भर्खरै :

सापारुः गाईजात्राः गो वृषभयात्रा

भक्तपुर नगरमा श्रावण कृष्ण चतुर्दशी (गाथामुगः च¥हे) देखि ताल बाजाहरू बज्न थाल्छन् । आषाढ कृष्ण अष्टमी (भलभलाष्टमी) को रातमा नवदुर्गाको विधिवत बिसर्जन गरिन्छ र उप्रान्त भक्तपुर नगरमा ताल बाजाहरू बजाउन हुँदैन भन्ने मान्यता रहिआएको छ । गाथामुगः च¥हेदेखि नवदुर्गाको मुकुण्डो बनाउन विशेष पूजा सम्पन्न भएपश्चात् महादेव (नाटेश्वर) उत्पत्ति भएको मान्यताअनुरूप सोही दिनदेखि नवदुर्गामय भक्तपुरमा ताल बाजाहरू बज्न थाल्छन् । ‘गुन्हिपुन्हि’ ले श्रावण शुक्ल पूर्णिमा आगमनको आभाष दिलाउँछ । कानमा ‘घिन्ताङघिसि’ को धुन गुञ्जिन थाल्छ । प्रतिक्षाको व्यग्रता रहन थाल्छ मनमा । दुःखद पलहरू बिर्साउन रचिएका अलौकिक आनन्दायी बिम्ब र प्रतीकहरूको ‘महाकुम्भ मेला’ मय भक्तपुरको स्मरणले रोमाञ्चित भइदिन्छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय जीवन र पद्धतिसँग सम्बन्धित विकृति र विसङ्गतिको कटाक्ष गर्ने पर्व ‘गाईजात्रा पर्व’ बालकदेखि वृद्धसम्म नै रमाउने अदभूत पर्व ।
यात्राः जात्रा । गाईजात्राः गाईको यात्रा । नेवार भाषामा ‘सापारु’ । ‘साँ’ गाई र साँढे दुवैलाई जनाउन प्रयोग हुन्छ । विशेषगरी भक्तपुरे नेवार भाषिकामा ‘मासाँ’ माने गाई र थुसाँ माने साँढे हुन्छ । त्यसैले सांस्कृतिक अथवा धार्मिक रीतिरिवाजअनुसार पनि यो पर्व गाई र साँढे (गो वृषभ) दुवैको पर्व हो । त्यसैले गोवंशको जात्रा पनि भन्न सकिन्छ ।
वृषोत्सर्ग र गाईजात्रा र तात्कालीन राज्यको व्यवस्था
आफ्ना स्वजनको मृत्युमा मृत्युसंस्कारकै क्रममा मृत्युपश्चात् ११ औँ वा १२ औँ वा ४५ औँ दिनमा गरुडपुराणको प्रेतकल्पको वचनअनुसार ‘वृषोत्सर्ग’ विधि सम्पादन गर्ने चलन सनातनीहरूमा चलिआएको पाइन्छ । सजीव ‘वृष उत्सर्ग’ (वृषोत्सर्ग) विधि त्यति सजिलो भने छैन । तर, आफ्ना मृतक स्वजनको सद्गत त गर्नुप¥यो । त्यसका लागि शास्त्रमा उल्लेख भएअनुसार ‘नेपालमण्डल र सो अधिनस्थ ग्राम प्रदेश’ हरूमा बसोबास गर्ने आफ्ना जनतालाई आ–आफ्नो औकातले भ्याएसम्म सोही वृषोत्सर्ग विधि गरेकै समानफल प्राप्तिको अर्को विधि– गाईजात्रा (वृषभयात्रा) को विधि तात्कालीन शासकले सम्पादन गर्न दिइएको अद्यावधि चलिआएको छ । पद्म पुराणको छन्दोवाशिष्ठ अंशमा उल्लेख भएअनुसार, “पुरीं प्रदक्षिणि कृत्य वृषोत्सर्ग फलं लभेत्” भनिएको छ अर्थात् आफू बसोबास गर्दै आएको शहर डुलाउनाले मृतक (पितृ) लाई वृषोत्सर्ग गरेकै फल प्राप्त हुन्छ । छन्दोवाशिष्ठकै अनुसार भाद्रकृष्ण प्रतिपदाको दिन माटोको, कपडाको, काठको, धातुको वा कागजमा वा अन्य अवयवमा ‘वृषभ’ को चित्र बनाई विधि पु¥याई सो आकृति, मूर्ति, प्रतिकृति वा चित्रलाई आफू बसोबास गर्दै आएको सहर डुलाउँदा वृषोत्सर्ग गरेकै पुण्य प्राप्त भई मृतकले सद्गति प्राप्त गर्दछ । त्यसैले मृतक स्वजनको सद्गतिका लागि सबै सनातनीहरूले यो विधि सम्पादन गराउने ब्राह्मणलाई ‘गाई’ (गोदान) गरी वृषभको प्रतीकलाई पूजा गरी सगुण दिई आफू बसोबास गर्दै आएको सहर परिक्रमा गराई नदीमा प्रवाह गर्नु भन्ने शास्त्रीय वचनअनुसार सनातनीहरूले सम्पादन गर्दै आएको सर्वथा वाञ्छनीय छ । यसरी डुलाउँदै बाजागाजा, नाचगान र झाँकीसहित ‘घिन्ताङघिसि’ नाच र त्यसको वादन पक्ष अझ त्यसमा पनि ‘लालाखिँ’ को ताल अद्वितीय छ । ‘घिन्ताङघिसि’ नाचमा महादेव नृत्यमा, ब्रह्माजी तालमा, नारद ऋषि गायनमा र स्वयम् विष्णु वादनमा उपस्थित भई गरिने परिक्रमाले पूर्णता प्राप्त गर्दछ भनेर छन्दोवाशिष्ठ अंशमा भनिएको छ । यसरी ‘घिन्ताङघिसि’ नाच नाच्दा (रुद्र रूपमा) एक–एक पाइला चाल्दा प्रत्येक पाइलामा अश्वमेध यज्ञ गरेको फल प्राप्त हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । जस्तोः “ब्रह्मा विष्णुश्चः सर्वे देवासवा–सवा ।। नृत्यं मङ्गलकार्य तत्पुण्यन्तु सहस्रसः ।। तस्मात्तं पुण्य प्राप्त्यर्थं नृत्य मङ्गल कारकम् ।। पदे पदेश्वमेघस्य फलं प्राप्नौतिमानवः ।। नृत्यरूपी महारुद्र तालधारी च ब्रह्मा नारदो गायनं चैव विष्णुश्चैव सुवादक ।। तस्मात्वं नृत्यघोषेण रुद्रलोके महियते ।। ततोघोषादिना नगरं वा ग्रामं वा क्षेत्रं प्रदक्षिणं कारयेत् ।। देवालय वा नद्यादिनांप्रवाहयेत ।। त्यसैले “ताहामचा गन तय् ग्वाखंप्वालय् तय् । ग्वाखं प्वालय् मन्ह्यंसा चुपिंगालाये तय् । चुपिंगालय मन्ह्यंसा खुसिंगालय् तय् । खुसिंगालय् मन्ह्यंसा चुपिंपालाछ्वय् । गिनित्वाङ गिनित्वाङ घिन्ताङघिसि त्वाङ । (ताहामचा (बाँसको गाई प्रतीक) कहाँ राखौँ ख्वपामा राखौँ । ख्वपामा नअटाए चुपिंघाटमा राखौँ । चुपिंघाटमा पनि नअटाए खोलामा राखौँ । खोलामा पनि नअटाए चुपिले काटौँ ।) शास्त्र सम्मत छ ।
मृतक स्वजनका नाममा गाई पठाउने चलन भक्तपुर र काठमाडौँमा र तात्कालीन भक्तपुर अधिनस्थ सातग्राम प्रदेश (साँगा, बनेपा, पनौती, धुलिखेल, नाला, चोखात (चौकोट) र खँड्पु (श्रीखण्डपुर) मा रही अद्यापि चलिआएको छ । तर, पाटन (ललितपुर) मा भने अलि फरक ढङ्गबाट सम्पादित हुँदै आएको छ । भक्तपुर र काठमाडौँजस्तो गाई नपठाइकन मृतक स्वजनको नाममा कृष्ण पूजा गर्ने, राजोपाध्यायहरूको ललितपुरीय उपाकर्म गुठीले सञ्चालन गर्दै आएको नृसिंहजात्रामा नृसिंहको पूजा गर्ने चलन छ । राजनीतिक, आर्थिक र अन्य कारणले काठमाडौँ उपत्यकाबाट चार भञ्ज्याङ कटेर गएका र खेदिएका नेवारहरूले मोफसलका जिल्लाहरूमा बसोबास गर्दै आ–आफ्ना जिल्लाहरूमा यो पर्वलाई जीवन्तता दिँदै आएका छन् । मृतकका घरबाट सुनको टुटि भएको चाँदीको करुवाबाट मीठो पकाइएको दूध गाईलाई खुवाउने चलन छ काठमाडौँमा । काठमाडौँमा बच्चाहरूलाई वृषभको रूपमा सिंगारेर बोकी नगर परिक्रमा गराउने चलन छ । चतुर्मासभरी विभिन्न मन्दिर र चैत्यहरूमा पुगी स्वजन मृतकका नाममा दीप प्रज्ज्वलन गरी सोको उद्यापनको रूपमा ‘उपाकु वनेगु’ भनेर कार्तिक मासमा बत्ती बालेर निर्धारित क्षेत्र परिक्रमा गर्ने चलन पाइन्छ । तर, यो गाईजात्रासँग सम्बन्धित भने होइन । ललितपुरमा बज्रयानी परम्परालाई पछ्याउँदै आएका सनातनीहरूको बाक्लो उपस्थिति रहेको पाइन्छ । सनातनी धर्मअन्तर्गत शिवमार्गी र बौद्धमार्गी दुवै थरीले यो जात्रालाई मानिआएको देखिन्छ । बौद्धमार्गीले दैनिक दीप प्रज्ज्वलनमात्र गर्ने चलन छ । यसको ज्वलन्त उदाहरण पाटनको मत याः (दीपजात्रा) हो । यो जात्रा भाद्रकृष्ण द्वितीया अर्थात् गाईजात्राको भोलिपल्ट पाटनभरि हर्षोल्लासका साथ मनाइन्छ । बौद्धमार्गीले मृतकका आत्माको चिरशान्तिका लागि नमोबुद्ध, स्वयम्भू, बज्रयोगिनी, फर्पिङलगायतका चार बौद्धस्थलमा गई दीप प्रज्ज्वलन गर्ने चलन छ । विशेषगरी भक्तपुरमा शैवमार्गी नेवारहरू पनि ती चार बौद्धस्थलमा गई मृतक स्वजनका नाममा दीप प्रज्ज्वलन गर्ने गर्दछन् । शिवमार्गीहरूको पनि नाउँ चलेका मन्दिरहरूमा गई (पशुपति, धनेश्वर, भालेश्वर, गोखुरेश्वर (धुलिखेल), कुम्भेश्वरमा दीप प्रज्ज्वलन गर्ने चलन छ । वर्षभरि महादेवलाई अभिषेक गर्ने दैनिक पुरोहित निमन्त्रणा गर्न व्यवहारिक नहुने भएकोले आफैँले शिवलिङ्गमा जल–अक्षता चढाउने चलन छ । राजोपाध्याय समाजभित्र भने क्रियापुत्रीले वर्षभरि रुद्राभिषेक गर्ने चलन छ ।
जीवनसँगै मृत्यु पनि सुनिश्चित हुन्छ । यो सत्य थाहा हुँदा हुँदै स्वजनको मृत्यु पीडादायी हुन्छ । अझ एकभन्दा बढीको मृत्यु त अति पीडादायी हुन्छ । कसै कसैको घरमा मृत्युकै बास परेको जस्तै भएर एक्लो बाँकी भई सम्पूर्णको मृत्यु पनि भएको छ । त्यसरी एक्लो बाँकी हुने बालबालिका, महिला, पुरुष, वृद्धा, युवा जो कोही पनि हुनसक्छ । त्यसरी बाँकी हुनेको पनि मृत्यु भइदिँदा उनको सद्गति गरिदिने कोही हुँदैनन् । गाईजात्रामा उनको नाममा वृषभ यात्रा गराइदिने कोही हुँदैनन् । त्यसरी एक्लो व्यक्तिहरूमा बाल–बालिकाका नाममा तात्कालीन राज्य व्यवस्थाले नै छुट्टाछुट्टै स्थानबाट छुट्टछुट्टै गाई पठाउने चलन चलाइएको पाइन्छ । त्यसरी पठाइनेमा केटाकेटीका निम्ति नवदुर्गा द्यःछेँ (गछेँ भक्तपुर) बाट राति बा¥ह बजे उप्रान्त ‘फःपुइके’ भनेर झिसमिसेमा डोको सिँगारेर गाई पठाउने चलन रहेको इतिहास÷संस्कृतिका अन्वेषक विनोदराज शर्मा बताउनुहुन्छ । यसरी पठाइने बारे सोधखोज गर्दा पठाएको थाहा छैन भन्ने जवाफ पाइयो । ‘फःपुइके’ भन्ने शब्द भएबाट यसरी पठाउने हुनसक्ने भएकोले यसबारे ‘रिसर्च’ गर्नुपर्ने भन्ने लेखकलाई लागेको छ । एक्लै महिला मृत्यु भई सद्गत गरिदिने आफन्त कोही नभएकाहरूका लागि ‘याक मिसाया ताहा साँ’ (एक्ली महिलाको गाई प्रतीक) भनेर भैरवको प्रतीक गाई (पराले) परिक्रमा गराउँदा सबभन्दा पछाडि राखी परिक्रमा गराइन्छ । यसरी गाई परिक्रमा गराउने क्रम भद्रकालीबाट सुरु भई भैरवबाट अन्त्य हुन्छ । भद्रकालीको गाई भोर नहुँदै ल्याइन्छ । धेरैले यिनलाई भेट्टाउन सक्दैनन् । भैरवको प्रतीक पराले गाई परिक्रमा गराउँदा भक्तपुरको लाकोलाछेँ क्षेत्रभित्र बसोबास गर्ने मृतकको गाईसँगै परिक्रमा चलाउने चलन अद्यापि छ । यसरी परिक्रमा गराउँदा कमसेकम क्रियापुत्र भोको बस्नुपर्ने भन्ने मान्यता छ । अन्वेषक विनोदराज शर्माका अनुसार ‘ताहासाँ’ (बाँसबाट निर्मित गाई) मा बाँधिने सेतो कपडा तान्न राखिएको हुन्छ । मुक्ति दिलाउन बाधक तत्वलाई तातेर पन्छाउन यसलाई उपयोग गरिन्छ ।
पठाइने गाईको (वृषभको प्रतीक) प्रकार ः
विशेषगरी भक्तपुर भाद्रकृष्ण प्रतिपदाको दिन गाईजात्रा पर्वमय हुन्छ । गाईको प्रतीक र प्रतिकृति गरी पाँच भेद पाइन्छन् ः
१) डोको सजाई (बच्चा बच्ची मर्दा)
२) ताहामचा – बाँसबाट निर्मित (वयस्क÷वृद्ध÷वृद्धा)
३) सजीव गाई सिङ्गारेर
४) ढुङ्गा, माटो वा धातु (पित्तल÷तामा) को मूर्ति
५) ‘बासा लुइके’ (मानिस नै गाईको प्रतीक बनाइएको, परालको एकजोडी सिङ पनि राखेर)
यसरी घर–घरबाट मृतक स्वजनका नाममा गाई पठाइन्छ । तर, एकै घरमा एकै वर्षमा एकभन्दा बढी स्वजनहरूको मृत्यु भएमा मृतकमध्ये सबभन्दा जेठोको सबभन्दा माथि राखी क्रमशः कनिष्ठसम्मको गाई एउटै बनाएर पठाइन्छ । तर, कतिजना हो भनेर छुट्याउन क्रमशः तलतिर झर्दै परालबाट निर्मित गाईको सिङ प्रतीक राखिन्छ र लिङ्गअनुसार कपडा बेरी सिङ्गारिन्छ । वयस्क र बाल बच्चा मरेको रहेछ भने ‘ताहासाँ’ बनाउँदा बोक्ने ठाउँको ठीक माथि एक जोडा पराले सिङ राखिन्छ । यस्तो दृश्य २०७२ सालको भूकम्पपछिको गाईजात्रामा देख्न पाइएको थियो ।
गाईजात्रा प्रदक्षिणा मार्ग (रुट) ः
गाईजात्रामा प्रदक्षिणा गरिने मार्गलाई ‘साँलाँ’ भनिन्छ । सोही मार्गमा पर्ने गणेश भएकोले (तचपाल, नवदुर्गा मन्दिर जाने बाटोमा रहेको) सो गणेशलाई ‘साँला गणेश भनिन्छ । गाईजात्रामा घिन्ताङघिसि नाचको पूर्वाङ्गको रूपमा भक्तपुर दरबार स्क्वायरबाट साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन राज्यबाट प्रदक्षिणा गराइन्छ । मार्ग अभ्यासमा यसप्रकार रहेको पाइन्छ । भक्तपुर दरबार स्क्वायर – बालाखु गणेश – तुलाछेँ (त्रिपुरसुन्दरी) – चोछेँ – तुछिमला – भोलाछेँ – महालक्ष्मी– (थालाछेँ) – बालकुमारी – साँलाँ गणेश – क्वाथन्दो – नवदुर्गास्थान – गःछेँ – चोफल – सूर्यमारी – दत्तात्रय – इनाचो – गोल्मढी – सुकुलढोका – टौमढी – बुल्चा – तालाक्व – नासमना – वंशगोपाल – तेखापुखु – इताछेँ – खौमा – पुनः दरबार स्क्वायर । पहिले बालाखु गणेशबाट यालाछेँ हुँदै चोछेँ भएर जाने ‘रुट’ थियो । पछि हालको अरनिको सभाभवनअगाडि हाडाको घरबारीमा कुलक्ष्मी स्थापना गरिएपछि बालाखु गणेश यालाछेँ – चोछेँ भई प्रदक्षिणा गर्दा उक्त कुलक्ष्मी दायाँ पर्ने भएर बालाखु गणेश – अरनिको सभा भवन – तुलाछेँ – चोछेँको हालको मार्ग चलनमा रहेको र बुल्चा – तालाक्व – नासमना – मार्ग पहिले – बुल्चा – नासमना – वंशगोपाल भई जाने रहेको र तालाक्वका बासिन्दाले पनि प्रत्यक्षरूपमा हेर्न पाऊन् भनेर मार्ग फेरेको बताउनुहुन्छ अन्वेषक विनोदराज शर्मा ।
नौ को संयोग
श्रावण शुक्ल पूर्णिमा भनेको चन्द्रमानअनुसार नवौँ पूर्णिमामा पर्छ । पहिलो पूर्णिमा पहिलो महिना मंसिरको पूर्णिमा धान्यपूर्णिमा पर्छ । त्यसैले ‘गुँगूगु पुन्हि’ नै ‘गुन्हिपुन्हि’ हो । गुन्हिपुन्हिको दिन भक्तपुरका नेवारहरू पूर्व फर्केका नौ वटा ढुङ्गेधाराहरूमा मुख धुने गर्दछन् । ती धाराहरूमा दत्तात्रयको (भिन्द्यो हिति) भीमसेन मन्दिर पछाडिको ढुङ्गेधारा, सुकुलढोकाको बुलबुल हिटी, विद्यापीठ आगम चोकस्थित पीद्यापीठ हिटी, भैरव भवनभित्रको हिटी, नासमना सडक जोडिएकै हिटी, भार्वाचो गणेश मन्दिरभन्दा दक्षिणतिरको हिटी र सूर्यविनायक सैनिक ब्यारेक नजिकको तीनधारा गरी नौ वटा हिटी रहेका छन् । हाल तीनधाराको नजिक वनस्पति तथा प्राणी उद्यानको कार्यालय निर्माण भइरहेको छ । त्योभन्दा पनि तीनधाराकै पछाडि पश्चिमतिर शौचालय र सेफ्टिट्याङ्क बनाइसकेको छ र त्यहाँको पानीलाई अन्यत्र मोडेको स्थानीयहरू बताउँछन् । सम्पदासँग संस्कृति पनि जोडिने हुनाले यसप्रति सजग हुनु अत्यन्त जरूरी छ । नौ धारामा मुख धोई नौ जोर लुगा फेरी नौ पटक ग्राम÷सहर÷क्षेत्र परिक्रमा गरी ऊर्जा प्राप्तिका लागि नौ थरी गेडागुडीको रस पिउने चलन चलिआएको छ भने सो दिन फेरिने जनै पनि नौ सूत्रकै हुन्छ ।
ऐतिहासिक पक्ष ः
विविध कारणले गाई पठाउन नसक्नेले गाईलाई खुवाई भैरवको गाई दर्शनमात्रले पनि सद्गत हुन्छ भन्ने मान्यता रहेको यो जात्रा कान्तिपुरका अन्तिम मल्ल राजा प्रताप मल्लले आफ्नो पत्नीलाई पुत्र वियोगबाट शान्त गर्न चलाएको भन्ने भनाइ उल्लेख छ । वर्तमान पुस्ताले पनि त्यही घोकेर आएको र घोकाँइदै पनि छ । नेपाल–मण्डलको राजधानी भक्तपुर छँदा गाईजात्रा प्रचलनमा थिएन भन्दा जोकोही पनि पत्याउन गा¥हो मान्छ । भक्तपुर–काठमाडौँ–पाटन राज्यहरू एवम् आपसमा नमिलेको अवस्थामा कान्तिपुरका मल्ल राजाको आदेश भक्तपुरले मान्यो भन्ने विषयमा पनि विश्वास गर्ने आधार देख्दिन । “तिम्रामात्र छोरा मरेका हुन् ? दुनियाँका छोरा–छोरी मरेका छन् । ल नपत्याए हेर” भनेर शोक मानेर खोपीभित्र बसेको रानीलाई बाहिर ल्याई देखाएको प्रसङ्गलाई प्रताप मल्लले नै चलाएको भनेर प्रशस्ती चलाएको हुनसक्छ । अर्को कुरा नेपालमण्डलकै राजधानी भक्तपुर छँदा जयस्थिति मल्लले एक वर्षसम्म आफ्नो राज्यभित्र दिवङ्गत भएकाहरूको लगत लिन (पञ्जीकरण गर्न) आदेश जारी गरेको उनका सुधारहरूमा पाउन सक्छौँ । त्यसैले प्रताप मल्लले गाईजात्रा पर्व चलाए भन्ने विषयमा कुनै दम छैन । यस विषयमा ‘रिसर्च’ हुन आवश्यक छ ।
संसार अहिले कोरोनामय भएको छ । नेपाल सरकारले लकडाउन खुकुलो बनाएको र सार्वजनिक यातायात खोलेको अवस्था छ । काठमाडौँ उपत्यकामा पुनः मोफसलबाट आवतजावत बढिरहेको अवस्थासँगै काठमाडौँमा कोभिड– १९ को सङ्क्रमण पनि बढिरहेको सरकारी तथ्याङ्कले देखाइरहेको छ । अहिलेको अवस्थामा आफूबाहेक सबै कोरोना सङ्क्रमित छ भनेर बुझी सतर्कता अपनाउनु जरुरी छ । यस्तो महत्वपूर्ण गरिमा बोकेको पर्वलाई धार्मिक र सांस्कृतिकरूपमा सीमित गरी मनाऔँ । जसरी भैरव नाथको रथयात्रालाई औपचारिकता सकायौँ त्यसरी नै गाईजात्रामा भैरवको पराले गाईलाई पनि अत्यन्त औपचारिकतामा मात्र सीमित गरी सम्पन्न गर्नु बुद्धिमानी हुनेछ ।
सन्दर्भ स्रोत ः सिद्धाश्रम पत्रिका, २०६७, भदौ अङ्क, इतिहास । संस्कृति अन्वेषक श्री विनोदराज शर्मासँगको कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *