भर्खरै :

खेतीकिसानीमा रोक नलगाऔँ

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको कारण नेपालीहरू अहिले घर बसेका छन् । तर, देशका कतिपय स्थानमा भने यो समय बाली भित्र्याउने समय हो । नेपालको अन्नको भण्डार मानिएको तराईका जनता लकडाउन भनेर घर बस्ने कि खेतमा पाकेको फसल सँगाल्ने भन्नेमा अलमलमा परेका छन् । कति किसान यतिबेला नगदे बालीसमेत भित्र्याउने–नभित्र्याउनेमा अलमलमा परेका छन् ।

लकडाउन सुरु भएयता तरकारी र खाद्यान्नको मूल्य अचाक्ली बढेको जनताको गुनासो छ । अब खेतमा टिप्न ठिक्क परेका बाली पनि भित्र्याउन नपाए जनताको भान्छा अझ महँगो बन्ने छ ।

विश्व परिवेश र नेपालकै अवस्था हेर्दा लकडाउन अझ केही समय लम्बिने सम्भावना छ । कदाचित लकडाउनको कारण अहिले खेतको फसल सँगाल्न किसान वञ्चित भए लकडाउनपछिको जनजीवनमा नयाँ समस्या आउने सम्भावना छ । त्यसै पनि विश्व महामारीको कारण संसारको आर्थिक वृद्धिदरमा कमी आउने निश्चित छ । स्वभावतः नेपालको अर्थतन्त्र पनि खुम्चिने प्रक्षेपण गरिएको छ । यस्तो परिस्थितिमा उत्पादित वस्तुसमेत खेर जाँदा देशको अर्थतन्त्र थप कमजोर र परनिर्भर बन्नेछ ।
त्यसकारण लकडाउनको समयमा पनि कृषि उत्पादनको कामलाई निषेध गर्नु आत्मघाती हुनेछ । लकडाउन सुरु भएयता तरकारी र खाद्यान्नको मूल्य अचाक्ली बढेको जनताको गुनासो छ । अब खेतमा टिप्न ठिक्क परेका बाली पनि भित्र्याउन नपाए जनताको भान्छा अझ महँगो बन्ने छ । त्यसकारण प्रशासनले खेतमा जाने किसानहरूलाई निश्चित समय आवतजावत गर्न दिनुपर्छ । कोभिड–१९ को प्रतिकार गर्न सरकारको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले परिवारका सदस्यमात्र बसेर खेतमा काम गर्न रोक नलगाउने निर्णय गरिसकेको छ । प्रहरी प्रशासनले यो सूचनालाई ध्यानमा राखी खेतमा जाने र खेतबाट फर्किने किसानलाई कारबाही गर्न उचित हुन्न । खेतीपातीमा रमाउने किसानलाई खेतमा आउनजान दिइनुपर्छ । यसले देशको अर्थतन्त्रमा महत्र्वपूर्ण योगदान गर्नेछ । साथै सङ्कटको बेला विदेशबाट तरकारी आयात गरेर खानुपर्ने बाध्यता थोरै भए पनि होलो हुनेछ । तर, खेतमा जाने किसानहरूले पनि भाइरस सङ्क्रमण सम्बन्धित केही सावधानी भने अपनाउन जरुरी छ । खेतमा काम गर्दा होस् वा बाटोमा हिंड्दा आपसमा दुरी कायम गरेर बस्ने, मुखमा मास्क र हातमा पञ्जा लगाउने आदि सावधानीमा ध्यान दिनुपर्छ ।
त्यस्तै खाद्यवस्तु उत्पादन र प्रशोधन गर्ने उद्योग पनि क्रमशः खोल्ने सरकारको निर्णय उपयुक्त हो । तर, ती उद्योग कारखानामा काम गर्ने मजदुरलाई पनि सावधानीका निश्चित नियम पालना गर्न लगाउन उपयुक्त हुनेछ । लकडाउनको पालनाले आगामी दिन अझ कठिन बन्नसक्नेबारे दूरदर्शी विचार गर्नु जरुरी छ । किसानहरूलाई आफ्नो उत्पादन स्थानीय बजारमै बिक्री गर्न यतिबेला उत्साहित गरिनुपर्छ । वास्तवमा यो आत्मनिर्भरताको बाटो खोज्ने अभियान पनि हुनेछ । साथै परनिर्भरताको कहर कस्तो हुन्छ भन्ने कुरा बोध गर्ने समय पनि हो । तर, दैनिक उपभोग्य वस्तुको उत्पादनमा कमी हुन नदिन यस्ता कदम चाल्दै गर्दा महामारीको रोकथाम र नियन्त्रणका निम्ति अपनाइएको नियमको पालनालाई भने समान जोड दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *