लन्डन यात्रामा भेटिएको एक मायाको फूल
ई. राजदास श्रेष्ठ
दुई–तीन घन्टा हामी गफ गर्दै रह्यौँ । अन्नाको बुढो र छोरी मस्तसँग सुतिरहेका थिए । बुढो बीच–बीचमा घुर्थे भने अन्नाकी छोरी ओल्टीपल्टी आमाको काखमा टाउको राख्न आइन् । अन्ना छोरीको कपाल सुुम्सुुम्याउँदै मसँग कुरा गर्दै रहिन् । कुरै कुराको सिलसिलामा अन्नाले अचानक सोधिन्, “राज तपार्इँ आफ्नो श्रीमतीलाई माया गर्नुहुन्छ ?”
साधारण अवस्थामा म भन्ने गर्थेँ म आफ्नो श्रीमतीलाई धेरै माया गर्छु । तर, यसमा आधा सत्य र आधा झूट हुन्थ्यो । मेरी श्रीमती आफैँलाई थाहा थियो, उनी आउनुभन्दा पहिले मेरो अर्की एकजना रुसी केटीसँग सम्बन्ध थियो । योभन्दा पहिले नेपालमा मेरो एकजना अति मिल्ने साथी थिइन् जसलाई म धेरै माया गर्थेँ र अहिलेसम्म उनी मेरो मन मस्तिष्कभित्र छिन् र उनी नै मेरो जीवनमा पहिलो प्रेम थियो । यो कुरा भनुँ कि न भनुँजस्तो लाग्यो मलाई । अलि अलमलमा परेँ ।

नेपाली साथीभाइहरूसँग सोभियत सङ्घमा रमाइलो भेटघाट
अन्नाले बुझी हालिन् मेरो समस्या र भनिन्, “राज जीवनमा आफूलाई मनपर्ने मान्छे कमैलाई मात्र मिल्छ ।”
तपार्इँको अनुहार हेर्दा मलाई अहिले नै तपाईँसँग अँगालो मारेर बसुँजस्तो लाग्छ । तपार्इँको शारीरिक अनुहारमात्र होइन । तपाईँको हरेक शब्द मलाई धेरै मनप¥यो र तपाईँको सोच विचार अनि तपाईँको आफ्नो धर्म संस्कृतिप्रतिको इमानदारिता र अनि समाजवादी व्यवस्थाप्रति तपार्इँको धारणाले मेरो मन जित्नुभएको छ । तपार्इँसँग भेट हुँदा म धेरै खुसी भएको छु, राज ।
मलाई पनि त्यस्तै लागेको छ अन्ना । तपाईँसँग यसरी बसेर कुरा गर्न पाउँदा मलाई धेरै आनन्द लागेको छ ।
तीन दिन भयो मैले राम्ररी खान नपाएको र राम्ररी नसुतेको । लन्डनबाट हिजो म फर्किरहँदा मसँग केवल एक पाउन्ड बेलायती पैसा थियो । त्यो पनि इङ्गलिस च्यानेलमा जहाज (डुङ्गा) चढ्दा एक पाकेट चुरोट र एक बार चकलेट किनेर सकाएँ । हिजो राति म दुई जना रुसी केटीहरूसँग एउटा रेलको क्याबिनमा बसेर आधा रात बिताएँ, केही मदिरा सेवन गर्दै, चुरोट तान्दै युरोपमा हुने गरेका रङ्गीन जीवनको कुरा काट्दै । ती केटीहरू फ्रान्स, पेरिस गएर फर्केका थिए । अचानक रेलको एक डिब्बामा हाम्रो भेट भयो । उनीहरूमध्ये एकजनालाई चुरोट नपाएर छटपटिरहेको थियो । संयोगवश म उनीहरूसँगैको क्याबिनमा डनहील चुरोटको धुवाँ उडाउँदै आराम गरिरहेको थिएँ । त्यहीँ चुरोटको धुवाँले उनीहरू मकहाँ तानिए । एकजना चुरोट असाध्यै खानपर्ने र अर्की सामान्य । उनीहरूसँग आधा खाली भइसकेको एक बोटल ह्वीस्की पनि रहेछ । त्यही आधा बोटल ह्वीस्की खाँदै मसँग भएको आधा बट्टा चुरोट खाँदै रात बिताएर आज म यहाँ तपार्इँहरूसँग भेटिन आएँ । यदि तपाईँहरू नभेटिँदो हो त थाहा थिएन कसरी म मस्को पुग्थेँ हुँला । पुग्न त जसरी नि पुग्थे हुँला तर तपाईँसँग भेटेर यसरी साहित्य, संस्कृति र राजनीतिबाट कुरा कहाँ गर्न पाउँथे होला र ?
त्यसकारण म तपाईँहरूप्रति धेरै कृतज्ञ छु अन्ना । तपाईँहरूले मलाई आफ्नै परिवारको सदस्यजस्तो व्यवहार गरेर खुवाउनुभयो आफ्नो खाना ।
“यो त हाम्रो धर्म हो राज” यो हाम्रो मानवता हो, मानव धर्म हो । एक परदेशीलाई हामीले यति पनि व्यवहार गरेनौँ भने जिउनुको अर्थ के नै रहन्छ र ।”
अन्नाको कुरा सुन्दा म अझ भावुक भएँ र भनेँ “हो अन्ना, रुसीहरू धेरै मानवतावादी छन् पश्चिमेली युरोपेली देशका मानिसहरूभन्दा । मैले यो देखेको छु, भोगेको छु र आजै तपाईँहरूसँग यसरी बस्दा मैले सहज अनुभूति गर्दै छु ।

केमिकल इन्जिनियरिङ कक्षाको प्रयोगशालामा
यदि तपाईँहरूको ठाउँमा कोही अरु फ्रान्सेली वा बेलायती परिवार भेटेको भए सायदै यस्तो व्यवहार मैले पाउँथे हुँला । मैले मस्कोमा बस्दा र अहिले खार्काेभमा बस्दा पनि रुसीहरूको व्यवहार धेरै सरल र माननीय देखेको छु । अझ म ससुराली (पेन्जा सहर) जाँदा त झनै कतै आफ्नो देशको एक ठाउँमा गएको जस्तो लाग्छ, अन्ना त्यहाँ मेरो ससुरालीका आफन्त र उनीहरूका छिमेकीहरूको मप्रतिको व्यवहार देख्दा । मस्कोमा मानिसहरूको भन्दा त्यहाँ पेन्जाका मानिसहरूको व्यवहार मलाई बढी आत्मीय र स्वाभाविक लाग्यो । तर, रुसीहरूको पिउने बानी एउटा मलाई धेरै दुःखदायी लाग्यो । त्यहाँ गए पनि जो जससँग भेटे पनि सबभन्दा पहिले पिउने कुरा नै हुन्थ्यो र अतिथि सत्कार वा कसैलाई खुसी पार्नु पर्दा पनि भोडकाबाटै सुरु हुने र फेरि अलि–अलि मात्र होइन अलि ज्यादै नै पिउने संस्कार छ । मैले रुसी समाज र सोभियत समाजलाई नै एउटा अन्योलग्रस्त स्थितिमा भोगिराखेको देखेको छु ।
“हो राज यो एउटा हाम्रो ठूलो राष्ट्रिय समस्या नै हो । तर, अहिलेको समस्या होइन यो । परम्परागत संस्कृति हो हाम्रो यो भोड्का संस्कार” अन्नाले भनिन् ।
एक ठूलो र गहिरो सुस्केरा हाल्दै र आफ्नो सुतिरहेको आफ्नो बुढोतिर औँलाले देखाउँदै भनिन्, “हेर्नुस् त ३ घन्टा भो घुरिरहेको” अब उठेपछि फेरि डिनरको टाइम हुन्छ र फेरि त्यहीबाट सुरु हुन्छ । अनि फेरि रातभरि घुरिरहन्छ । “पिउन पाएपछि श्रीमतीको पनि परवाह हुँदैन उहाँलाई ।”
“त्यसैले मैले अघि सोधेको राज ¤ तपाईँ आफ्नी श्रीमतीलाई कति माया गर्नुहुन्छ भनेर ।”
“च्वास्स बिझ्यो मेरो मनमा । अनि बल्ल बुझेँ, मैले उनको प्रश्नको आशय ।”
“अन्ना प्रेम प्रेम हो, जीवन जीवन हो,’ प्रेम र जीवन थोरैको मात्र एक ठाउँमा हुन्छ र भए पनि कमै समयको लागि मात्र हुन्छ जस्तो मलाई लाग्छ ।” मैले भनेँ ।

सोभियत सङ्घमा हिउँदमा आफ्नो जेठो छोरो अलेक्जेन्डरसँग पार्कमा घुमफिर गर्दै
सबैको जीवनमा आफूलाई मनपर्ने एउटा हुन्छ तर पारिवारिक जीवन आफैसँग हुन्छ । मेरो पनि त्यसै भएको छ अन्ना । म एक जनालाई मनपराउँछु, धेरै मनपराउँछु र अहिले पनि मनपराउँछु तर मेरो परिवार आफैसँग गाँसिएको छ । अब म दुइटा नाम्लो एउटा थाप्लोमा राखेर जिउँदै छु अन्ना । वास्तविकता यो हो ।
“कमै मानिसले यसरी खुला हृदयले बोल्छन् राज ।” धन्यवाद ¤ आफ्नो दिल खोलेर यसरी मेरो उत्सुकता मेटाउनु भो । “मेरो पनि यही हो समस्या राज ।” म यही छोरीको मायाले बस्दैछु मेरो लोग्नेसँग राज । मेरो उमेर ढल्केको छैन । अझै कसैले मलाई ‘लभ’ गरोस् भन्ने चाहन्छु । कसैले मलाई माया गरेको चाहन्छु । दुवै जना एक ढिक्का ज्यान भएर बाँच्न चाहन्छु । यसो भन्दै गर्दा अन्नाको आँखा रसायो र केही आँसु पनि झरे । मेरो हात समातेर उनी आँसु झार्दै सुँक्कसुँक्क रोएको आवाज मैले सुनेँ । उनको आँसुको तातो पानीले मेरो हात भिजेको मैले अनुभव गरँे ।
क्रमशः
Leave a Reply