भर्खरै :

‘हजुरबुबाका चिट्ठी’ : विचारले ओतप्रोत मार्मिक पत्रहरूको सँगालो

            ‘हो, म रून्छु, म मनले रून्छु र आँखाले रून्छु । तर, म तिमीहरूसँग हाँसेरै ठट्टा गर्छु । संसारमा दुःख कम हुँदै जानेछ पहिलेको तुलनामा तर खोजमा दुःख गर्नेछन्, उत्साही भएर । लोभी–स्वार्थीहरूको खराब मन र मस्तिष्कसँगको लडाइँ अझ लामो समयसम्म चल्नेछ । विजय भनेको व्योमजस्तै व्यापक र अनन्त छ ।’ (चिट्ठी– २९, पृष्ठ १२५)
            आत्मस्वीकारोक्तिका यी शब्द, भविष्यप्रति आशा र विश्वासले ओतप्रोत हुँदै सच्चाइको विजय भोरसँगसँगै सूर्योदयझैँ अनिवार्य भएको सन्देश वरिष्ठ जनलेखक हरिबहादुर श्रेष्ठले ‘हजुरबुबाका चिट्ठी’ मार्फत दिनुभएको छ ।
            केही महिनाअगाडि प्रकाशित यस कृतिमा लेखक श्रेष्ठले आफ्नो सङ्घर्षशील जीवनको भोगाइको तस्वीर शब्दमा उतार्नुभएको छ । गहिरो ज्ञान तथा लामो अनुभवको सार प्रस्तुत गर्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिप्रतिबारे गहन विचार एवम् व्यापक दृष्टिकोण सरल भाषामा अभिव्यक्त गर्नुभएको छ । सामाजिक परिवर्तनका उपायहरू सुझाउनुभएको छ । देश उत्थानको बाटो देखाउनुभएको छ । देशभित्र र बाहिरका शत्रु चिन्ने काइदा सिकाउनुभएको छ । नयाँ पिँढीलाई महत्वपूर्ण मार्गनिर्देश गर्नुभएको छ । आत्मसमर्पण होइन आत्मस्वाभिमान र आत्मगौरवमा विश्वास राख्न बारम्बार उत्साहित गर्नुभएको छ । यस पुस्तकमा हजुरबुबाले ‘अनिकालमा बीउ’ जोगाउने दृढ सङ्कल्प गर्नुभएको आभास हुन्छ ।
            वरिष्ठ लेखक श्रेष्ठका यी पत्रमा आशावादिता र उत्साह भेटिन्छ भन्ने अनुमान लगाउन यी शब्द पर्याप्त छन् – ‘तिमीहरू निराश नहुनू, हरेक रातपछि बिहान हुन्छ र पूर्वको झ्याल–ढोकाका कापकाप र प्वालहरूबाट प्रकाश छिरेजस्तै समाजमा आमूल परिवर्तनको बिगुल बज्नेछ ।’ (चिट्ठी – २२, पृष्ठ – ८७)            नेपालमा सात साल, छयालीस साल, बैसठी–त्रिसठी सालमा ठूलठूला आन्दोलन भए र राजनीतिक अवस्था परिवर्तन पनि भए । तर, व्यापक मजदुर–किसानको हित भएन । कामदार वर्गको पक्षमा ऐन–नियम तथा कानुन बनेन । बहुसङ्ख्यक जनताको जीवनमा मौलिक परिवर्तन आएन । जनता निराश भए । देशको बर्बादी देखेर कति विदेश भागे, कति सङ्घर्षको मैदान छोडेर गए । तर, धेरैले जनताको पक्षमा सङ्घर्ष जारी राखे । यही भावभूमिमा लेखक श्रेष्ठले देशको स्थितिमा आमूल परिवर्तन अनिवार्य भएको उद्घोष गर्नुभएको हो ।
            तीसवटा पत्रको सँगालो ‘हजुरबुबाका चिट्ठी’ मा देशको दुर्दशा र जनताले व्यहोर्नुपरेको दुःख, कष्ट र यातनाबारे छलफल मिहिन ढ·मा गरिएको छ । देशको दुर्गतिको निम्ति अहिलेसम्मका शासकहरूलाई प्रमुखरूपमा जिम्मेवार ठहर्‍याइएको छ । नेपालको शासन सत्ता नेपालीको हातमा नरहेको विडम्बनापूर्ण स्थितिबारे व्याख्या वर्णन गरिएको छ । जुन देश आर्थिकरूपमा स्वतन्त्र हुँदैन त्यो देश राजनीतिक तथा सांस्कृतिकरूपमा पनि स्वतन्त्र नहुनेबारे विभिन्न दृष्टान्तसहित प्रस्ट पारिएको छ । विदेशमोह हिनताबोधको अभिव्यक्ति हुने र हरेक युवक–युवतीले योग्यता, क्षमताको विकासमा जोड दिनुपर्ने, विषयवस्तुमा पोख्त हुनुपर्ने र इतिहास, भूगोल, अर्थशास्त्र र राजनीतिशास्त्रबारे राम्रो जानकारी हासिल गर्नुपर्ने सुझाव विभिन्न पत्रमा विविध प्रस·मा लेखक श्रेष्ठले दिनुभएको छ । विश्वको मानव सभ्यताको ल्याकत राख्दा नेपाली जनताको योगदान पनि गौरवमय भएको यथार्थ उजागर गर्नुभएको छ ।
            ‘… दोस्रो विश्वयुद्धले ध्वस्त भएको सोभियत सङ्घ र युरोप, केही वर्ष र दशकमा सपनाजस्ता सहरहरू बने । पार्क र ऐतिहासिक स्मारक क्षेत्रहरू पुनः स्थापित भए । धुजाधुजा भएका चिनियाँ तथा गाउँलेहरूले जनताको क्रान्तिमार्फत केही वर्ष र दशकमा पुनः प्राचीनताको गौरवलाई सजाए । बम, वारूद र विध्वंसको क्रुर हमलाबाट एउटा इँटा र एउटा किल्लासमेत सबुत बाँकी नभएको कोरियाली प्रायःद्वीपमा एक–दुई दशकमै फूलबारीजस्ता बस्ती र सहरहरू बने । मानिसको सङ्कल्प, मन–मस्तिष्क एवम् पौरख अजेय र अथक रहेछ, ठूलो शक्ति भन्ने अहङ्कार र धम्कीको अगाडि नझुक्ने साहस चाहिने रहेछ ।”
(चिट्ठी– ६, पृष्ठ– २३)
            यी ओजपूर्ण शब्दले उच्च मनोबल जुन कुनै हृदयमा झङ्कृत गर्नेछ । इतिहास साक्षी राख्दै वर्तमानलाई आन्दोलित गर्नु र भविष्यलाई स्वर्णिम बनाउने यत्न गर्नु एक चिन्तक, स्रष्टा एवम् द्रष्टाको कर्तव्य हो । वरिष्ठ जनलेखक हरिबहादुर श्रेष्ठले यस पत्रकृतिमार्फत त्यो कर्तव्य पूरा गर्नुभएको छ भन्नु अतियुक्ति नहोला ! एक क्रान्तिकारी लेखक विद्रोहका बीउ शब्दमार्फत छर्छन् । हृदय–हृदयमा आमूल परिवर्तनको निम्ति उत्सर्गी भावना भर्छन् । मस्तिष्कलाई नयाँ चेतना र नयाँ विचारले सिञ्चित गर्छन् र समाजमा परिवर्तनको आँधीबेहरी ल्याउँछन् । विश्व क्रान्तिको गाथा गाउँछन् । क्रान्तिका निर्माण तथा उपलब्धि सबैको सामु छर्ल· पार्छन् र स्वतन्त्रता, मुक्तिको वास्तविक अर्थ एवम् आवश्यकताबोध गराउँछन् । हरेक श्रमिक मनलाई घच्घच्याउँछन् । यही जिम्मेवारी अन्य कृतिमा झैँ यस पत्रकृतिमा लेखक श्रेष्ठले निर्वाह गर्नुभएको छ । विचारको प्रवाह, चेतनाको विकासमा धैर्यको खाँचो हुनु भनेको अस्वाभाविक होइन । त्यसैले त लेखक श्रेष्ठ भन्नुहुन्छ, “फ्रान्समा पेरिस कम्युनको सङ्घर्षमा अन्तिम क्रान्तिकारी व्यक्ति, बन्दुक र अन्तिम गोली भएसम्म फहरिरहेको झन्डा तथा चिहानको कुना एक्कासि सम्झेँ । चिहानको पश्चिमतिर सिंहमर्मरमा कुँदिएको सिक्रीले बाँधिएका हातहतियारसहितको लेखोटमा लेखिएको थियो – हामी फेरि चिहानबाट उठेर लड्नेछौँ, तिमीहरूको स्वर्गलाई ध्वस्त पारेर हाम्रो स्वर्ग फर्काउने छौँ । क्रान्ति जिन्दावाद !” (चिट्ठी २४, पृष्ठ ९६)
            यी र यस्तै सशक्त विचारले ‘हजुरबुबाका चिट्ठी’ समकालीन साहित्यमा एउटा बेग्लै उदाहरण बनाएको अनुभूत हुन्छ । नेपाली वाङ्मयमा यस कृतिको स्थान र योगदानबारे एक दिन जरुर उचित मूल्याङ्कन हुने नै छ ।
            पत्रहरूमा लेखकका व्यक्तिगत घटना–परिघटना, अनुभव–अनुभूति र भावनाको सम्मिश्रण हुनाले असाध्यै मार्मिक, रोचक तथा जीवन्त बनेको छ । ठाउँ–ठाउँमा लेखक स्वयम् उपस्थित भएर आफ्ना अनुभव प्रत्यक्ष अभिव्यक्त गरिरहनुभएको अनुभव हुन्छ । कहिलेकाहीँ कुनै कविको संस्मरणको अंश पढिरहेको अनुभव सुनिरहेझैँ लाग्छ । प्रायः ठाउँमा एकजना भविष्यप्रति चिन्तित अभिभावकका ज्ञान–गुण, आशीर्वचन प्राप्त गरिरहेको अनुभूत हुन्छ । लेखक श्रेष्ठ भन्नुहुन्छ, “म झस्केर बिउँझेजस्तै आफूलाई पाएँ । साँच्चै समय बितेको थाहा नै भएन, म अहिले ७९ वर्ष भएँ र ?” मनले भनिरहेको थियो, “तिमी थाक्नुहुन्न, अगाडि बढ्दै जानुपर्छ । पछाडि हेरेर समीक्षा गर्दै जानुपर्छ – आफू कहिले टाढा र कहिले नजिकजस्तै हुन्छ पहाडको घुम्तीजस्तै तर तिमी झरनाजस्तै बहिरहनुपर्छ, राम्रो विचार पुरानो हुँदैन, सदा नयाँ र ताजा अनि सुन्दर देखिन्छ ।” (चिट्ठी २४, पृष्ठ ९६) भाषिक लालित्य, सुन्दर शब्दसंयोजन र गहिराइ छुने भावनाले गर्दा हरेक पत्र जिउँदो–जाग्दो बनेका छन् ।
            नेपाली समाजको वर्गीय चित्र पत्रहरूमा सजीव ढ·मा उतारिएको छ । समाजको तल्लो वर्गको अत्यन्त कमजोर आर्थिक अवस्था र दैनिक जीवनमा व्यहोर्नुपर्ने दुःखकष्ट, पीडा तथा असुविधातर्फ लेखक श्रेष्ठको गम्भीर चासो पत्रहरूमा अभिव्यक्त भएको छ । समाजको दलित–पीडित वर्गको वास्तविक मुक्तिको निम्ति शोषणविहीन समाज निर्माणमा अग्रसर हुनुको विकल्प नभएको यथार्थ सम्पूर्ण जनतासमक्ष छर्ल· राख्नुभएको छ । समाजवादको स्थापनासँगै कामदार वर्गले समानता, सम्मान र स्वतन्त्रताको सास फेर्न पाउने विश्वास दिलाउनुहुन्छ, लेखक श्रेष्ठ । दैनिक घटना या मौसमी फेरबदलमा उहाँ हिमाल, पहाड, तराईका शोषितपीडित जनतालाई लेखक यसरी सम्झनुहुन्छ, “आज चिसो बढेको छ, कुहिरोले न नगरका मन्दिरहरूका गजुर देखिएका छन्, न त गाउँका पहाड, ज·ल र उत्तरका हिमाल नै । तराईका गाउँ–गाउँका गरिब केटाकेटी कसरी कठ्याङ्ग्रिएका होलान् र त्यहाँका झुपडीका गरिब दलितहरूले कसरी आगो बाल्ने झारपात र दाउराको जोहो गरेका होलान् भन्ने लाग्छ । गाउँ क्षेत्र वा पहाड, तराई होस् वा हिमाल, सबै ठाउँका सम्पन्न व्यक्तिहरूको घरघरमा न्यानोको बन्दोबस्त हुन्छ ।” यी अभिव्यक्तिले लेखकको चिन्तनशैली र फराकिलो दृष्टिकोण उजागर गर्छ । सर्वसाधारण जनताको सुख–दुःखलाई आफ्नो ठानेर समस्याको दीर्घकालीन समाधानबारे चिन्तन गर्ने र सङ्घर्ष अथकरूपमा जारी राख्ने लेखकको उच्च भावना हरेक ठाउँमा प्रतिबिम्बित भएको छ ।
            लेखक स्वयम् नेपाली कम्युनिस्ट आन्दोलनका एक वरिष्ठ नेता भएकाले पत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिबारे आफनो स्पष्ट विचार राख्नुहुन्छ । समसामयिक राष्ट्रिय राजनीतिको सत्यतथ्य बताउनुहुन्छ, कतिपय अवस्थामा चिरफार गरी जनताको भ्रम हटाउने प्रयत्न गर्नुहुन्छ । एक पत्रमा उहाँ भन्नुहुन्छ, “तराईको अहिलेको आन्दोलन भारतीय एकाधिकार पुँजीकै निम्ति भारतीय विस्तारवादले आफ्ना एजेन्टहरूमार्फत गर्न दिएको नेपाल र नेपाली जनताविरोधी आर्थिक नाकाबन्दी हो ।” (चिट्ठी–९, पृष्ठ ३५) उहाँ थप प्रस्ट पार्दै अगाडि भन्नुहुन्छ, “तराईका अत्यन्त बहुमत जनता भारतीय एकाधिकार पक्षमा छैनन् ।” (उही) विभिन्न पत्रमा नेपाली जनताले भारतीय एकाधिकार पुँजी तथा विस्तारवादविरूद्ध पचास–साठी वर्ष अगाडिदेखि चालु सङ्घर्षलाई निरन्तरता दिनुको विकल्प नभएकोमा उहाँ जोड दिनुहुन्छ । संरा अमेरिकी साम्राज्यवादको पतन अवश्यम्भावी भएको धारणा उहाँले ठाउँ–ठाउँमा व्यक्त गर्नुभएको छ र साम्राज्यवादविरोधी आन्दोलन, सङ्घर्षप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।    
            यी चिट्ठी विशेषगरी विदेशिएका युवा र विदेश जान तम्सिरहेका विद्यार्थीहरूका निम्ति लेखिएका हुन् । देश फर्केर आफ्नो जीवनको सार्थकता पुष्टि गर्न आह्वान गरिएको छ । देशप्रेमबिनाको ज्ञान, सेवाभावबिनाको पेसा र जनसेवाप्रति इमानदार बन्ने अठोटबिनाको राजनीतिले कसैको दीर्घकालीन हित सम्भव नहुनेबारे चर्चा गरिएको छ । लेखकीय भनाइमा उहाँ यसबारे प्रस्ट पार्नुहुन्छः “तिमीहरूलाई मैले लेखेको पत्र तिमीहरूका लागि मात्र होइन विदेशमा काम गर्ने र अध्ययन गर्ने सत्तरी लाख युवायुवतीहरूकै निम्ति हो ।” साथै यी पत्रमा अभिव्यक्त भावना र सम्प्रेषित सन्देशलाई समस्त नेपाली हजुरबुबा र हजुरआमाको सन्देश सम्झन पनि उहाँले आग्रह गर्नुभएको छ । ‘हजुरबुबा’ पत्रहरूमा नयाँ पिँढीप्रति विश्वास व्यक्त गर्नुहुन्छ र विदेशमै भए पनि तिनमा देश र जनताप्रतिको भावना प्रतिबिम्बित भएको अनुमान गर्नुहुन्छ । नेपाली जनताको भविष्य उज्यालो रहेको बताउँदै संसारका विकसित देशहरूसमेत आजको जस्तो अँध्यारो परिस्थितिबाट गुज्रिएको यथार्थ अस्वीकार गर्न नहुने बारम्बार दोहोर्‍याउनुहुन्छ । एक अनुभवी, सिङ्गो जीवन देश र जनताको सेवामा समर्पण गरेका र लामो यात्रामा थकाइको किञ्चित् अनुभव नगरेका ‘हजुरबुबा’ का शिक्षाप्रद तथा मार्मिक सन्देश धेरैधेरैको निम्ति ऊर्जा, वैचारिक खुराक साबित हुनेमा दुईमत नहोला ! अँधेरीमा हराएको पदयात्रीको निम्ति प्रकाशस्तम्भ र आँधीबेरीमा फसेको जहाजको लागि कम्पासझैँ यी पत्रहरू साबित हुने विश्वास छ ।
            यहाँ अर्ति उपदेश दिनेहरू, ‘खुट्टा नभिजाई खोला तर्न खोज्ने’ हरू धेरै छन् । तर, ढोँगलाई त्यागेर आफैँ मैदानमा उत्रेर, विचार निर्माण गर्ने र फिजाउनेहरू धेरै कममात्र भेटिन्छन् । यी पत्र जनताबीचमा बसेर वास्तविक सङ्घर्ष र निःस्वार्थ सेवा कर्मको पवित्र भूमिमा उभिएर उतारिएका हुन् । यी पत्रमा सङ्घर्षको सुगन्ध भेटिन्छ । इमानदारी, नैतिकता र निःस्वार्थी भावनाको स्वाद भेटिन्छ । हो, ‘हजुरबुबाका चिट्ठी’ वास्तविक जीवनदर्शनको दर्पण हो । यो दर्पणमा तपार्इँ, म, हामी सबैैले आ–आफ्नो मुखाकृति, आकृति भेटाऔँ, हेरौँ ! कता के दाग छ ? कता के अपुग छ ? कता के थप मेहनत गर्न आवश्यक छ ? यो दर्पण हेरिसकेपछि एकैछिन घोत्लिऔँ, गमौँ ! सबैलाई यतिमात्र ‘हजुरबुबाका चिट्ठी’ ले घच्घच्याए पनि प्रकाशनको सार्थकताले उचाइ चुमेको ठहर्नेछ । ‘आजको जस्तो जटिलताले घेर्दै र बेर्दै लगिरहेको समाजका नयाँ पिँढीको हुर्काइ, विकास, जीवन–उद्देश्यको छनोट आदिबारे अग्रजहरूको गम्भीरता’ आवश्यक हुने ठम्याइका साथ प्रकाशित यो अत्यन्त महत्वपूर्ण पत्रकृतिका निम्ति लेखक हरिबहादुर श्रेष्ठप्रति हार्दिक आभार र प्रकाशक संस्थागत विद्यालय सङ्घ (इसान) प्रति कृतज्ञता छ । यस अङ्कमा रहेको मुद्राराक्षसको समस्या हटाएर अर्को संस्करण छिट्टै पढ्ने अवसर प्रकाशकले प्रदान गर्ने विश्वास छ । पुस्तकका हजुरबुबाबाट अरू थप समय–सान्दर्भिक पत्र कोर्न कञ्‍जुस्याइँ नहुनेमा पाठकहरू ढुक्क छन् । ‘हजुरबुबा’ को सु–स्वास्थ्य एवम् सक्रिय जीवनको लाख–लाख कामनासहित !

Leave a Reply

Your email address will not be published. Required fields are marked *