भर्खरै :

सरकारी बजेटमा सत्ताधारी दलका ‘जनप्रतिनिधि’ को मनपरी

सूर्यविनायक नपा ५, बाइजूटारबाट छ्वालुटोल हुँदै हनुमन्ते निस्कने ३ फुटको गोरेटो बाटो हो । उक्त गोरेटो बाटोलाई हाल चौडा गर्न खोजियो । उक्त बाटो चौडा गर्ने कुरामा त्यहाँका अधिकांश जग्गाधनीहरूसँग मञ्जुरी लिइएको थिएन । केही थोरै जग्गा पर्नेहरू र जग्गै नपर्नेहरूसँग सहमति लिइएको भए त्यसलाई सहमति भन्न मिल्दैन । यसर्थ २०५९ सालमै सहमति लिइएको भन्ने भनाइ झूटा हो ।
असार १५ गते जिल्ला समन्वय समितिका सदस्य कमला पोखरेलले स्थानीय जग्गा धनीहरूलाई धम्क्याउँदै बिनासहमति सरकारी बजेट दुरुपयोग गरी बाटो चौडा गर्न खोजे । त्यहाँ विवाद भयो । तर, जनप्रतिनिधि पोखरेलले स्थानीय किसानहरूलाई सबैको अगाडि ‘खाते’, ‘गधा’, ‘ज्यापू’ भनी गाली गरी तर्साउन लागे ।
कटुञ्जे चौकीमा जग्गाधनीहरूको सहमतिबिना बाटोको काम अगाडि नबढाउने सहमति भयो । तर, पोखरेलले उक्त सहमतिलाई तोडेर रोलर लगाएर बाटो पेल्न लगाए । सहमति तोडेर किसानको खेतमा बोरा चाङ लगाएपछि किसानहरू चुप लागेर बस्छन् त ? के कटुञ्जे प्रहरीमा भएको सहमतिविपरीत जनप्रतिनिधि पोखरेलले सरकारी बजेट दुरुपयोगसहित मनपरी गर्ने हो ? कृष्ण बखुन्छेँले सहमति तोडेको भनी असार २२ गतेको समय समाजमा लेखिएको पाठक पत्र झूटको पुलिन्दा हो ।
असार १७ गते प्रहरी वृत्त जगातीमा किसानहरूविरुद्ध जिल्ला समन्वय समितिका सदस्यको पक्षमा बोल्न सांसदका स्वकीय सचिवलगायत सूर्यविनायक ५ र ८ नं वडाका वडाध्यक्षसहित एमाले दाबी गर्नेहरू पुगेका थिए । जनप्रतिनिधि कमला पोखरेलले महिला हिंसाको झूटा आरोप लगाएको हुँदा स्थानीय जग्गावालाले त्यस्ता झूटा प्रतिनिधिसँग माफी माग्नुपर्ने कुनै अवस्था छैन । बरु एमालेका कार्यकर्ताहरूले प्रहरी कार्यालयलाई कब्जामा लिई दबाब दिन खोजेको समाचार साँचो हो । प्रहरी वृत्त जगाती कब्जामा नलिएको भए अघिल्लो दिन कटुञ्जे प्रहरीमा मिलापत्र भइसकेको विषयलाई पुनः जगाती प्रहरीले किन उठाउनुप¥यो ?
देशघाती महाकाली सन्धि, वाइडबडी काण्ड, बालुवाटार काण्ड, ३३ किलो सुन तस्करी, गोकर्णको जग्गा काण्ड, फोरजी सेवा काण्ड, विराटनगर जुटमिलको शेयर मेसिनरी, इँटा बिक्री काण्ड, भक्तपुरको राधेराधे चोकदेखि सूर्यविनायक चोकसम्मको सडक खण्डमा वृक्षारोपण नै नगरी नक्कली बिल पेश गरेर ७५ लाख झ्वाम पार्न खोज्नेजस्ता अनगीन्ति काण्डैकाण्ड भएको नेकपाको स्तरबारे सचेत जनता अवगत छन् । अतः उक्त पाठकपत्र चोरको खुट्टा काट भन्दा खुट्टा उचालेजस्तै मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *