भर्खरै :

सक्वको म राजदास– २३

ई. राजदास श्रेष्ठ
अन्ना पेट्रोभ्ना मेरो कुरा सुनेर धेरै भावुक बनिन् । हाम्रो देशको धर्म, संस्कृति, सामाजिक रीतिरिवाज र जातभातको कुरा सबै तिनीले पचाउन सकिनन् । धर्मको कुराले त तिनीलाई त्यतिको पिरोलेन जति हाम्रा सामाजिक रीतिरिवाज र जातभातको कुराले तिनको मनमस्तिष्कमा एउटा तरङ्ग पैदा गरिदियो । मैले भनेँ, ‘हाम्रो देश आकारमा सानो भए पनि त्यहाँ धेरै भाषा बोल्छन् र धेरै जातजातिका मानिस बस्छन् । सायद भौगोलिक परिस्थितिले पनि यसो भएको हुनसक्छ ।
“नेपालमा कुन धर्म मानिन्छ ?” तिनले सोधिन् । “बहुसङ्ख्यक जनता हिन्दू धर्म मान्छन्, यद्यपि बुद्ध धर्म मान्नेको सङ्ख्या पनि कम छैन । अनि मुस्लिम धर्मावलम्बीको सङ्ख्या पनि प्रशस्त छ । क्रिश्चियन धर्म विस्तारै छिर्र्र्दै छ ।” मैले भनेँ ।
“म काठमाडौँ उपत्यकाको मूलवासी नेवार समुदायमा पर्छु ।”, मैले भनेँ । हिन्दू धर्म मेरो पारिवारिक धर्म हो तर मेरो गाउँका नेवार समुदायमा बौद्ध धर्म पनि उत्तिकै मानिन्छ ।
“तिमी कतिको धर्म मान्छौ राज ?” मैले भनेँ, “बालककालमा म धर्ममा धेरै विश्वास गर्थे अन्ना । १४–१५ वर्षसम्म म आफ्नो सहर नजिकको गाउँमा हुर्केको थिएँ । मेरो परिवार र मेरा टोलवासीहरू सबै धर्मका कट्टर छन् । हाम्रो गाउँ साँखुमा हिन्दू र बौद्ध धर्म मान्छन् । मेरो गाउँमा क्रिश्चियन र मुस्लिम धर्मावलम्बी छैनन् । म हुर्केदेखि देव–देवताका मन्दिर जान्थेँ । पूजापाठमा धेरै रुचि राख्थेँ । हाम्रो गाउँका मन्दिरहरूमा प्रायः हिन्दू र बौद्ध धर्मका देव–देवताका मूर्ति छन् । नेपालमा हिन्दू धर्म र बौद्ध धर्ममा खास कुनै भेदभाव र वैरभाव छैन । तर, प्राचीन हिन्दुस्तानमा हिन्दू धर्मावलम्बीले बौद्ध धर्म र भिक्षुमाथि ठूल–ठूला आक्रमण गरेका थिए । हिन्दुस्तान प्रायद्वीपमा बौद्ध धर्मको वर्चस्व थियो । हालको पटनाको मगध पाटलीपुत्रमा नालन्दा विश्वविद्यालयजस्तो विश्वविख्यात बौद्ध धर्मसम्बन्धी विद्याको अध्ययन हुन्थ्यो । यो अति उत्कृष्ट विद्यालय थियो । तर, कट्टर हिन्दुधर्मावलम्बीले अतिक्रमण गरेर बौद्ध बिहार र बौद्ध विश्वविद्यालय ध्वस्त पारिदिए । अनि लाखौँ लाख बौद्ध भिक्षु र बुद्ध धर्मका अनुयायीको निर्मम हत्या गरे ।
हिन्दूको आक्रमणले गर्दा बुद्ध धर्मावलम्बी र बुद्ध धर्मका अनुयायी हिन्दुस्तान छोडेर भाग्न थाले । धेरै बौद्ध मार्गीहरू उत्तरमा नेपाल र दक्षिणमा श्रीलङ्का प्रवेश गरे । यसैकारणले गर्दा आज भारतमा भन्दा नेपाल, श्रीलङ्का, थाइल्यान्ड, चीन, मङ्गोलिया, बर्मा, कम्बोडिया, लावस, कोरिया, जापान, भियतनाम आदि ठाउँमा बुद्ध धर्म फस्टाएको देख्न पाइन्छ । नेपालमा पनि परापूर्वकालमा बुद्ध धर्म नै मानिन्थ्यो । त्यसबेला नेपालमा जातभातको कुरा थिएन । तर, ४–५ सय वर्षअघि नेपालमा भारतबाट हिन्दू धर्म प्रवेश गरेपछि जातभातको कुराले पनि प्रवेश पायो ।
नेपालमा हिन्दू धर्मको नै वर्चस्व छ । यही हिन्दू धर्मअनुसार हाम्रो देशमा समाज जातिवादी भएको हो । पछि भारतमा मुस्लिमहरूले ठूल–ठूला आक्रमण गरी सयौँ वर्ष राज्य चलाए र ठूल–ठूला वादशाह बने । नेपालमा मुस्लिमले आक्रमण गरे तर त्यहाँ राज्य गरेनन् । त्यसकारण नेपालमा मुस्लिम धर्मको वर्चस्व कम नै छ । यद्यपि २–३ सय वर्ष अघिदेखि नेपालका शासकले मुस्लिमलाई आमन्त्रण गरी व्यापार–व्यवसाय गर्नका लागि बसोबास गराएका थिए । आजकल मुस्लिमको जनसङ्ख्या पनि क्रमशः बढ्दै छ । नेपालको राजधानी काठमाडौँ सहरमा बाहेक पश्चिम नेपालको नेपालगञ्ज भन्ने ठाउँमा उनीहरूको मुख्य बाहुल्यता छ । तराईको विभिन्न जिल्ला र गाउँमा मुसलमानहरू छरिएर रहेका छन् ।
धर्मको नाममा हिन्दू र मुस्लिम समुदायबीच भारतमा धेरै ठूल–ठूला युद्ध भए । मुख्यतः भारत र पाकिस्तानबीचमा र भारत स्वतन्त्र हुने बेलामा पनि भारतभित्र निकै ठूल–ठूला हिंसात्मक घटनाहरू घटे । तर, नेपालमा त्यस्तो धार्मिक र जातीय हिंसात्मक घटना कहिले पनि घटेनन् र आजसम्म नेपाल एक शान्ति क्षेत्रकै रूपमा रहेको छ । तर, सामन्ती व्यवस्था र कट्टर हिन्दू धर्मको नाममा हाम्रो देशमा गरीब जनता धेरै शोषित र पीडित छन् ।
अन्नाले भनिन्, “जार शासनमा हाम्रो देशमा पनि धेरै रुसी जनता शोषित पीडित नै थिए ।” रुसका जारहरू(सामन्ती राजा–महाराजाहरू) पनि अति नै विलासी घरानाहरू थिए । रुसी किसानको रगत पसिनामा उनीहरू मोजमस्ती गर्थे । सबै नियम, कानुन र सैनिक बल उनीहरूको हात थियो । रुसी जारहरू गरिब जनताका बाटोमा दायाँ–बायाँ हजारौँको सङ्ख्यामा उठिरहन्थे । शासकहरू नजिक आइपुग्दा राजा–महाराजालाई मानिसहरू घुँडाले टेकेर टाउकोले भुइँमा छोएर स्वागत गर्थे । कसैले टाउको उठाउनेसम्म साहस गर्दैनथे । “बाटुस्का माया बाटुस्का” भन्दै प्रार्थना गर्थे । “बाटुस्का” भनेको “मेरो बुबा” भनेजस्तै हो, उनी भन्दै गइन् ।
अन्ना, म नेपालमा हुँदादेखि नै “मैले यस्ता कुरा सुनेको थिएँ ।”
“हामीकहाँ पनि राजालाई भगवान विष्णु नै मान्दथे र अहिले पनि मान्दछन् ।”
“राजालाई विष्णु देवता” मान्दछन् र पूजा अर्चना गर्दछन् । सन् १९५२ मा नेपालमा ठूलो जनआन्दोलन हुनुभन्दा पहिले तपाईँकहाँ जार शासनजस्तै हामीकहाँ १०४ वर्षे राणा शासन थियो । राणा शासकहरू अति क्रूर र दमनकारी थिए । यी जहाँनिया शासकहरू । जनताको धन सम्पति लुटेर, उनीहरूको जग्गा जमिन खोसेर ठूल–ठूला महल बनाउँथे । ती महलमा जनताका राम्रा–राम्रा तरुनी केटी, छोरीबेटी दासीको रूपमा राख्दथे र उनीहरूको विरोधमा कोही कसैले बोल्न पाउँदैनथे ।
१०४ वर्षपछि सन् १९५२ मा नेपालमा एक जनआन्दोलन भयो । जनताको बलिदानका कारण आन्दोलन सफल भयो । १०४ वर्ष पुरानो जहाँनिया राणा शासन खतम भयो । जसरी तपाईँकहाँ जार शासकको पतन भयो ।
सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । बेलायती उपनिवेशबाट भारत पनि सन् १९४७ मा स्वतन्त्र भएको थियो । मलाई लाग्छ, तपाईँकहाँ भएको अक्टोबर क्रान्तिकै प्रभावमा भारत स्वतन्त्र भएको थियो बेलायती उपनिवेशनबाट । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै उपनिवेश देशहरू स्वतन्त्र भएका थिए– विश्वमा फ्रान्स, पोर्चुगल, बेलायतजस्ता देश साम्राज्यवादी देशको कब्जाबाट ।
महान् अक्टोबर क्रान्तिले विश्वमा एक स्वतन्त्र सङ्ग्रामको लहर फैलाइदिएको थियो । सयौँ देशका करोडौँ जनताको स्वतन्त्रताको सास फेर्न जनताले आफ्नो ज्यान गुमाउनुप¥यो । आफ्ना देश र जनताको लागि सयौँ वीर योद्धाहरू सहिद भए ।
सन् १९४७ को भारत स्वतन्त्र भएपश्चात् नेपालमा पनि राजनैतिक चेतना जागृत भयो । भारतको विभिन्न ठाउँ र सहरमा केही राजनैतिक पार्टीको बिजारोपन भएको थियो ।
“नेपालमा कम्युनिस्ट पार्टी छ, राज ?”, अन्नाको प्रश्न थियो । छन् अन्ना, कम्युनिस्ट पार्टीहरू नेपालमा एउटा होइन दुई तीन वटा नै छन् । सन् १९५२ मा नेपाल राणाशासनको पतन हुनु अगाडि नेपाल प्रजापरिषद्, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी भन्नेजस्ता दुई चार वटा पार्टी थिए– कुनै नेपालमा र कुनै भारतका विभिन्न भित्रभित्रै सहरमा । ती राजनैतिक पार्टीहरूकै सक्रियतामा सन् १९५२ मा नेपालमा जनक्रान्ति भएको थियो । त्यस जनक्रान्तिको सम्पन्नतापछि नेपालमा क्रुर राणाशासन ढलेको हो । नेपालमा कम्युनिस्ट पार्टी सृष्टि हुनुमा चीनका महान नेता माओ त्सेतुङ्गको कम्युनिस्ट पार्टीको प्रभाव, भारतका कम्युनिस्ट पार्टीको उदयको साथै महान अक्टोबर क्रान्तिको प्रभाव र रुसी क्रान्तिको प्रभाव भएको हुनपर्छ ।
“खोइ हामीकहाँ क्रान्ति त सफल भयो” तर पनि हाम्रो जनजीवन त्यति सुध्रिएको छैन जति हामीले आशा गरेका थियौँ, यो अन्नाको चिन्तापूर्ण अभिव्यक्ति हो । हामी विश्वमा शक्तिशाली राष्ट्र भन्छौँ तर हाम्रो दैनिक जीवन कष्टकर नै छ आज पनि । हामीलाई जीवनमा सहज छैन । दैनिक उपभोग्य वस्तुहरू यथेस्ट मात्रामा उपलब्ध छैन र उपलब्ध भएका उपभोग्य सामानहरूको कुनै गुणस्तर छैन ।
अघि तपाईँले नै दिनुभएका उपहारका चीजहरू हामी कहाँ पाउनु ? भित्रभित्र बजारमा त्यो पनि धेरै मूल्यमा पाइन्छ । हामी धेरै काम गर्छौँ, पैसा पनि हामीसँग नभएको हैन । तर, खोइ जीवनस्तर उठेको ? अमेरिका र युरोपभन्दा धेरै पछि छन्–हामी विज्ञान र प्रविधिको विकासमा, गुणस्तरीय खाद्यवस्तु तथा उपभोग्य सामानको गुणस्तरमा । यसकारणले गर्दा हाम्रो समाजभित्र धेरै असन्तुष्टिका कुराहरू छन् जुन हामी व्यक्त गर्नसक्दैनौँ । हाम्रो सबै अर्थतन्त्र केन्द्रीकृत छ र केन्द्रको निर्णयबाट नै सबै कुरा चल्दछ जुन आजको समाजमा त्यति व्यावहारिक र उपयुक्त छैन । हामीलाई लागिरहेको छ कि हामी रुसी (सोभियत) जनता ठगिएका छाँै आफ्नै नेतृत्व वर्गबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *