भर्खरै :

नेपाल मलेसियासँग २२ रनले पराजित

काठमाडौँ, १७ फागुन । एसीसी इस्टर्न रिजन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरूवात गरेको छ । थाइल्यान्डमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल तुलानात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मलेसियासँग २२ रनले पराजित भएको छ । नेपालले १४ रनको अन्तरमा अन्तिम ६ विकेट गुमाएको थियो ।
पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन जोडेको थियो । मलेसियाका सेयद अजिज सेयद मुबारकले सर्वाधिक ५१ रन बनाए । अहमद फैज मोहम्मद नुरले ३०, मोहम्मन अनवर अरूदिनले ३१ र अमिनुदिन राम्लीले २९ रन बनाए ।
नेपालका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । अविनाश बोहोराले २ र करन केसीले एक विकेट हात पारे ।
नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र जोड्यो । नेपालका ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले समान ३८ रन बनाए । पवन सर्राफले १९ रन जोडे । कुशल मल्लले ०, पारस खड्का ९ र विनोद भण्डारी सात रनमा आउट भए ।
८९ रन जोड्दा दुई विकेटमात्र गुमाएको नेपालले तेस्रो विकेटका रूपमा ज्ञानेन्द्रलाई गुमाएपछि लगातार दबाबमा आएको थियो । ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे पनि टोलीको हार टार्न सकेनन् ।
मलेसियाका सर्विन मुनान्दी एक्लैले चार विकेट लिए । अन्य तीन जना बलरले दुई दुई विकेट हात पारे । मुनान्दीले ३.५ ओभरमा केवल १३ रनमात्र खर्चिए । उनले २० औँ ओभरमा ३ विकेट लिए । पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन लिग आधारमा सञ्चालन हुनेछ । शीर्ष दुई टोली एसीसी इमर्जिङ टिम्स एसिया कपको छनोटमा पुग्नेछन् ।
प्रतियोगिताअन्तर्गत नेपालले आइतबार हङकङसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *