भर्खरै :

प्रधानमन्त्रीबाट प्रगतिको मिथ्या बखान

– आरोही श्रेष्ठ
नेपाली समाजमा एउटा आहान छ – कुरो र कुलोलाई जता लगे पनि हुन्छ । शनिबार प्रतिनिधिसभा बैठकमा सरकारका दुईवर्षे कामको उपलब्धि सुनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछिल्लोपटक उच्च आर्थिक वृद्धिदर हासिल गरिरेहका विश्वका १० प्रमुख मुलुकको पङ्क्तिमा समावेश भएको उल्लेख गरे ।
प्रम ओलीले भने, “गणतन्त्र स्थापना पछिको एक दशकसम्म आर्थिक वृद्धिदर ४ प्रतिशतमात्र थियो । कुनै वर्ष त हाम्रो आर्थिक वृद्धिदर ०.७४ प्रतिशतमात्रै थियो । अहिले ३ वर्षयता लगातार ६.५ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि रहेको छ ।” तर प्रम ओलीले आर्थिक वृद्धिका लागि सरकारले के भूमिका निर्वाह ग¥यो, त्यो स्पष्ट पार्न सकेनन् । एउटै सरकार दुई वर्षसम्म रहनुलाई नै उपलब्धि दाबी गरेका प्रमबाट सरकारको भूमिकाबारे जिज्ञासा राख्नु पनि अर्थपूर्ण लाग्दैन । गत वर्ष नेपालको आर्थिक वृद्धिदरको लक्ष्य ७.१ प्रतिशत थियो ।
यो वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएकोमा प्रम ओलीले लक्ष्य प्राप्ति हुने वा नहुनेबारे चर्चा गरेनन् । किनकि यो वर्ष कृषि क्षेत्रको उत्पादनमा गिरावट, पूर्वाधार निर्माणमा सुस्ती, कर्जा प्रवाहमा गिरावट, राजस्व सङ्कलन घट्नुलगायत कारणले लक्ष्य प्राप्तिमा आशङ्का गर्ने ठाउँ छ । फेरि नेपालजस्तो सानो अर्थतन्त्र रहेको देशको अर्थतन्त्रमा ६–७ प्रतिशत वृद्धि हुनु नै ठूलो प्रगति मान्न सकिन्न, दोहोरो अङ्कको वृद्धि भए उल्लेख्य हुन्छ ।
प्रमले दुई वर्षभित्र गरिबी र आर्थिक असमानता घटेको तथा बेरोजगारीको स्थिति लगभग अन्त्य भएको दाबी गरेपछि टेलिभिजनमा सम्बोधनको प्रत्यक्ष प्रसारण हेरिरहेका धेरैले हाँसो थाम्न सकेनन् । अर्थ श्रमबजारमा प्रवेश गर्ने जनशक्तिलाई रोजगारी दिन सकेको जिकिर गर्दै ओलीले भने, “हाम्रो श्रम बजारमा जति जनशक्ति प्रवेश गर्छ, त्यो श्रमशक्तिलार्ई नयाँ रोजगारीले भेट्ने–भेट्ने स्थितिमा छ । श्रम बजारमा पहिले भएका बेरोजगारले काम नपाएका होलान्, तर नयाँ बेरोजगार थपिएका छैनन् ।” प्रम ओलीले कुन तथ्याङ्कको आधारमा उक्त दाबी गर्नुभयो ? अहिले बेरोजगारहरूको तथ्याङ्क श्रम मन्त्रालयले सङ्कलन गरिरहेको तर अन्तिम परिणाममा नपुगेको भनिएको छ ।
श्रम मन्त्रालयकै तथ्याङ्कअनुसार नेपालमा प्रत्येक वर्ष ५ लाख युवा नयाँ जनशक्तिको रूपमा प्रवेश गर्छन् । तीमध्ये ३ लाख हाराहारी युवा विदेशिने गर्छन् र देशमा ३०–५० हजार युवाले रोजगारी पाउने गर्छन् । बाँकी डेढ लाख युवाले कहाँ के–कस्तो रोजगार पाउँछन् र बेरोजगारी चामत्कारिक रूपमा हट्न पुग्छ ? देशमा रोजगारी र बेरोजगारीको स्थिति ईपीएस परीक्षाको फाराम भर्न लाखौँको भीड लागेबाट र ३०० जनाको नोकरी खुल्नेबेला ९० हजारले आवेदन भरेबाट प्रस्ट हुन्छ । प्रमले बोल्दैमा मिथ्या कुरा सत्य हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *