रातो चारकुने डनहीलको बट्टा मलाई धेरै मनपथ्र्यो र ५५५ भन्दा डनहीलको स्वाद अलि कडा मीठो लाग्थ्यो । सोभियत सङ्घमा डनहील, ५५५ जस्ता विदेशी चुरोट र विदेशी ब्रान्डका मदिरा ह्वीस्की आदि सजिलै पाइँदैन । मस्को सहरको ‘बेरोझ्का’ भन्ने ड्युटी फ्री पसल अथवा ठूलठूला होटलहरूको गीफ्ट सपहरूमा विदेशी मुद्रामा केही यस्ता सामान किन्न पाइन्छ ।
पेय पदार्थमा आफ्नै देशमा उत्पादित भोड्का र बीयर अनि चुरोट पनि आफ्नै उत्पादन नै अधिक मात्रामा प्रयोग गरिन्थ्यो । १९७० को दशकमा सोभियत सङ्घको बजारमा बल्गारियामा उत्पादित ‘टु–१४४’ र ‘वार्ना’ नामका दुई ब्रान्डका फिल्टर चुरोट देखेँ । धेरै युवाहरूले यी फिल्टर चुरोट खानथाले । तर, अत्यधिक रुसीहरू यी हल्का स्वादका फिल्टर चुरोट मन पराउँदैनथे र पपीरोज भन्ने अलि कडा खालका स्थानीय चुरोट नै बढी मनपराउँथे । हामी सोभियत सङ्घमा पढ्न बस्दा मान्छेहरू प्रायः चुरोट खाँदैनथे । तर आजकल धेरै ठाउँमा केटीहरूले पनि बाटैमा चुरोट खाएर हिँडेका देखिन्छन् ।

कजाकस्थानमा लेखक

म चार बेड भएको खाली क्याविनमा एक्लै चुरोट खाइबसेको थाहा पाएर हो कि सँगैको एक क्याविनबाट दुई जना २८–३० वर्षका रुसी महिलाहरू निस्केर मकहाँ क्याविनको ढोकाबाट हेर्न आए । मैले रुसी भाषामा नमस्कार ! भित्र आउनुस् भनेर उनीहरूलाई भित्र डाकेँ । दुवै जना भित्र आएर मेरोसामु खाली बेडमा बसेर भने, “तपाईँ रुसी बोल्नुहुन्छ ।”
आफ्नो परिचय दिँदै मैले भनेँ, “म रुसी बोल्छु । रुसमा म विवाहित पनि छु । त्यसकारण मलाई आधा रुसी भने पनि हुन्छ ।”
मसँग रुसी भाषामा कुरा गर्न पाएकोमा उनीहरू खुसी भए । मैले आफूसँग भएको डनहील चुरोट अफर गरेँ । दुईमध्ये एकले एउटा चुरोट लिई सल्काएर तान्न थालिन् । अर्काेले “तपाईँसँग बसेर अलिकति ड्रीङ्कस गर्न मिल्छ ?” भनी आफ्नो क्याविनमा गएर एउटा आधा भएको एक बोटल ‘रेड लिबेल’ ह्वीस्की बोकेर आइन् ।
चुरोटको धुवाँ उडाउँदै हामी तीन जना अलि अलि ह्वीस्की पिउँदै दुई घण्टा जति गफ ग¥यौँ । मैले आफ्नो लण्डनको यात्रा वर्णन गर्दै गर्दा उनीहरू एक आपसमा मुख हेर्दै हास्न थाले । मैले रहस्य बुझिनँ उनीहरू किन हाँसेका भनेर । कुरा गर्दै जाँदा उनीहरू एक आपसको मुख हेर्दै हाँसे । पेरिसमा उनीहरू राति एक क्लवमा गएर एडल्ट फिल्म हेरेर आएकारहेछन् । जीवनमा पहिलो चोटि यस्तो फिल्म हेरेको अनुभव सुनाउँदै भने, “तिनीहरूकहाँ त्यस्तो फिल्म हेर्न फ्री छ ?”
मैले भनेँ, “त्यस्तो फिल्म हेर्न हामीकहाँ पाइँदैन । हामीकहाँ त अहिलेसम्म टेलिभिजन पनि आएको छैन । हामी हलमा गएर प्रायः हिन्दी फिल्ममात्र हेर्छाैँ । सोभियत सङ्घमा पनि बर्जित थियो यस्तो यौन फिल्महरू हेर्न । यौनसम्बन्धी पत्रपत्रिका पनि केही पाइँदैन ।
तर पश्चिम युरोपमा पत्रपत्रिका पसलहरूमा सेक्स पत्रिकाहरू छ्यासछ्यास्ती पाइन्छन् । साँझपख हल्यान्डको बजारमा मैले रेड लाइट इलाका पनि देखेको कुरा उनीहरूलाई सुनाएँ । त्यसबेलाको पूर्वी युरोप र पश्चिम युरोपको जनजीवन र सामाजिक परिवेशहरू धेरै फरक थिए ।
दुई घण्टा जति कुरा गरेपछि उनीहरूले ल्याएको बोटल पनि रित्तियो र मेरो चुरोटको बट्टा पनि सकियो । अनि मसँग बिदाबाजी गर्दै उनीहरू आफ्नो क्याविनमा गए । म आफ्नो क्याविनमा गएँ । म आफ्नो बेडमा लेटेर सुत्ने प्रयास गरेँ । उनीहरू पेरिसबाट लेनिनग्राडसम्म जानुपर्ने केही थिएन, धेरै लामो यात्रा बाँकी छ । तर मलाई पोल्यान्ड र बेलारुसको बोर्डर सहर ब्रेस्तमा ओर्लनु थियो । बिहान सबेरै आइपुग्छ ब्रेस्त । त्यसकारण मैले उनीहरूलाई ह्वीस्कीको लागि र रमाइलो गफको लागि धन्यवाद दिँदै आफू सुत्न चाहेको बताएँ ।
मिर्मिरे बिहानमा रेल पोल्यान्ड र बेलारुसको बोर्डर सिटी ब्रस्तमा आएर रोकियो । म हत्तरपत्तर आफ्नो सामानका झोलाहरू समातेर बाहिर निस्केँ । रेल तुरून्तै हुइँकियो । पेसेन्जर ट्रेन भए रोक्थ्यो होला केही बेर । तर, त्यो थियो मालसामान ढुवानी गर्ने कार्गाे टे«न । त्यसकारण टे«नभित्र कसैले पनि टिकट र पासपोर्ट चेक गर्न आएनन् । सजिलै भो मलाई । कसैलाई केही भन्नु परेन कहाँबाट आएको कहाँ जाने भनेर ।
रेलबाट झरेपछि म बोर्डरमा रहेको भन्सार चेकपोस्ट खोज्दै हिँडे । म आफ्नो पासपोर्ट निकालेर नजिकै रहेका दुई चेकपोस्ट नजिक गएँ । क्याविनभित्र यसो हेरेँ, भित्र कोही थिएनन् । अनि नजिकैको अर्काे क्याविनमा हेरेँ, त्यहाँ पनि कोही थिएनन् । भन्सारका मानिसहरू । मलाई अचम्म लाग्यो । यताउति हेरेँ, मानिस पनि कोही देखिनँ । ल भइगो भनेर बोर्डर क्रस गरी पोल्यान्डबाट बेलारुसमा पाइला सारेँ । तर मनमा अलि डर थियो । भन्सार क्लियर नगरिकन सामान ल्यायो भनी समात्ला कि भनेर । त्यसकारण फेरि भन्सारको क्याविनतिर एकचोटि हेरेँ । तर सुनसानै थियो । पछि थाहा भयो, यतिबेला ब्रेस्तमा कुनै यात्रुबाहक पेसेन्जर टे«न आउने सेड्युल थिएन । त्यसकारण भन्सार पोस्टहरू खाली र बन्द थिए । यदि भन्सार खुला भएको भए मेरो सबै सामान चेक हुन्थ्यो होला । त्यतिका सामान मलाई छुट दिँदैनथ्यो होला अथवा मलाई भन्सार कर तिर्न लगाउँथ्यो होला । कर तिर्न त के मसँग एक ग्लास पानी पिउन पनि पैसा थिएन । भएको केही चुरोटको खिल्ली पनि सकिएको थियो ।
आफ्नो सामानका पोकाहरू बोकेर सोभियत बेलारुसको ब्रेस्त सहरको रेलवे स्टेसनमा आएर मस्को जाने टे«न पर्खन बसेँ ।
एक दुई घन्टाको पर्खाइपछि स्टेसनमा मस्कोको लागि रेल आइपुग्यो । ब्रेस्त छिर्नेबित्तिकै मलाई आनन्दको अनुभूति भयो । मानौँ म परदेशबाट स्वदेश अथवा सोभियत सङ्घभित्र छिरेँ । त्यसमाथि मस्को जाने टे«न आउनेबित्तिकै म हर्षले रेलभित्र छिरेँ मानौँ आफ्नो घरभित्र छिरेँ । अब मलाई कुनै डर भएन, अब कहीँ कसैले चेक जाँच गर्ने कुरा पनि भएन । अब आरामले रेल चढ्दै मस्को पुग्ने हो अनि मस्कोबाट सरासर अर्काे रेल चढी आफू बस्ने उक्राइनाको सहर खार्काेभ पुग्ने हो जहाँ मलाई आफ्नो दुई जना बच्चाहरूसहित श्रीमती पर्खिराखेकी हुन्छिन् ।
एउटा क्याविनमा टे«नका परिचारिकालाई आफ्नो टिकट देखाएर ट्रेनभित्र छिरेँ । उनले देखाएको क्याविनभित्र पस्दा त्यहाँ त तीन जनाको एक परिवार बिहानको ब्रेकफास्ट खान तयार भएर बसेको देखेँ ।
सोभियत सङ्घमा रेलमा यात्रा गर्दा रुसीहरू खानेकुरा घरमै बनाएर ल्याउँथे – पाउरोटी, माछा, मासु, सलामी, ससेज, उमालेका अण्डा अनि साथमा एकदुई बोटल भोडका र मारिनेटेड गोलभेँडा अथवा काँक्रो । ४–५ वर्ष सोभियत सङ्घमा बस्दा रुसी खानाको बासना मलाई खुब मन पर्न थालिसकेको थियो । त्यसकारण रेलको क्याविनभित्र छिर्नेबित्तिकै मलाई भोको भएको महसुस भयो । मलाई अलि अप्ठ्यारो प¥यो । तैपनि आफ्नो भोको अनुहारलाई लुकाउँदै मैले रुसी भाषामा भनेँ, “नमस्कार ¤ भित्र आउन सक्छु ?”
“आउनुस् प्लिज, बस्नुस् हामीसँग बे्रकफास्ट खान”, त्यस परिवारका ३०–४० वर्ष जति देखिने महिलाले भित्री मनदेखि मलाई निमन्त्रणा दिइन् उनीहरूसँग बस्न । तीन जनामा अर्काे उनका श्रीमान् र अर्की १०–१२ वर्ष जतिकी एक छोरी । “तपाईँ रुसी राम्रो बोल्नुहुन्छ ?” लोग्नेले भने । “हो, म सोभियत सङ्घमा पढ्न बसेको ४–५ वर्ष भयो । एक रुसी महिलासँग विवाहित पनि छु र दुई स–साना छोराहरू छन् ।” मैले भनेँ ।


“कहीँबाट आउनुभएको र कहाँसम्म जाने हो ?” महिलाले सोधिन् र ‘प्राभ्दा’ पत्रिकाको एक पाना च्याटेर अण्डा, ससेजसँगै बटर हालेर एक टुक्रा कालो पाउरोटी दिइन् मेरोतर्फ ।
“खानुस् प्लिज….” भन्दै लोग्ने चाहिँले आफ्नो झोलाबाट एउटा रसियन भोडका ‘रसिस्काया’ निकालेर मलाई देखाउँदै भने, “मनपर्छ तपाईँलाई भोडका ?” मैले भनेँ, “भोडका मलाई धेरै मनपर्छ । त्यसमा पनि रसिस्काया भोडका मलाई ज्यादै मनपर्छ । तर बिहानैदेखि खाने बानी छैन ।”
“केही छैन अलि अलि हुन्छ भन्दै तीनवटा स–साना ग्लासमा भोडका भर्दै एउटा ग्लास आफ्नी श्रीमतीतर्फ, अर्काे मेरो हातमा समाउन दिए र तेस्रो आफूले उठाएर “ल लिऊँ त तपाईँको स्वास्थ्यको लागि” भनेर एक ग्लास भोडका एकै छिनमा स्वाट्ट पारँे । बुढोले अनि हत्तरपत्तर एक टुक्रा नुनिलो काँक्रो क्वाराक्क टोकेर सुस्केरा हाल्दै भने, “ओहो ! काक् खराषो ! (अहो ! कस्तो मीठो !)