भर्खरै :

वाकुपति नारायण मन्दिर परिसरका सम्पदा उद्घाटन

भक्तपुर, २७ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र पुनः निर्माण र जीर्णोद्धार गरिएको द्योपमी फल्चा (पार्टी) पुनःनिर्माण, वाकुपति नारायण दक्षिण सत्तलको भुइँ मर्मत, वाकुपति नारायण ढुङ्गेधारा मर्मत र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण कार्यको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको पुनःनिर्माण तथा जीर्णोद्धार कार्य जनसहभागिता जुटाई उपभोक्ता समितिमार्फत गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ३ वर्षको अन्तरालमा करिब १ सत्न्दा बढी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको बताउँदै उहाँले जीर्णोद्धार गर्न बाँकी रहेका भक्तपुरको कला सङ्ग्रहालय, अरनिको सभाभवन, भक्तपुर नपाको पुरानो भवन (थन्थु दरबार) पनि प्राप्त प्रमाणका आधारमा पुरानै शैलीमा पुनः निर्माण गरिने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तामा सामाजिक र नागरिक भावनाको विकास गराउँदै लानुपर्ने आवश्यकताबोध गराउँदै ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतन बनाउने योजना नगरपालिकाको रहेको बताउनुभयो । कोरोनाको सङ्क्रमण भक्तपुरमा पनि बढ्दै गएको उल्लेख गर्दै उहाँले स्वस्थ र निरोगी व्यक्तिले समाजको हितमा बढी काम गर्ने बताउनुभयो ।
वाकुपति चाँगुनारायण तामा छाना पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद प्रजापतिले उपभोक्ता समितिमा बसेर काम गर्दाको अनुभव सुनाउँदै सम्पदा पुनःनिर्माणमा देखिएको जनश्रमदानले गर्दा निकै कम समय र कम लागतमा पुनःनिर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय विष्णुभक्त कुसी र रवीन्द्र कुसीले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको वडा बजेटअन्तर्गत वाकुपतिनारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत रु. ५ लाख २० हजार ४ सय ८९ रुपैयाँ, द्योपमी फल्चा रु. १४ लाख ९७ हजार ८ सय ९७ रुपैयाँ र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण रु. १८ लाख २९ हजार २ सय ८० रुपैयाँ लागतमा सम्पन्न भएको थियो । पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्षहरूमा रवीन्द्र कुसी, गोपालकृष्ण श्रेष्ठ र कृष्णगोपाल प्रजापति क्रमशः रहनुभएको छ । वाकुपति नारायण ढुङ्गधारा मर्मत कार्यमा दाताहरू स्व. सरस्वती प्रजापति र इन्द्रप्रसाद प्रजापतिले ७७ हजार ४ सय ७८ रुपैयाँ आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *