भर्खरै :

प्रतिभाशाली अभिनेता इरफानको बिदाइ

भारतीय अभिनेता इरफान खानको बुधबार ५३ वर्षको उमेरमा मुम्बईमा निधन भयो । सन् १९९० को दसकसम्म इरफान खान केही टेलिभिजनका पर्दा र निकै कम दर्शकले मात्र हेर्ने गर्थे । तथापि, समालोचकहरूले अब्बल मानेका चलचित्रमा मात्र देखिने र सुनिने नाम थियो । टेलिभिजन र मूलधारभन्दा परका साना बजेटका चलचित्र हुँदै सन् २०००–दसकको सुरुतिर मात्र भारतीय सिने क्षेत्र बलिउडमा प्रवेश गरेका थिए । तर, अभिनय गर्न नै धर्तीमा झरेका इमरानको अब्बल अभिनयले उनलाई निकै चाँडै हलिउडमा पस्न ग्रिन कार्ड दियो । ‘हासिल’, ‘मकबुल’, ‘तलबार’, ‘पान सिंह टोमार’, ‘द लन्चबक्स’, ‘पिकु’ र ‘द वारियर’ उनका अब्बल मानिएका चर्चित चलचित्र हुन् ।
आफ्ना प्रशंसकहरूलाई सुनाउन इरफानसँग धेरै कुरा थिए । कमजोर स्वास्थ्यको कारण उनले आफ्नो करियरको धेरै ठाउँमा सम्झौता गर्नुप¥यो । नत्र उनी कलाकारिताबाट लैस अभूतपूर्व कलाकारको रूपमा धेरै उचाइमा पुग्ने थिए ।
सन् २०१८ को मार्च महिनामा उनलाई न्युरोइनडक्ट्रिन ट्युमर रोग लागेको पत्ता लाग्यो । उपचारको शिलशिलामा उनी लामो समय बेलायतमा बसे । सन् २०२० मा उनी भारत फर्के । आन्द्रामा सङ्क्रमण भएपछि यसै साताको सुरुमा मुम्बईको एउटा अस्पतालमा उनी भर्ना भएका थिए । उनकी श्रीमती सुतपा सिकदर टेलिभिजनका लेखिका तथा प्रोड्युसर हुन् । उनीहरूका दुई छोरा छन्–बबिल र अयान । इरफानको आमाको गत अप्रिल २५ मा मात्र जयपुरमा ८६ वर्षको उमेरमा निधन भएको थियो ।
सन् २०१८ को मार्च महिनामा इरफानले ट्वीटमार्फत आफ्नो कमजोर स्वास्थ्य अवस्थाबारे सार्वजनिक गरेका थिए । त्यसयता उनले ‘ब्ल्याकमेल’ र ‘कर्वान’ नामका दुई चलचित्र खेले । सन् २०२० को मार्च महिनामा उनको अर्को चलचित्र ‘अङ्ग्रेजी मिडियम’ सार्वजनिक हुँदै थियो । तर कोभिड–१९ को महामारीको कारण त्यो चलचित्र सार्वजनिक प्रदर्शनमा भने आएको छैन । चलचित्र बाहिर नआउँदै इरफान भने सधैँको लागि बिदा भए । ‘अङ्ग्रेजी मिडियम’ को प्रचार गर्ने शिलशिलामा सार्वजनिक भनाइ नै उनको अन्तिम सार्वजनिक उपस्थिति बन्यो । आफ्नो सन्देशमा उनले भनेका थिए, “मेरो प्रतिक्षा पक्कै गर्नुहोला ।”
इरफानको अन्तिम चलचित्र ‘अङ्ग्रेजी मिडियम’ उनकै अत्यन्त लोकप्रिय चलचित्र ‘हिन्दी मिडियम’ कै सिक्वेल हो । आफ्नो अभिनय यात्रामा इरफानले जति पनि भूमिका निभाए, ती भूमिकाले दर्शकको मन र दिमागमा गहिरो छाप छोडेका छन् ।
इरफानको जन्म सन् १९६७ को जनवरी ७ मा राजस्थानमा भएको थियो । उनको पूरा नाम सहेदबजादे इरफान अली खान हो । उनी मध्य वर्गीय परिवारमा जन्मेका थिए । इरफान १८ वर्षको किशोर हुँदा उनका पिताको निधन भएको थियो ।
सानै उमेरदेखि नै उनलाई कलाकार बन्ने चाहना थियो । तर, अभिनेता बन्न के गर्नुपर्छ भन्ने कुरा उनले केही मेलोमेसो पाएका थिएनन् । उनलाई आफ्नो रूप रङ्ग अभिनेता बन्न लायक नभएको लाग्थ्यो । तर, सन् १९७७ मा ‘मृगया’ चलचित्रमा मिथुन चक्रवर्तीको अभिनय हेरेपछि उनको मनमा कतै सुषुप्त रहेको अभिनेता बन्ने चाहना ब्युँतियो । त्यो चलचित्रको नायक कालो वर्णका ‘नराम्रा’ थिए ।
राजस्थानको स्थानीय नाटक कलेजमा दुई वर्षको पढाइ सकेपछि उनी सन् १९८४ मा दिल्लीको नेसनल स्कूल अफ ड्रामामा भर्ना भए । उनीसँगै कलेज पढेका अधिकांश साथीहरू इरफानलाई चुपचाप बस्न मनपराउने, सधैँ कुनै न कुनै विषयमा घोत्लिरहेजस्तो लाग्ने तर अभिनयका नयाँ नयाँ चुनौती सामना गर्न रुचाउने कलाकारको रूपमा सम्झन्छन् । उनकी श्रीमती सिकदरसँग उनको त्यही कलेज पढ्दाताका चिनजान भएको थियो ।
इरफानको चलचित्रमा अभिनय गर्ने महत्वाकाङ्क्षा थियो । कलेज पढ्दै गर्दा नै सन् १९८८ मा उनले मिरा नाएरको ‘सलाम बम्बे ¤’ नामको चलचित्रमा सानो भूमिका पाए । त्यो चलचित्रमा उनले एक जना पेशाले चिठ्टी लेख्ने मान्छेको भूमिका खेलेका थिए ।

भारतीय चलचित्रका विख्यात निर्देशक विशाल भारद्वाजले सेक्सपियरको प्रसिद्ध नाटक मेकबेथमा आधारित चलचित्र ‘मकबुल’ बनाउन तयारी गर्दै गर्दा मेकबेथको भूमिका निभाउन सक्षम कलाकारको खोजी भयो । ‘मेकबेथ’ खोज्ने क्रममा भारद्वाजले धेरैको दैलो चहारे । विश्व साहित्यको सर्वोच्च धरोहरले लेखेको नाटकमा आधारित ‘मकबुल’को मुख्य पात्रको खोजी सहज पक्कै थिएन । कर्तव्यपरायणता, धोखेबाजी, गल्तीबोध सबै भाव एउटै अनुहारमा देखाउनु लरोतरो कलाकारको सामथ्र्यमा हुने कुरै भएन । त्यहीबीच भारद्वाजले इरफानलाई सो भूमिका दिएर जोखिम उठाउने साहस गरे । तर, मेकबेथको भारतीय बलिउड संस्करण इमरानले यति बेजोड निभाए, दर्शकहरू उनको त्यस्तै अर्को भावपूर्ण अभिनयको प्रतिक्षा गरिरहे । भारद्वाजको जोखिम वास्तवमा इरफानभित्रको प्रतिभा उछिन्ने अर्को ब्रेकथ्रु बन्यो ।

नाएरकै ‘नेमसेक’ (२००६), माइग्रेसन (२००७) लघु चलचित्र र ‘न्यु योर्क आइ लभ यु’ (२००८) मा इरफानले पनि अभिनय गर्ने मौका पाएका थिए ।
इरफानको मिहिन अभिनय क्षमता टेलिभिजन नाटकहरूमा पनि निकै रुचाइयो । ‘भारत एक खोज’, ‘पिता’, ‘चाणक्य’, ‘चन्द्रकान्ता’ र ‘बनेगी आपनी बात नाम’ जस्ता थुपै्र लोकप्रिय टेलिभिजन सिरियलमा उनको भूमिका धेरै मानिसले रुचाए ।
इरफान सिनेमातिर पस्ने तरखर गर्दै गर्दा भारतका सरकारी कला प्रतिष्ठानहरू आफ्ना उत्पादनबाट हात झिक्दै थिए । उनले विभिन्न चलचित्रमा सानातिना भूमिकाको प्रस्ताव स्वीकार्दै जीवन चलाउन थाले । बासु चटर्जीको चलचित्र ‘कमलाका मौत’ (१९८९) मा उनी गीता (रुपा गांगुली) को विश्वासिलो प्रेमीको भूमिकामा देखिए । त्यो चलचित्रमा इरफानको बेजोड अभिनय हेरेपछि धेरैले उनलाई भविष्यका एक आशालाग्दा अभिनेताको रूपमा हेर्न थाले । गोविन्द निहालानीको ‘दृष्टि’ (१९९०) मा इरफानले डिम्पल कपडियासँग एक जना अन्तरमुखी प्रेमीको भूमिकाले मानिसभित्रको दबिएको भावना आफ्नो अभिनयमार्फत पोख्न सक्ने उनको क्षमताको सबैले प्रशंसा गरे । खासमा उनलाई पछि त्यही विशेषताको अभिनेताको रूपमा बुझियो ।
‘करामती कोट’ (१९९३), ‘द गोल’ (१९९९) जस्ता बालबालिकाको लागि बनेका चलचित्रमा पनि उनले अभिनय गरे । सन् १९९० मा बनेको तपन सिन्हाको ‘एक डाक्टरकी मौत’ उनको लागि भावी यात्राको निम्ति कोशेढुङ्गा सावित भयो । त्यो चलचित्रमा उनले कुष्ठरोगको भ्याक्सिनको अनुसन्धान गरिरहेका एक जना वैज्ञानिकको भूमिका निभाएका थिए । तर, ९० को दसकमा इरफानले खेलेका चलचित्रहरूमा उनको भूमिका सीमित खालका थिए । अभिनयकलामा आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्न उनले सन् २००० को दसक नै कुर्नुप¥यो । सन् २००० मा उनले चलचित्रहरूमा लामो र गुणात्मक भूमिका पाउन थाले । सन् २००१ मा असिफ कपाडियाले बनाएको चलचित्र ‘द वारियर’ ले इरफानको उचाइ बलिउडबाट हलिउडमा उकाल्यो । त्यसपछि उनले लगातार हलिउडमा ठाउँ पाइरहे । उनको विशिष्ट, मिहिन र गम्भीर खालको ओजपूर्ण अभिनयले हलिउडमा अझ आलोचित हुने मौका पाइरह्यो । सन् २००७ मा वेस एन्डरसनको ‘द दार्जिलिङ लिमिटेड’ मा एक जना वियोगमा डुबेका पिताको भूमिका निभाए । पाकिस्तानमा मारिएका ‘द वाल स्ट्रिट जर्नल’का पत्रकार डानिएल पर्लको सत्य घटनामा आधारित चलचित्र माइकल विन्टरबटमको ‘द माइटी हार्ट’मा उनले एक अनुसन्धान अधिकारीको भूमिका खेले । उनले अभिनय गरेका ‘स्लमडग मिलिनायार’ (२००८), ‘द अमेजिङ सुपर म्यान’ (२०१२), ‘लाइफ अफ पाई’ (२०१२), ‘द लन्च बक्स’ (२०१३), ‘जुरासिक वल्र्ड’ (२०१५) र ‘इन्फेर्नो’ (२०१६) ले अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भए ।
भारतीय चलचित्रका विख्यात निर्देशक विशाल भारद्वाजले सेक्सपियरको प्रसिद्ध नाटक मेकबेथमा आधारित चलचित्र ‘मकबुल’ बनाउन तयारी गर्दै गर्दा मेकबेथको भूमिका निभाउन सक्षम कलाकारको खोजी भयो । ‘मेकबेथ’ खोज्ने क्रममा भारद्वाजले धेरैको दैलो चहारे । विश्व साहित्यको सर्वोच्च धरोहरले लेखेको नाटकमा आधारित ‘मकबुल’को मुख्य पात्रको खोजी सहज पक्कै थिएन । कर्तव्यपरायणता, धोखेबाजी, गल्तीबोध सबै भाव एउटै अनुहारमा देखाउनु लरोतरो कलाकारको सामथ्र्यमा हुने कुरै भएन । त्यहीबीच भारद्वाजले इरफानलाई सो भूमिका दिएर जोखिम उठाउने साहस गरे । तर, मेकबेथको भारतीय बलिउड संस्करण इमरानले यति बेजोड निभाए, दर्शकहरू उनको त्यस्तै अर्को भावपूर्ण अभिनयको प्रतिक्षा गरिरहे । भारद्वाजको जोखिम वास्तवमा इरफानभित्रको प्रतिभा उछिन्ने अर्को ब्रेकथ्रु बन्यो ।
बलिउडमा सधैँ नातावाद–क्रिपावादको खुब बहस हुने गरेको छ । कङ्गना रनावत्तजस्ता विद्रोही कलाकारहरू यस्ता नातावादको विरोध गरिरहेका हुन्छन् । बलिउडका सुपरस्टारका छोराछोरी आमाको कोखबाट बाहिर निस्कने बित्तिकै सुपरस्टार कहलिनुपर्ने र अरु सर्वसाधारणलाई प्रतिभाशाली भएर पनि त्यो पर्खालभित्र पस्न निकै मिहिनेत गर्नुपर्ने विभेदपूर्ण अवस्था अझै कायम छ । बलिउडमा अर्को थरी केही कलाकारहरू भने कलाकार बन्न नै धर्तीमा जन्म लिएका हुन्छन् । बलिउडको आलिसान दरबारको पर्खालभित्र पस्न त्यस्ता कलाकारले झेल्नु दुःख झेल्छन् । कतिलाई अङ्ग्रेजीले रोक्छ, कतिलाई रुपले त कतिलाई धनले । तथापि अभिनयमा नै आफ्नो जीवनको सार्थकता देख्ने ती कलाकारहरू अन्ततः रजतपटमा जमेरै छोड्दछन् । त्यस्तै एक जना कलाकारमध्ये पर्छन्–इरफान खान । एकसेएक कलाकार उत्पादन गर्ने नेसनल स्कूल अफ ड्रामाको माटोमा हुर्केका इरफानको निधन बलिउडको लागि त ठूलो क्षति हो नै । साथै हलिउडको लागि पनि ठूलो दुःखद् घटना हो ।
लेखक नन्दिनी राजनाथ लेख्छन्, “इरफानले वास्तवमा आरम्भमात्र गरेका थिए । उनलाई समयले टपक्क टिपेर लग्यो ।”
कोभिड–१९ को महामारीले त्यसै पनि बोझिलो बनेको बलिउड जगत बुधबार इरफानको अनपेक्षित निधनले अझ बोझिलो बनाउनेछ । इरफानका विशिष्ट अभिनयमा उनी सदैव बाँचिरहनेछन् । समाजमा आइपर्ने धेरै थरी प्रवृत्ति सामना गर्ने क्रममा आगामी पुस्ताले पनि बारम्बार इरफानको सम्झना गरिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *