भर्खरै :

बेलायतको मन्त्रिमण्डलमा हेरफेर

लण्डन, १६ फेब्रुअरी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको मन्त्रीमण्डलमा फेरबदल भएको छ । चान्सलर अफ द इक्चेकुर (अर्थमन्त्री) साजिद जाभेदको नाटकीय राजीनामापछि जोनसनको मन्त्रीमण्डलमा फेरबदल भएको हो ।
प्रधानमन्त्री जोनसनले प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयबीच आफ्नो नजिक सम्पर्क अधिकारी (लाइजन) राख्न चाहेको तर जाभेदले भने आफ्ना सल्लाहकार निकाल्न मान्न अस्वीकार गरेको थियो । प्रधानमन्त्रीले चाहेजस्तै अधिकारी नियुक्ति गर्नुको सट्टा जाभेदले राजीनामा दिएका थिए । उनको राजीनामालगत्तै जोनसनले तत्कालीन अर्थमन्त्रालयका मुख्य सचिव रिसी सुनकलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका थिए ।
बर्घिहाम विश्वविद्यालयका प्राध्यापक एन्थोनी ग्लीजले नयाँ मन्त्रीमण्डल र जाभेदको बहिर्गमनले प्रधानमन्त्री जोनसन ठूलो राजनीतिक शक्ति हासिल गरेको पुष्टि भएको प्रतिक्रिया दिए ।
नयाँ टोलीसँगै जोनसनले ब्रेक्सिटबाट बढीभन्दा बढी लाभ उठाउने र नयाँ रेड वाल अनुदारवादी मतदातालाई फाइदा दिन खोजेको ग्लीजले भने । उनले हालसाल अनुदार पार्टी पक्षधर बनेका लेबर पार्टीका पुराना मतदातालाई नयाँ रेड वाल अनुदारवादी भनिएको हो । शताब्दियौंदेखि लेबर पार्टीको पक्षधर मत गत डिसेम्बर महिनामा भएको निर्वाचनमा अनुदारवादी दलको पक्षमा मत दिएका थिए ।
शुक्रबार बसेको पहिलो मन्त्रीमण्डल बैठकमा नवनियुक्त अर्थमन्त्री सुनक प्रधानमन्त्री जोनसनको आडमै बसेका थिए । डिसेम्बरमा सम्पन्न निर्वाचनमा अत्याधिक बहुमत हासिल गरे पनि उनको राजनीतिक शक्ति अझ बलियो भएको छ ।
अर्थमन्त्रीमा सुनकको आरोहण सरकारका चार प्रमुख पदमा गरिएको पहिलो हेरफेर हो । सुनकबाहेक तीन पदमा प्रधानमन्त्री जोनसन, विदेश मन्त्री डोमिनिक रब र गृहमन्त्री प्रिटी पटेल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *