भर्खरै :

औपचारिकतामा सीमित कुलदेवताको पूजा

भक्तपुर, १४ वैशाख । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको सम्भावित सङ्क्रमणको जोखिमप्रति संवेदनशील भई हाललाई क्षमापूजासहित देवाली पूजा गर्ने सरोकारवालासहितको भक्तपुर नपाको निर्णयअनुसार आइतबार थने (माथिल्लो भेग)का प्रजापति समुदायले दिगु द्यो पूजा (कुल देवता पूजा) गरे ।
अक्षय तृतीयाकै दिन गर्नुपर्ने उक्त कुल देवताको पूजा उनीहरुले कुनै हिंसा (बोकाको बलि दिनुपर्ने) नगरी गरे । भीड जम्मा गर्न नहुने, सामाजिक दुरीमा बस्नुपर्ने मान्यताबमोजिम थनेका प्रजापति परिवारले उक्त पूजा सम्पन्न गरेका थिए । २÷३ सय परिवारको २÷३ हजार भेला हुने सो पूजामा यस वर्ष १२÷१३ जनामात्र सहभागी भई हाँसको अन्डामात्र चढाएर सम्पन्न गरिएको थियो । उनीहरुको कुल देवता पूजामा गुरुजु र पुरोहित राखेरै पूजा गर्नुपर्ने परम्परा थियो । त्यस्तै थनेका प्रजापतिहरुमध्ये सबभन्दा थकाली (जेठो) ले कुल देवतामा पूजा गर्नुपर्छ । तर सबभन्दा ज्येष्ठ काजीबहादुर प्रजापति, दोस्रो ज्येष्ठ लतंवीर प्रजापति, तेस्रो ज्येष्ठ न्हुछेकुमार प्रजापति र चौथो ज्येष्ठ कान्छा प्रजापति अशक्त भएको कारण उहाँहरूको अनुमतिमा यस वर्ष पाँचौँ ज्येष्ठ नागरिक कृष्णगोपाल प्रजापति र छैटौँ ज्येष्ठ नागरिक न्हुछेराम प्रजापतिले पूजा गर्नुभएको थियो ।
कुल देवता पूजामा सहभागी सबैले पूजाको निम्ति अनुमति पत्र पाएका थिए । उक्त पूजामा तलातुंछि, सूर्यमढी, लाँतले, त्वचा, लामगाल, माईश्वरी, लिबाली, जगाती आदि स्थानका सबै प्रजापतिहरु जान्थे । उनीहरुको कुल देवता पूजा भनपा वडा नं. १ स्थित रानीपोखरीको छेउमा हुँदै आएको हो । निश्चित व्यक्ति (थोरै व्यक्ति) पूजामा जानको लागि केही दिनपहिले नै आ–आफ्नो परिवार या जःबाट ल्याइने स्वंकिग र किसली (पूजा सामान) निश्चित स्थानमा राख्न सूचना सार्वजनिक गरिएको थियो । पहिले उनीहरू तलातुंछिमा सबै भेला भएर बाजासहित कुल देवता पूजा गर्न जान्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *