भर्खरै :

लेनिन कथा – ४

 
मार्च १
मरिया प्रिलेजायेभा
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरू भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
अघिल्ला अङ्कमा हामीले लेनिनको उदात्त चरित्र कस्तो पारिवारिक र शैक्षिक परिवेशमा निर्माण भएको थियो भन्ने चित्रको सुरूआती झलक हेरेका थियौँ ।)
बुबा जिउँदो छँदा नै एक दिन तन याकोभ्लेभले चुभाश जातिको एकजना ठिटोलाई भोलोद्यासँग भेट गराउन लिएर आएका थिए । उसको नाम ओखोत्निकोभ थियो । ओखोत्निकोभले माध्यमिक शिक्षा पूरा गर्न पाएको थिएन ।
“यसलाई अझ पढाउनु छ,” तन याकोभ्लेभले भनेका थिए । “चुभाशहरूलाई पढेलेखेका मान्छेको एकदम खाँचो छ ।”
भोलोद्या ओखोत्निकोभलाई निःशुल्क पढाउन राजी भए । इल्या निकोलाइभिचको निधनपछि भोलोद्याले झन् मन लगाएर उसलाई पढाउन थाले । सके यसरी उनी बुबाको सम्झना ताजै राख्न चाहन्थे । चुभाशहरूको स्कूले पढाइबारे बुबाले खूब चिन्ता लिनुहुन्थ्यो र मद्दत गर्नुहुन्थ्यो भन्ने उनलाई थाहा थियो ।
“महान् हुनुहुन्थ्यो । जीवनभर अरूको भलो गर्नुभयो ¤” इल्या निकोलाइभिचलाई सम्झिँदै ओखोत्निकोभ भनिरहन्थ्यो । भोलोद्या प्रायः सोचिरहन्थे, “जनताको भलाइका निम्ति के गर्न सकिएला त ।”
अहिले त किसानका छोरा ओखोत्निकोभलाई पढाउँदै थिए । पछि चाहिँ ? जनताका असली हितैषी र रक्षक क्रान्तिकारीहरू हुन् भन्ने भोलोद्याले महसुस गर्न थाले । क्रान्तिकारी सङ्घर्ष कसरी गर्ने भन्ने उनलाई ठ्याम्मै थाहा थिएन । उनलाई विद्यार्थी पढाउने स्कूलका कठोर र निर्मम तरिका मनपर्दैनथ्यो । उनलाई ईश्वरमा विश्वास पनि थिएन । यसकारण घाँटीको माला झिकेर फ्याँकेका थिए । समाजमा हुने अन्यायको एकछत्र शासनबारे उनी घोत्लिरहन्थे । धनी मानिसहरूले काम नगरी बसेको देख्थे । दिनरात कम्मर भाँचिने गरी मिहिनेत गर्दा पनि गरिब उस्तै गरिब रहेको देख्थे । के यो न्याय हो ? उनमा जारप्रति घृणा जागेको थियो । जार निरङ्कुश थियो । उसको विरूद्ध कसरी लड्न सकिन्छ होला ?
उता पिटर्सबर्गमा साशाले के यस विषयमा सोच्छन् त ? कतै उनी राजनीतिबाट टाढा विज्ञानमै समर्पित त छैनन् ? भोलोद्यालाई यसबारे केही ज्ञान थिएन । पिटर्सबर्गमा १८८७ को मार्च १ तारिखका दिन घटेको घटना भोलोद्या, आमा र अन्यूतासमेतका लागि एकदम अप्रत्यासित र खुला आकाशमा बिजुली गर्जेजस्तो थियो । अन्यूता किनभने साशासँग उनी एकदम झ्याम्मिएकी थिइन् र पिटर्सबर्गमा उनीहरू प्रायः भेटिरहन्थे ।
स्कूलमा अन्तिम घण्टी चलिरहेको थियो । सबै कुरा सामान्य थियो तर स्कूलबाहिर एउटा मान्छे उभिएको थियो, भोलोद्यालाई पर्खिरहेको थियो । “बेरा बसिलेभ्नाले तुरून्तै आउन भन्नुभएको छ ।”
इल्या निकोलाइभिचकी पुरानो साथी बेरा बसिलेभ्ना कश्कादामोभाले कामिरहेका हातले भोलोद्यातिर एउटा पत्र बढाइन् ।
त्यो पत्र पिटर्सबर्गबाट आएको थियो । लेखिएको थियो – मार्च १ तारिखमा केही विद्यार्थीहरूले जार अलेक्सान्द्र तृतीयलाई मार्ने असफल प्रयास गरे । सबै विद्यार्थीहरू गिरफ्तार गरिए । तिनमा अलेक्सान्द्र उल्यानोभ पनि छ ।
पत्र पढेपछि धेरै बेरसम्म भोलोद्याको बोली फुटेन । साशा ¤ दाइ ¤ दुब्लो, अग्लो, ठूलआँखे, सोचमग्न, होनहार, बुद्धिमान साशा । अन्यूतासमेत गिरफ्तार भएका थिए ।
बुबाको मृत्यु भएको वर्षदिन मात्र पुगेको थियो । आमा अझै पनि शोकको लुगामै हुनुहुन्थ्यो । तर पनि उहाँ रूनुभएन, न त हतोत्साहित नै हुनुभयो । हो, मुहारमा एकाएक गाँठा परेका थिए । कालो लुगामा उहाँ कति गम्भीर र शोकाकुल देखिनुहुन्थ्यो भने भोलोद्या कहिलेकाँही झसङ्ग हुन्थे । सबैलाई घरमा के गर्नुपर्छ, कसरी बस्नुपर्छ भनी सम्झाइबुझाइ उसै दिन आमा पिटर्सबर्गतर्फ लाग्नुभयो ।
अब भोलोद्या नै घरमा सबैभन्दा ठूला थिए । सबैभन्दा सानी मन्याशा नौ वर्षमा हिँडिरहेकी थिइन् ।
“भोलोद्या कुनै खेल खेलौँ न,” मन्याशा अनुरोध गर्थिन् ।
भोलोद्या नचाहँदा नचाहँदै पनि बहिनीसँग खेल्न तयार हुन्थे तर मुहारमा खुसी फर्किन्नथ्यो । “साशा, मेरो प्यारो दाइ, अब के हुने हो ?”
मे महिना आयो स्कूलमा परीक्षा सुरू भयो । भोलोद्या र ओल्या दुवै पास भए । दुवै निन्याउरो मुख लाएर परीक्षा दिन आएका थिए । तर जाँचकी उनीहरूका उत्तरबाट चकित थिए । दाइ र बहिनी दुवैले राम्रो उत्तर दिएका थिए । एकदम राम्रो….. ।
त्यतिञ्जेल पत्रपत्रिकामा छापिइसकेको थियो ः “सार्वजनिक स्कूलका भूतपूर्व इन्सपेक्टरका छोरा अलेक्सान्द्र उल्यानोभलाई….. ।”
भोलोद्या परीक्षा दिन गइरहेका थिए । सिम्बिस्र्कका सडक चराचुरूङ्गीको वसन्तकालीन चिर्बिरले गुञ्जिरहेका थिए । सबथोक उस्तै थियो । जीवन, रफ्तार र कोलाहलले भरिएको थियो ।
त्यसैबेला उनले सडकछेउ खाँबोनिर मानिसहरूको भीड देखे । खम्बामा कुनै कागज टाँसिएको थियो । मानिसहरू धकेला–धकेल गर्दै त्यो पढिरहेका थिए । तिनमा बुबाका एकजना साथी पनि थियो । भोलोद्यालाई देख्नेबित्तिकै ऊ छिटछिटो पाइला चाल्दै त्यहाँबाट गयो । अन्य मानिस पनि तितरबितर भए । खाँबोनिर गएर भोलोद्याले पनि कागजमा लेखिएको सूचना पढे । उनका आँखाअघि अचानक अँध्यारो छायो । जारको हत्या प्रयासको कसुरमा पाँचजना विद्यार्थीलाई फाँसी दिइएको थियो । फाँसीको सूचना सहरभरि टाँसिएको थियो ।
स्कूलको हलमा पुग्दा भोलोद्यालाई महसुुस भयो, त्यहाँ एकदम शान्ति छाएको थियो । उनले ज्यामिति र त्रिकोणमितिको प्रश्न सबैभन्दा पहिले हल गरे । कापी शिक्षिकालाई बुझाई बाहिर निस्किए । भेनेत्सतर्फ लागे । वसन्तकालीन पानीले भरिएको भोल्गा, क्यास्पियन सागरतर्फ बगिरहेको थियो । एउटा सानो जहाजले ठूलो जहाज तान्दै लगिरहेको थियो । चारैतिर नीरवता थियो, सुनसान थियो ।
तिनले के गरे नि साशालाई ¤ हप्तादिनपछि आमा पनि पिटर्सबर्गबाट फर्की आउनुभयो । भोलोद्यालाई उहाँको कपाल पूरै फुलेजस्तो, उहाँ अझ बुढी देखिएजस्तो लाग्यो ।
सिम्बिस्र्कलाई बिदा
सिम्बिस्र्कमा अब सबै चिनेजानेकाहरू उल्यानोभ परिवारसँग तर्किन थालेका थिए । मरिया अलेक्सान्द्रोभ्ना सडकमा हिँड्दा उहाँसँग भेट्न नचाहनेहरू सडकको पल्लो किनारतिर जान्थे । तिनीहरू फाँसी दिइएको छोराकी आमासँग बोल्न नपरोस् भन्ने ठान्थे । आमा भने सगर्व शिर ठाडो पारेर लम्किनुहुन्थ्यो । उहाँ न कहिल्यै रूनुहुन्थ्यो, न त साशाको कुरा गर्नुहुन्थ्यो । “आमा खूब दृढ र गर्विली हुनुहुन्छ,” भोलोद्या श्रद्धाका साथ आमाको बारेमा सोच्थे ।
भोलोद्याले स्कूलको पढाइ सकाए । मृत्युदण्ड दिइएको केटाको भाइलाई स्वर्णपदक दिन उचित होला कि नहोला भनी शिक्षकहरूबीच बहस भएको थियो । अन्तिम परीक्षामा भोलोद्याले राम्रो अङ्क ल्याएकोले उनलाई स्वर्णपदक दिनु नै प¥यो ।
“भोलोद्या अब विश्वविद्यालयमा भर्ना हुनुपर्छ,” आमाले तन याकोभ्लेभको सामुन्ने आफ्नो मनको कुरा बताउनुभयो । पिटर्सबर्ग विश्वविद्यालयले उसलाई भर्ना लिन मान्ला र ?
“लिँदैनन् । कोसिस गर्नु पनि बेकार हुन्छ ।” तन याकोभ्लेभले जवाफ फर्काए ।
बुबाको मृत्युपछि परिवारले अनेक हन्डरको सामना गर्नुपरेको थियो । केटाकेटीले पढिरहेका थिए । कमाउने कोही थिएनन् । बुबाको पेन्सन त आउँथ्यो । त्यसले बल्लतल्ल परिवारको खानपानमात्र धानिन्थ्यो । अन्ततः सिम्बिस्र्क छोड्ने निर्णय भयो । “हामी कुनाकाप्चाले समेत बिगतका रमाइला दिन सम्झाउने यो प्यारो घर, यो बगैँचा, प्राणभन्दा प्यारा एकएक रूख, पराई बनेका सबै इष्टमित्र छोडेर अन्त जाँदै छौँ ।”
होइन, सबै पराइ बनेका थिएनन् । बुबाका घनिष्ट मित्र तन याकोभ्लेभ पराइ बनेका थिएनन् । भोलोद्याका विद्यार्थी ओखोत्निकोभ पराइ बनेका थिएनन् । बेरा बसिलेभ्ना पनि पराई बनेकी थिइनन् । बरू दुःखको क्षणमा उनी आमासँग अझै नजिकिएकी थिइन् । सिम्बिस्र्क पत्रिकामा एउटा विज्ञापन छापियो ः “बगैँचासितको घर, पियानो र फर्निचरहरू बिक्रीमा छन् ।
घर किन्नेहरूको ताँती लाग्यो । ग्राहक आउँथे, कोठाहरू हेर्थे, सामानहरू ओल्टाई–पल्टाई जाँच्थे । शिरदेखि पाउसम्म आमामाथि कर्केनजरले हेर्थे र कानेखुसी गर्थे । मुहारमा कठोर भाव ल्याएर आमा पहेँलिनुभयो । फुुुलेको कपालमाथि कालो धर्से पछ्यौरी ओढी दैलोमा उभिइरहनुहुन्थ्यो । भोलोद्यालाई दौडेर आमाछेउ गई तिनका फोहोरी नजरबाट उहाँलाई बचाउँ, उहाँको रक्षा गरूँ जस्तो हुन्थ्यो ।
बेलाबेला उनलाई साशाको याद आउँथ्यो । “साशा, तिमी जारलाई सा¥है घृणा गथ्र्यौ । तिमीले उसलाई मार्न चाह्यौ । त्यति गरे सबथोक फेरिनेछ, मान्छेको जिन्दगी सुध्रिन्थ्यो भन्ने सोच्थ्यौ । तर, ६ वर्षपहिले, १८८१ को मार्च १ मा यसै गरी जार अलेक्सान्द्र द्वितीय पनि मारिएको थियो । त्यसले मान्छेको जीवन सुध्रियो त, अहँ कति पनि सुध्रिएन । अलेक्सान्द्र द्वितीयको ठाउँमा अलेक्सान्द्र तृतीय आयो । जनताको हालत ज्यूँका त्यूँ रह्यो । त्यसकारण सङ्घर्षको तरिका बदल्नुपर्छ ।”
उनी यस्तै–यस्तै सोचिरहन्थे । बीचबीचमा नयाँ ग्राहकहरू आइरहन्थे । तिनले पनि सामानहरू हेर्थे, उल्टाउँथे–पल्टाउँथे र मन परेमा गाडीमा हालेर लैजान्थे । पियानोमात्र कसैले कनेन । भोलोद्याले त्यसको चिसो माथिल्लो भाग मुसारे । हाम्रो पूरै बालापन र सुखका दिन यसैसँग जोडिएको थियो । परिवारले पियानो आफूसँगै कजान लिएर गयो ।
कजानको सभा
कजान विश्वविद्यालयमा भर्ना भएपछि भोलोद्या उल्यानोभलाई यहाँको वातावरण सिम्बिस्र्कको स्कूलको भन्दा कम सङ्कीर्ण र स्वच्छन्द होला भन्ने आस थियो । कहाँ हुनु त्यस्तो ¤ विद्यार्थीको प्रत्येक क्रियाकलापमा, सबथोकमा नजर राखिन्थ्यो । कसैले जार सरकार, विश्वविद्यालयका अधिकारी र इन्स्पेक्टर पोतापोभविरूद्ध केही गरेको छ कि चियो गरिन्थ्यो ? इन्स्पेक्टर पोतापोभ असाध्यै कुरूप, मोटो न मोटो, भावहीन आँखा भएको मानिस थियो । उसमा दया र सहानुभूति भनिने केही पनि थिएन । उसका गुप्तचरले विद्यार्थीका प्रत्येक क्रियाकलापको रिपोर्ट उसलाई दिइरहन्थे । उसले दोषीहरूको सूची बनाउँथ्यो र तिनलाई विश्वविद्यालयबाट निष्कासित गथ्र्याे खासगरी गरिब विद्यार्थीलाई । यसै पनि गरिबको लागि विश्वविद्यालयमा पढ्न दिनानुदिन गा¥हो हुँदै थियो । शिक्षण शुल्क महँगो बनाइँदै थियो ।
कजान विश्वविद्यालयको वातावरण जेलको जस्तो खराब र बोझिलो थियो । हुन त तिनताका सारा रूस नै जेलझैँ बनेको थियो ।
४ डिसेम्बर, १८८७ को कुरा हो । पत्रिकाहरूमा मस्कोको विद्यार्थी आन्दोलनबारे समाचार छापिएको थियो । फलस्वरूप कजानका विद्यार्थीबीच पनि गुप्तरूपमा अपिल प्रचार–प्रसार हुन थाल्यो । “आफ्नो अधिकारको लागि उठौँ ¤ सङ्घर्ष गरौँ ¤”
दिउँसो १२ बजे यस्तो आह्वान सुनियो ः
“विद्यार्थीहरू ¤ हलमा सभा हुनेछ ¤”
सबैतिरबाट विद्यार्थीहरू दोस्रो तलाको हलमा जम्मा हुनथाले । सबैभन्दा पहिला पुग्नेहरूमा भोलोद्या पनि थिए ।

कजानमा लेनिन


सभाध्यक्षले विद्यार्थीको हुललाई सम्बोधन गर्दै भन्यो, “हामी सपथ खान्छौँ – एकअर्कालाई साथ दिनेछौँ, आफ्नो हकको रक्षा गर्नेछौँ, हामी स्वतन्त्रता र न्यायको माग गर्छौँ …..”
त्यसैबेला हलमा मोटो, दा¥हीवाल पोतापोभ पस्यो ।
“तुरून्त आ–आफ्नो कोठामा जाऊ ।”
“निस्केर जा ¤ मुर्दावाद ¤” हुल चिच्यायो ।
इन्स्पेक्टर डराएर भाग्यो ।
त्यसपछि रेक्टर आए । विद्यार्थी शान्त भए । रेक्टरलाई मागपत्र थमाइयो ।
“रूसमा बाँच्न गा¥हो हुँदै छ । विद्यार्थीको जीवन कष्टकर बन्दै छ,” त्यसमा लेखिएको थियो ।
“विद्यार्थीहरू शान्त होऊ,” युवायुवतीको उत्तेजित भावनालाई शान्त पार्ने अरू उपाय नभेटेपछि रेक्टरले उनीहरूलाई सम्झाउन–बुझाउन थाल्यो ।
“त्यसो भए, तपाईँ हाम्रा मागमा सहमत हुनुहुन्न ?” विद्यार्थीहरू फेरि जोस्सिए – “साथीहरू, विरोधस्वरूप हामीले विश्वविद्यालय त्याग्नेछौँ । आ–आफ्नो विद्यार्थी कार्ड फर्काउ ¤”
रेक्टरको कार्यालयमा गएर विद्यार्थीहरूले आ–आफ्ना परिचयपत्र फर्काउन थाले । कार्डको थुप्रो बढ्न थाल्यो । दस… बीस… तीस… उनान्सय…।
कार्ड फर्काउनेहरूमा भोलोद्या पनि थिए । त्यसै दिन साँझसम्म उनलाई विश्वविद्यालयबाट निकालियो र त्यसै रात उनलाई गिरफ्तार पनि गरियो । विश्वविद्यालयबाट निष्कासित भ्लादीमिर उल्यानोभ (भोलोद्या) केही दिनपछि निर्वासनको सजाय पाएर पुलिसको निगरानीमा कोकुश्किनो गाउँतिर जाँदै थिए ।
अनुवाद ः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *