भर्खरै :

विचारको अपव्याख्या

मध्यचीनको उहानमा कोभिड–१९ भाइरसको सङ्क्रमण व्यापक भएपछि त्यहाँ रहेका नेपालीहरूले आफूलाई स्वदेश फिर्ता गर्न सरकारसमक्ष गुहारे । तर, उनीहरूलाई नेपाल ल्याउँदा प्राणघातक सो भाइरस नेपालमा पनि सङ्क्रमण हुनसक्नेमा सबै सजग भए । त्यसकारण उनीहरूलाई नेपाल फर्काउने–नफर्काउने, फर्काए कसरी सङ्क्रमण नहुने गरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भयो । उहानलगायत वरपरका प्रान्त र विश्वकै केही देशमा फैलिसकेको भाइरस कदाचित नेपालमा फैलिए हामीले ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउनसक्थ्यो । त्यसकारण यदि नेपाल सरकारले सङ्क्रमण रोक्न उचित बन्दोबस्त गर्न नसक्ने हो भने उहानमै राखेर बरू आवश्यक बन्दोबस्तको लागि चीन सरकारसमक्ष अनुरोध गर्न सकिने तर्क पनि आए । तर, दैनिकरूपमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै उहानमा रहेका नेपालीका परिवारलाई थप तनाव भयो । उनीहरू पनि आफ्ना छोराछोरीको उद्धारको लागि सरकारको ढोका घच्घच्याउन पुगे ।
सरकारले उहानबाट फर्काउने नेपालीलाई काठमाडौँ उपत्यकाका चार स्थानमा कम्तीमा चौध दिन अलग राख्ने बन्दोबस्त गर्ने निधो ग¥यो । घना मानव बस्ती भएको काठमाडौँ उपत्यकाभित्र सम्भावित सङ्क्रमणको जोखिम कम गर्न मानव बस्तीभन्दा पर अलग ठाउँमा राख्नुपर्ने प्रस्ताव छलफलमा आयो । कसैप्रतिको असहिष्णुताको कारण भन्दा कदाचित सङ्क्रमण फैलिए धेरै क्षति हुने जोखिम कम गर्न त्यस्तो प्रस्ताव आएको थियो । सङ्क्रामक रोगलाई भावुकताको विषय बनाउँदा थप क्षतिको जोखिम हुन्थ्यो । त्यसकारण सरकारले राजधानी बाहिर वा राजधानीभित्रकै मानव बस्तीभन्दा परको कुनै ठाउँमा उहानबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राख्नुपर्ने प्रस्ताव विवेकपूर्ण हो ।
प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले मानव बस्तीभन्दा पर क्वारेन्टाइनस्थल राख्नुपर्ने विषय पटक–पटक उठाउनुभयो । उहाँको भनाइ सम्भावित क्षति न्यून होस् भन्ने सदाशयतामा आधारित थियो । विडम्बना, केही सञ्चारमाध्यम र त्यसैको लहलहैमा लागेर केही मानिसले भने सुवालले ‘आफ्नो जिल्ला भएकोले राख्न नदिने भनेको’, ‘असहिष्णु’ जस्ता मिथ्या आरोप लगाए । सामाजिक सञ्जालमा कति ‘विद्वान’ ले यो विषयमा उत्पात नै मच्चाए । के सङ्क्रामक रोगको सम्भावित सङ्क्रमण रोक्न क्वारेन्टाइनस्थल मानव बस्तीभन्दा पर राख्नुपर्ने तर्क अमानवीय हो ? उहानमा रहेका १८५ जना नेपालीमध्ये अस्वस्थताको कारण १० जना त्यहीँ बस्नु परेको पछिल्लो वास्तविकतालाई आधार मानेर यो प्रश्नको जवाफ दिन जरूरी छ ।
उहानमा रहेका नेपालीलाई नेपाल फर्काउन विरोध गरिएको होइन । बरू, नेपालमा तिनलाई राख्न सरकारले उपयुक्त बन्दोबस्त मिलाउन सरकारलाई दबाब दिने हेतु आएका अभिव्यक्तिलाई निकृष्ट आरोप लगाउनु अशोभनीय हो । कसको र कुन ठाउँ, जिल्ला र निर्वाचन क्षेत्रको प्रश्न होइन, क्वारेन्टाइनस्थल कुनै पनि मानवबस्तीबीचमा राख्नुहुन्न भन्ने कुरा हो । खरिपाटीको क्वारेन्टाइन स्थल मानव बस्तीबीच हुने भएकोले अन्यत्र विकल्प खोज्नुपर्ने विचारलाई अंश वा आफूअनुकूल व्याख्या गरेर गलत प्रचारबाजी गर्नु स्वयं निकृष्टता हो । यस्तो सुझावलाई गम्भीरतापूर्वक नलिई प्रधानमन्त्री ओलीसमेत कटाक्षगिरीमा उत्रनु भने विडम्बनापूर्ण कुरा हो ।
बोली बिक्नेले जे बोल्दा पनि हुने चिन्तनले समाजलाई विवेकहीनता र तर्कहीनताको दिशातिर धकेल्न सक्छ । वैचारिक बहसमा तर्क र वैज्ञानिकताले मात्र ठाउँ पाउनुपर्छ । आफ्नो पद र बोलीको मोलको आधारमा आरोप र गालीगलौजमा उत्रनुले समाजलाई पछाडि धकेल्ने सोचलाई पक्षपोषण गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *