भर्खरै :

क्युवामा क्रान्तिभित्रको क्रान्तिबारे केही चर्चा

समा
झट्ट आवरण हेर्दा पुस्तक क्युवाली महिलाको विषयमा लेखिएझैँ लाग्ला तर ‘Women in Cuba, The making of a revolution within the revolution’ मात्र महिलाको बारेमा लेखिएको पुस्तक होइन । न यो पुस्तक महिला मुद्दाबाट सुरु हुन्छ न महिलामा अन्त्य नै । यो पुस्तकभित्र क्युवाली क्रान्तिको अनुपम दर्पण छ । यो पुस्तक करोडौंँ कामगरि खाने क्युवाली महिला र पुरुषका कथाहरूले भरिएको छ । यो पुस्तक क्युवाली समाजवादी क्रान्ति सफलतामा पु¥याउन सङ्घर्ष गर्ने हरेकलाई सम्झने पुस्तक हो । ती सम्पूर्ण देशभक्त र समाजवाद चाहने लडाकुहरूले कसरी लडे, कस्तो परिस्थितिको सामना गर्दै लडे भन्ने शब्ददृष्य पुस्तकले समेटेको छ ।
हो, पुस्तकभित्र क्युवामा महिला आन्दोलन र त्यसको आवश्यकता, क्रान्तिमा महिलाको सहभागिता र स्थानको विषयमा चर्चा छ । वर्गमुक्ति, समाजवाद र स्वतन्त्रताका निम्ति श्रमिक महिलाहरू अग्रमोर्चामा उभिएका थुप्रै दृश्यहरूले पाठकको मन उद्वेलित जरुर बनाउँछ । क्रान्तिपछि श्रमिक महिलाले प्राप्त गरेको उन्मुक्तिका पलहरू, समाजका रुढीवादी जञ्जिर तोडेर स्वतन्त्रताको गीत गाइरहेका महिलाहरूका स्वरहरू भने पुस्तकभित्र छ । त्यो उन्मुक्ति र स्वतन्त्रता क्रान्तिको प्रतिफल थियो । त्यसकारण, पुस्तकले समग्र क्युवाली क्रान्तिको ऐतिहासिक महत्व र अपरिहार्यताबारे प्रस्ट्याउँछ । क्युवाली क्रान्तिलाई क्युवाका महिला नेतृहरू भिल्मा इस्पीन
(Vilma Espin), असेला डे लस सेन्तोस (Asela de los santos), मरिया योलान्डा फेरेइर गोमेज –
(Maria Yolanda Ferrer Gomez) को आँखाबाट हेरिएको छ । यी तीन नेतृत्वले क्युवाली क्रान्तिको सम्पूर्ण योद्धाहरूको विषयमा चर्चा गर्नुका साथै क्रान्तिअघि, क्रान्तिको समय र क्रान्ति पछाडिको क्युवालाई सूक्ष्म ढङ्गले केलाएका छन् ।
क्युवाली क्रान्ति निकै समय अगाडि सन् १९५३ जनवरी तिरै विद्रोही सेना स्तम्भ सान्तीयागो डे क्युवा (Santiyago de cuba), सान्ता क्लारा (Santa Clara) र हवाना प्रदेश गर्दै सुरु भएको थियो । बाटिस्टा तानाशाह ढाल्नको निम्ति, बाटिस्टाको नृशंस दमनविरुद्ध कुनैपनि मूल्य चुकाउन पुरुष र महिला तयार थिए । क्युवाली जनता सन् १९५२ मार्च १० को बाटिस्टा शासनको अन्त्यको निम्ति विशाल जनमोर्चासहित सडकमा उत्रेका थिए । राजनीतिक प्रणाली र दशकौँदेखिको व्यापक भ्रष्टाचार अस्वीकार गर्दै क्युवाली जनता उर्लिए । क्युवाको उत्तरतिर यान्की साम्राज्यवादीहरूको कब्जा र राजविरुद्ध जनता जागेका थिए । क्युवाली क्रान्तिको सुरुआत क्युवाको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र सामाजिक सुधारको लामो सङ्घर्षशील इतिहासको निरन्तरता बन्यो । क्रान्तिको अध्याय सन् १९५३ जुलाई २६ को सान्तियागो डे क्युवाको मोन्काडा सेना ब्यारेकमाथि आक्रमण गर्दै बायामोमा कार्लोस् मनुअल डे केसपेडेस Carlos (Carlos Manuel de Cespedes) ब्यारेक आक्रमणसँगै अगाडि बढ्यो । फिडेल क्यास्ट्रो र अबेल सान्तामारियाको नेतृत्वमा भएका ती आक्रमणहरू क्रान्तिकारी सङ्घर्षको शङ्खघोष पनि हो भन्दा अत्युक्ति नहोला । ती प्रयासहरू सफलतामा टुङ्गिएनन् । मोन्काडामा बहादुरीपूर्वक लडेका क्युवाली लडाकुहरूको मनोबल कमजोर बन्न नदिन र सारा क्युवालीलाई सङ्घर्षको मैदानमा डाक्न फिडेलले उत्साह र ऊर्जा सञ्चार गर्नुभएको थियो । इतिहासका अदालतमा अन्यायविरुद्धका सङ्घर्षले कहिल्यै हार्न परेको छैन् । वर्गसङ्घर्ष अवश्यम्भावी हो र साम्राज्यवादसँग डराए इतिहासले दोषी साबित गर्ने निश्चित थियो ।
‘History will Absolve me’ अर्थात् इतिहासले मलाई सही साबित गर्नेछ भन्ने फिडेलको विचार आज पनि क्युवाली क्रान्तिकारीहरू दोहो¥याउँछन् । फिडेलको त्यही भाषण क्युवाली क्रान्तिको मार्गदर्शक बन्यो । जुलाई २६ आन्दोलनको आधारशिला बन्यो । स्पष्ट दृष्टिकोणसहितको सो भाषणको प्रभाव अद्भूत थियो । त्यसले नयाँ भाषा बोलेको थियो । त्यसका स्पष्ट कार्यक्रमको खाका, सङ्घर्षको आह्वान र परिस्कृत कार्यनीति युवापुस्ता र नव क्रान्तिकारीहरूको निम्ति प्रेरणाको स्रोत बन्यो । त्यसमा भनिएको थियो “हामीले जनताको समर्र्थन र साथ जरुर पाउने छौँ । हामीले जनताको सम्बोधन गर्दा त्यो धनी वर्गका निम्ति होइन जसले हरेक किसिमका दमनकारी शासनको निम्तो दिन्छ । हामीले जनताको सम्बोधन गर्दा त्यो मात्र बहुसङ्ख्यक कामगरि खाने र गरिब जनताको सम्बोधन हुनेछ । ती अहिलेसम्मका शासकहरूबाट सधैँ–सधैँ अपहेलित र शोषित छन् ।”
क्युवाली क्रान्ति सुरु हुँदा क्युवा गरिबहरूको नर्क थियो । ६ लाख क्युवालीहरूसँग काम थिएन जो हातमुख जोड्न इमानदारीपूर्वक काम गर्न चाहन्थे र सक्थे । ५ लाख किसानहरू दयनीय अवस्थामा गुजारा गर्थे । महिनौँ वर्षाैँ काम गर्दा पनि पेट सधैँ खाली हुन्थ्यो । तिनीहरूसँग एक इन्च जमिन पनि थिएन । ४ लाख औद्योगिक मजदुर र साधारण श्रमिकहरूको नियति ज्याला कटौती र जागिर कटौतीबाहेक केही थिएन । १ लाख साना कृषकहरू माटोमै बाँच्थे, माटोमै मर्थे तर त्यो भूमि तिनीहरूको थिएन । २० हजार साना थोक बिक्रेता र व्यापारीहरू ऋणको भारीले थिचिएका र मन्दीको चपेटाले जेलिएका थिए । १० हजार युवा व्यवसायीहरू कामका निम्ति आतुर हुनुका साथै भविष्यप्रति आशावादी थिए तर समयसँगै त्यो आशाको मृत्यु भइरहेको पनि देख्दै थिए । दुर्भाग्य के हो तिनलाई राम्रो अनुभव थियो । यी सम्पूर्ण जनतासँग व्यवस्थाविरुद्ध लड्ने सिमाहीन शक्ति हुनेमा फिडेल विश्वस्त थिए । ती जनताको जीवनयात्रामा शासकहरूले सधंँैभरि भ्रम, आश्वासन र झूटको ढुङ्गा बिछ्याइदिए । तिनीसँग तानाशाही सरकारविरुद्ध चरम घृणा पनि थियो । क्रान्ति सजिलो बाटो त पक्कै थिएन तर फिडेलले जनतालाई आह्वान गर्नुभयो– “आज तिमीसँग जे जति छ त्यो सबै ऊर्जा प्रयोग गरेर लड्ने समय हो । भोलि मुक्ति र सुख तिम्रो नाममा हुनेछ ।”
फिडेलले थुप्रै क्रान्तिकारी लडाकुहरू जन्माउनुभयो । नेतृत्वपङ्क्तिमा उहाँसँगै थुप्रै क्रान्तिकारी हस्तीहरू थिए जसले क्युवाको मुक्तिगाथा रचे । आजपनि क्युवा लडाकु भावना, सङ्घर्षको भावनालाई उच्च राख्दै संसारमा न्याय र अन्तर्राष्ट्रिय मानवताको झन्डा फहराइरहेको छ । सङ्घर्षले जन्माएको समाजवादी क्युवाले सङ्घर्ष गर्न छोडेको छैन ।
क्युवाली क्रान्तिको लहर ग्रान्मा अभियान हुँदै अगाडि बढ्दै थियो जसले सन् १९५६ को अन्तमा क्रान्तिकारी युद्ध सुरु ग¥यो । सन् १९५७–५८ सम्म क्युवाको पूर्वी भेगका अन्य भागहरूमा र सियरा मायस्ट्रा पहाड (Sierra Maestra Mountains) मा विद्रोही सेनाले ग्रामीण किसानहरूका साथमा कार्यदिशा अगाडि बढाउँदै गए । दुई वर्ष लामो क्रान्तिकारी युद्धको दौरानमा सियरा (Sierra) मा विद्रोही सेनाद्वारा नेतृत्व गरिएको ‘सामाजिक क्रान्ति’ का पृष्ठहरू पनि पुस्तकले समेटेको छ ।
सन् १९५७ जुलाई ३० सान्तियागो डे क्युवामा दोस्रो पूर्वी मोर्चाका कमान्डर फ्राङ्क पाइस (rank Pais) को हत्यापछि समग्र क्रान्तिकारी आन्दोलनले अर्को मोड लियो । जनता सान्तियागोको सडकमा स्वतस्पूmर्त आउन थालेका थिए तर नेतृत्व थिएन । फ्राङ्क धेरै चोटी बाटिस्टाको हातबाट उम्किँदै मोर्चा सम्हालिरहेका थिए । जम्मा २२ वर्षका उनी विशेष गुण र क्षमताले युक्त थिए । रणनीतिक र कूटनीतिक विषयमा दख्खल राख्थे । उनीसँग वर्गीय चेत थियो, माक्र्सवादी दृष्टिकोणले विश्लेषण गर्थे । उनको मृत्युले क्युवाका सारा क्रान्तिकारी योद्धा र क्रान्ति समर्थकहरूको मन रोएको थियो । उनको मलामीमा अथाह जनसहभागिता थियो । उनी र उनीसँगै हत्या गरिएका थुप्रै नौजवानहरूको रगत देशको गौरव र स्वतन्त्रता फर्काउन पोखियो भन्दै योद्धाहरूले अझै लड्न शक्ति बटुले ।
विद्रोही सेनाको सान्तियागो डे क्युवादेखि दोस्रो मार्चासम्मको यात्राका उकाली–ओराली पुस्तकले मार्मिक ढङ्गले पोखेको छ । स्वास्थ्य विभाग, शिक्षा विभाग, न्यायिक विभाग गरी थुप्रै विभागहरूको अभ्यास थालियो । दोस्रो मोर्चाको ९ महिनामै तानाशाहीहरूले बन्द गरेका सम्पूर्ण विद्यालय खोल्न र केही नयाँ विद्यालय सञ्चालन गर्न काम गरे । साक्षरता अभियान चलाइयो । शैक्षिक विभागको नेतृत्व असेला डे लस सान्तोसले गरेका थिए । शिक्षाको प्रवाह गर्दै शिक्षिकाहरू सांस्कृतिक स्तर मात्र माथि उकास्दै थिएनन् बरु क्रान्तिको राजनीतिक, आर्थिक, सामाजिक आवश्यकता एवम् महत्व प्रस्ट्याउँदै थिए । लडाइँ र युद्धको समयमा पढाइ छुटेका सबै महिला – पुरुषलाई शिक्षित गर्ने अभियान चल्यो । लडाकुहरूको शैक्षिक स्तर माथि उकास्न विशेषत युवा सेना जसले क्रान्तिमा योगदान गरे, नेतृत्व गरे तिनका लागि विद्यालय खोलियो । विद्यालयको नाम राखियो– सिपालु लडाकुका लागि होसे मार्टी विद्यालय ।
भूमिसुधार अगाडि बढाइयो, जमिन जोत्नेलाई वितरण गरियो । क्युवाको सामाजिक क्रान्ति तेस्रो, चौथो मोर्चा हुँदै अगाडि बढ्यो । जसको नेतृत्व केमिलो र चे ग्वेभाराले गर्नुभयो । क्युवाली क्रान्तिको विजय सन् १९५९ जनवरीमा उद्घोष गरियो । क्युवाली क्रान्तिका हरेक मैदानमा महिलाहरू पनि अग्रमोर्चामा थिए । देशको स्वाधीनताको निम्ति महिला करबलले होइन आप्mनो इच्छा र स्वविवेकले सहभागी भएका थिए । क्रान्तिको आवश्यकताबोध र बाटिस्टा विरुद्धको आक्रोशले महिला युद्धमैदानमा थिए भन्ने थुप्रै दृष्टान्त पुस्तकभित्र छन् ।
क्रान्ति भइरहँदा करोडौँ वर्षदेखि दबिएका महिलाले पनि मुठ्ठी कस्न सिकेको बताउँछिन् महिला नेतृ असेला । क्युवाको पूर्वका पहाडहरूमा लडिरहेकी भिल्मा इस्पिनको जोश र क्रान्तिप्रतिको विश्वास पुस्तकमा प्रस्तुत छ । क्युवाली क्रान्तिपछि प्राथमिकताका साथ क्युवाका महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्रान्तिमा जोड दिइयो । सन् १९६० अगस्ट २३ मा क्युवाली महिला मन्च –
(ederation of Cuban Women cyf{t\ FMC) को स्थापना गरियो । जसको नेतृत्व भिल्मा इस्पिनले गरिन् ।
क्रान्तिको समयमा महिला स्वतन्त्रता, मुक्ति, समानता भन्ने शब्दहरूभन्दा पनि महिला सहभागितालाई जोड दिइयो । महिला मन्चको स्थापनापछि महिलाहरूलाई पनि साक्षर र शिक्षित बनाउने, कामको बन्दोबस्त गर्ने, कपडा बुन्ने, खेती गर्ने, उद्योग सञ्चालन गर्ने जस्ता विषयमा धमाधम तालिम दिन थालियो ।
महिलाको क्षमता, उत्साह, शक्तिको कदर गरियो । महिला सङ्गठनमार्पmत महिलाहरू क्युवाको शैक्षिक, आर्थिक, सामाजिक उन्नयनमा सघाउँदै थिए, कहिँकतै नेतृत्व गर्दै थिए । वर्गीय समाजमा महिलाले अझ बढी विभेद सामना गर्छन् । क्रान्तिपछि पनि सामाजिक अवशेष रहन्छन् त्यसलाई हटाउन महिला सङ्गठनले काम ग¥यो ।
जुलाई २६ भूमिगत आन्दोलन र क्युवाको पूर्वी पहाडका चट्टानहरूमा महिलाको स्थान, महिलाहरूको साहसिक लडाइँ र सङ्घर्ष अपवाद होइन समयको माग थियो । त्यो एउटा सामाजिक रुपान्तरणको अध्याय थियो, क्रान्तिले जन्माएको अवसर थियो । त्यही लडाकु भावनासहित भिल्मा, सान्तोस, योलान्डाहरूले महिला सङ्घको नेतृत्व गरे । पुस्तकले नाम लिएका तर लामो व्याख्या नगरेका थुप्रै नाम र जीवनसँग पाठकले पुस्तकमा भेट्नेछन् ।
फिडेल महिलालाई इज्जत दिने नेता हुनुहुन्थ्यो – “हामी महिलाको लड्ने शक्ति र क्षमतामा विश्वास गर्छौँ । भविष्यमा यस्ता थुप्रै उदाहरणहरू जन्मने हामीलाई थाहा छ ।” आजको अन्तर्राष्ट्रिय मिसन भनेको सैन्य आवश्यकता होइन । क्रान्तिभित्रको क्रान्ति, महिला क्रान्तिको आवश्यकता हो । यो नैतिक आवश्यकता हुनुका साथै क्रान्तिकारी आवश्यकता पनि हो भन्नुहुन्छ फिडेल ।
महिला सङ्गठनले सदैव महिला क्षमता र ऊर्जा नयाँ समाज निर्माणमा लगाउन जोड दियो । जीवनउपयोगी शिक्षा साथै उच्च शिक्षासम्मको लागि महिलालाई घच्घच्यायो । उत्पादनमूलक कार्यमा अग्रसर बनायो । घरेलु महिलाहरूको लागि रात्री कक्षाहरू सञ्चालन ग¥यो । क्रान्तिपछि देश छोडेर गएका पुँजीपतिहरूले घरमा काम गर्न राखेका भर्खरका केटीहरूलाई पनि महिला मञ्चले शिक्षाको ढोका खोल्न मद्दत ग¥यो । बालविकास र शिशुस्याहार केन्द्र निर्माण गर्ने जिम्मेवारी महिला सङ्घलाई दिइयो । काम गर्ने महिलाले आप्mनो बच्चा छोड्न ठाउँ पाउँदा महिलाको कार्य क्षमता बढ्यो, देशकै निम्ति श्रमशक्ति बढ्यो । त्यतिमात्र होइन शिशुस्याहार केन्द्रमा लाखौँ महिलाले इलम पाए । एक वर्ष नै नपुग्दै करिब ५४ वटा शिशुस्याहार केन्द्रहरू, २ वर्षमा १०० र ३ वर्षमा ३०० भन्दा बढी शिशुस्याहार केन्द्र स्थापना गरेर महिला सङ्घले आप्mनो क्षमता, ऊर्जा प्रदर्शित ग¥यो । जसलाई फिडेलले प्रशंसा गर्दै भन्नुभयो – “क्युवाको सामाजिक सुधार र रूपान्तरणले सही दिशा समातेको छ ।”
विद्यालयमा स्वयम् सेवा गर्ने, साक्षरता अभियान अघि बढाउने, कुखुरा पालनदेखि कृषि तालिम सञ्चालन, शिक्षाका लागि लडाकु आमाहरूको स्थापना, औद्योगिक उत्पादनमा महिलालाई दक्ष बनाउनेजस्ता कार्यहरूमा महिला सङ्घले अग्रता लियो । त्योसँगै महिला समानताको निम्ति आवाज उठाइयो । भिल्मा भन्छिन् – “हाम्रो लागि समानता भनेको सामाजिक न्यायको सिद्धान्तमात्र होइन बरु मानव अधिकारको आधारशिला हो ।”
यसरी क्युवाली क्रान्तिको विजयले सारा जनताको ओठमा हाँसो ल्यायो । युगौँ युगदेखि घरको चार भित्ताभित्र बाँधिएका महिलालाई देशको विभिन्न क्षेत्रको नेतृत्व गर्न सक्षम बनायो । क्युवाली योद्धाहरूले रगतसँग साटेको स्वन्त्रता, सार्वभौमिकतामाथि आजपनि संरा अमेरिकाको कुदृष्टि छ । मानवीय भावना र अन्तर्राष्ट्रवादी भावनाका साथ संसारको सेवा गरिरहेका क्युवाली भने दशकौँदेखि नाकाबन्दीमा बाँच्दै छन् । क्युवामा आजपनि थुप्रै सङ्घर्षका कथाहरू छन् । समाजवाद र मातृभूमिको निम्ति अन्तिम दमसम्म लड्ने योद्धाहरू अझ धेरैै जन्माउँदै छ, क्युवा ।
क्युवाका नयाँ र युवा छोरीहरूले सम्झने भिल्मा इस्पिन, असेला डे लस सान्तोस र योलान्डा फेरेरको सङ्क्षिप्त जीवनी पुस्तकभित्र छ । तिनका ओजस्वी व्यक्तित्व र योगदानबारे पुस्तकले चर्चा गरेको छ । ती बहादुर र क्रान्तिकारी महिला नेतृहरू संसारका महिलाहरूको निम्ति ऊर्जाको स्रोत बन्न सक्दछन् ।
पुस्तकमा फिडेल, राउल, चे ग्वेभाराका विचारहरूले पुस्तक ओजपूर्ण बनेको महसुस हुन्छ । माक्र्स र एङ्गेल्सका विचारहरू पुस्तकमा अमर रहनेछन् । क्युवा संसारको निम्ति ऊर्जा र सिक्ने पाठशाला बनेर बाँचिरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *