भर्खरै :

सांस्कृतिक स्तरको समस्या

शिवरात्रीको लागि धुमधामसँग सजाइएको पशुपति क्षेत्रमा मानिसले सजावटका फूल लुछाचुँडी गरेको र वरपर फोहोर बनाएको समाचारले अझै नउकासिएको नेपाली जनताको सांस्कृतिक स्तरलाई सङ्केत गरेको छ । यस्ता सांस्कृतिक समस्या दैनिक व्यवहारमा हामी धेरै ठाउँमा सामना गरिरहेका हुन्छौँ । आफ्नो पालो नकुर्ने, मनपरी जथाभावी थुक्ने, सार्वजनिक ठाउँमा धूमपान गर्ने, जथाभावी हल्ला गर्ने, सार्वजनिक सम्पत्ति भाँचकुँच गर्ने आदि समस्या सांस्कृतिक समस्या हुन् । कति मानिस वरपरका मानिसको वास्ता नगरी हाछ्ँयु गर्छन् । राजधानीको व्यस्त सडकको छेउमा मानिसहरू सार्वजनिकरूपमा पिसाब गरिरहेको देखिन्छ । सार्वजनिक यातायातका साधन चढ्दा मानिसलाई केही बेर धैर्य गर्ने र लामबद्ध भई चढ्ने संस्कार अझै देखिंदैन । सबै बलजफ्ती गाडी चढ्छन्, गाडीभित्र कोचाकोच गर्छन् ।

उच्च शिक्षा हासिल गरेका उच्चपदस्थ, आर्थिकरूपमा सम्पन्न मानिसमा समेत यस्ता समस्या देखिनु सांस्कृतिक समस्या हो । आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने र समाजका अरू मानिसबारे वास्ता नगर्ने प्रवृत्ति नै यस्ता समस्याका जड हुन् । आफ्नो हित वा फाइदा भएजस्तै गलत काम हुँदा वा गर्न पनि पछि नहट्ने अनि आफ्नो व्यक्तिगत फाइदा थोरैमात्र आँच पर्नेबित्तिकै त्यसको विरोध गर्ने मानिसको मुख्य समस्या सामाजिक भावनाको अभाव हो । सामाजिक भावनाको कमी हुनु सांस्कृतिक समस्याकै अंश हो ।

सवारी साधन पार्किङ गर्दा अर्को सवारी साधन निकाल्न नमिल्ने हो कि भन्ने विचार नगरी मनपरी तेस्र्याउने गरिन्छ । ट्राफिक नियमको उल्लङ्घन गरेर बहादुरी मान्ने सवारी चालकको कुनै कमी छैन । यस्ता अनुशासन नभएको समाजमा हुर्केको कोही पनि बालबालिका स्वभावतः अनुशासनहीन हुन्छन् । विद्यालय तहमा यस्ता अनुशासनबारे केही पढेका विद्यार्थीसमेत समाजको चालामालादेखि समाजले देखाएको अनुशासनहीनताको मार्गमा डोरिने गर्छन् ।
उच्च शिक्षा हासिल गरेका उच्चपदस्थ, आर्थिकरूपमा सम्पन्न मानिसमा समेत यस्ता समस्या देखिनु सांस्कृतिक समस्या हो । आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने र समाजका अरू मानिसबारे वास्ता नगर्ने प्रवृत्ति नै यस्ता समस्याका जड हुन् । आफ्नो हित वा फाइदा भएजस्तै गलत काम हुँदा वा गर्न पनि पछि नहट्ने अनि आफ्नो व्यक्तिगत फाइदा थोरैमात्र आँच पर्नेबित्तिकै त्यसको विरोध गर्ने मानिसको मुख्य समस्या सामाजिक भावनाको अभाव हो । सामाजिक भावनाको कमी हुनु सांस्कृतिक समस्याकै अंश हो ।
सुसंस्कृत व्यवहार समाजमा निर्भर हुने गर्छ । समाज अनुशासित र व्यवहार कुशल छ भने समाजका हरेक सदस्य त्यही बाटोमा अघि बढ्छन् । यो अनुशासन र संस्कृतिको बाटो कोर्न र पक्की बनाउन पक्कै सजिलो छैन । तर, सभ्य समाज बनाउन यो बाटोमा हिँड्नुको कुनै विकल्प छैन । कानुनले मानिसलाई अनुशासित बन्न अभिप्रेरित गर्छ । हो, कानुनले मात्र समाजलाई अनुशासित बनाउने गर्दैन । त्यसको लागि समाजका सबै मानिसमा आफ्नो स्वार्थभन्दा माथि उठ्ने साहस हुन आवश्यक हुन्छ । आफ्नो चाहना र रूचि पूरा नभए पनि समाजलाई हित हुने अवस्थामा त्यसमा खुसी हुने प्रवृत्तिले नै समाजलाई खुसी बनाउने छ ।
अनुशासन र असल व्यवहारको उदाहरण दुर्गम हुँदा नयाँ पुस्ता अझ बढी अनुशासनको परिधिबाट विमुख भएका छन् । उनीहरू अनुशासनको पालनालाई इज्जतको विषय मानिरहेका छैनन् । अनुशासित मानिसले बढी दुःख पाउँछ बरू अनुशासन मिचे पदवी पाइन्छ भन्ने बुझाइले समाज अझ बढी अराजकता र अनुशासनहीनतातिर डोरिएको छ । समाजको सांस्कृतिक स्तर उकास्न नसक्दासम्म आर्थिकरूपमा सम्पन्न र भौतिकरूपमा सुविधासम्पन्न भएर पनि त्यसले समाजलाई सुन्दर बनाउने गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *