– गौरव प्रधान
एकजना राजनीतिज्ञले भनेका थिए, “प्रधानमन्त्रीको हातमा गोली भरेको बन्दुक हुन्छ र कुनै पनि बेला पड्काउन सकिन्छ ।” गोली भरेको बन्दुक रहेछ भन्ने कुरा राजनीतिक दल फुटाउन सक्ने अध्यादेश एकाएक ल्याएर व्यवहारले देखाइसकेको छ । प्रमुख प्रतिपक्षी र अरू दलको त के कुरा आफ्नै दलका अध्यक्ष, प्रवक्ता र वरिष्ठ नेताहरूसँगको परामर्श र त्यो अनुमतिविना प्रम ओलीले पार्टी फुटाउन पाउने अध्यादेश ल्याएर पुष्टि गरेका छन् । तर, सरकार र पार्टीको नेतृत्व गरिरहेका प्रम ओलीले गोली भरेको बन्दुक कहाँ, कहिले, किन पड्काउने भन्नेबारे ख्यालै गरेनन् । आखिर प्रम ओली किन पार्टी फुटाउन पाउने योजना बुन्दै छन् ?
सम्भवत ः ओलीले प्रमको पद कति शक्तिशाली रहेछ भन्ने कुरा देखाउने प्रयास गरे । प्रमसँग आफ्नै दलका नेताहरूलाई पनि निहुँ नखोज है भन्ने सन्देश उनले बाँडे । निहुँ खोजेमा, आफ्नोविरुद्ध कुनै बोलेमा, भनेमा या दबाब दिएमा पार्टीभित्र कुनै पनि घटना हुनसक्छ भन्ने कुरा प्रमले आफ्नो दल र देशका अरू दलहरूलाई खबरदारी गरे । ओली आफूलाई शक्तिशाली, सर्वज्ञाता र सर्वोत्कृष्ट प्रम भएको देखाउन चाहन्छन् । प्रम ओलीले आफूलाई जनताले निर्वाचित गरेको भुले, राजनीति देश र जनताको निम्ति हो भन्ने कुरा बिर्से । उनको व्यवहार हेर्दा राजनीति देश र जनताको कुरा छोडौँ राजनीतिकर्मीहरूको लागि पनि होइन, सत्तारुढ दलका वरपर बस्ने राजनीतिजीवीहरूका लागि रहेछ भन्ने कुरा थाहा हुन्छ ।
आफ्नै पार्टीका जिम्मेवार नेताहरूको समेत वास्ता नगरी प्रम ओली लम्किरहेको कुरा घटनाक्रमले धेरै पटक देखाइसकेको छ । तर, पूर्वमाओवादी पक्षधर नेकपाका नेताहरू थुक निल्दै अहिलेसम्म सहिरहेका छन् । यो सिद्धान्त र विचारभन्दा भागबन्डाको आधारमा एमाले र माओवादी मिलेर नेकपा बन्दाको परिणाम हो । विश्वमै कोरोना भाइरसको चर्चा परिचर्चा भइरहेको बेला प्रम ओलीले अचानक राजनीतिक दल फुटाउन पाउने विधेयक ल्याएर राजनीतिक हलचल नै ल्यायो । राजनीतिक गतिविधि शून्य प्रायः भइरहेको समयमा यो विधेयक किन ल्याइयो, कुन कुन दलप्रति लक्षित छ या पार्टी फुटाउन पाउने संवैधानिक बन्दोबस्त प्रम ओलीलाई किन प्यारो भयो ? त्यसभित्र के रहस्य छ ? आज राजनीतिक वृत्तमा चर्चाको विषय बन्यो । ओलीको कार्यशैली एकतन्त्रीय र निरङ्कुश भइरहेको जनदबाब झेलिरहेका प्रम ओलीले फेरि एकचोटि त्यस्तै निरङ्कुश शैली अपनाएको देखाए । पार्टीको सहमति या परामर्शमा सरकार चलाउने दाबी गरेका ओलीले पार्टीकै निर्णयको उल्लङ्घन गरी प्रचण्डले झैँ क्रमभङ्ग गरे र पार्टीको निर्णयलाई खिल्ली उडाए । के यो निरङ्कुश चरित्र होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *