भर्खरै :

निर्देशिकाअनुसार कोरोना परीक्षण कहिले ?

सुरूमा भारतसित सिमाना जोडिएका जिल्लाहरूमा बढी देखिएको नयाँ कोरोना भाइरसको सङ्क्रमण अब देशव्यापी बनेको अनुमान छ । केन्द्रीय राजधानी रहेको काठमाडौँ उपत्यका पनि महामारीको जोखिमबाट टाढा रहेन । उपत्यकाका तीन जिल्लामा अहिले कोरोना सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या सानो देखिए पनि यो नै सङ्क्रमणको यथार्थ हुन नसक्ने धेरैको आशङ्का छ । परीक्षण नभएर वा व्यवस्थापन राम्रो भएर सङ्क्रमितको सङ्ख्या कम भएको हो कि ? यो प्रश्न अहिलेसम्म निरूत्तरित नै छ । तर, पछिल्लो समय सङ्क्रमितको सङ्ख्या उपत्यकामा दिनानुदिन बढिरहेको वास्तविकतालाई बेवास्ता गर्न मिल्दैन । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूमा यसको चिन्ता देखिएको छ ।
काठमाडौँ उपत्यकामा कोरोना बढ्नुमा बाहिरबाट आउने क्रम नरोकिनु नै प्रमुख कारण भएको स्थानीय तहका जनप्रतिनिधिहरूको दाबी छ । आफूहरू कोरोना रोकथामको सन्दर्भमा अति संवेदनशील भएर लागिपरेको उनीहरू बताउँछन् । काठमाडौँ उपत्यकाभित्र बाहिरी जिल्लाबाट उपत्यका छिर्ने नाकाहरूमा कडाइ गरिनुपर्नेमा जोड दिएका छन् । अत्यावश्यक कामले उपत्यकामा आउनेहरूलाई समेत कोरोनाको पीसीआर परीक्षण गरी नेगेटिभ पुष्टि भएपछि मात्र प्रवेश दिनुपर्ने आवाज पनि उठिरहेको छ ।
नेपाल सरकारले कोरोना परीक्षणसम्बन्धी निर्देशिका नयाँ परिस्थितिअनुसार संशोधन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार १० अवस्थाका व्यक्तिले कोरोना परीक्षण गराउनुपर्नेछ । कोभिड–१९ को लक्षण (ज्वरो, खोकी, सास फेर्न गा¥हो, स्वाद तथा गन्ध थाहा नपाउने, झाडापखाला) लगायत समस्या देखिएका सबै बिरामी, कोभिड–१९ सङ्क्रमितको सम्पर्कमा रहेका सबै व्यक्ति, श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या (एसएआरआई) भएका व्यक्ति, विदेश (स्थल तथा हवाई मार्ग) बाट आई ५ देखि ७ दिनसम्म बसेका सबै, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी, १४ दिनयता कोरोना सङ्क्रमण फैलिएको क्षेत्रबाट फर्किएका व्यक्तिहरू, कुनै पनि अस्पतालको आईसीयूमा रहेका जुनसुकै बिरामी, दीर्घरोगी, प्रतिरोधात्मक क्षमता कमजोर भएका (विशेषगरी ६० वर्ष कटेका) व्यक्ति, चिकित्सकको मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामी र चिकित्सकको मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका बिरामीहरू अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने कोटामा पर्न आउँछन् । तर आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने पीसीआर परीक्षणको नतिजा कुर्न नपर्ने स्पष्ट पारिएको छ । त्यस्तै कोरोनाका बिरामीलाई डिस्चार्ज गर्दा पुनः पीसीआर परीक्षण गर्नुपर्नेछ । लक्षण नभएका तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न सकिनेछ । तर कम्तीमा तीन दिन लक्षण हटिसकेको हुनुपर्नेछ ।
विडम्बना ¤ निर्देशिकाको उक्त व्यवस्था विनासमस्या लागू भइरहेको छैन । एकातिर गम्भीर अवस्थाका बिरामीहरूको पीसीआर परीक्षणको नतिजा मागेर हैरान पार्ने काम भइरहेको छ । त्यस क्रममा कुनै अस्पतालमा पनि उपचार नपाएर बिरामीको मृत्यु भएका खबर पनि आइरहेका छन् । अर्कोतिर अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू तथा कोरोना सङ्क्रमण फैलिएको क्षेत्रबाट फर्किएका व्यक्तिहरूको पीसीआर परीक्षण नभएको र स्वाब सङ्कलन हुँदा पनि त्यसको नतिजा समयमै नआएका दाबी पनि बाहिरिरहेका छन् । यसले कोरोना सङ्क्रमण नियन्त्रणमा भन्दा सङ्क्रमण बढाउनमा सघाउ पुगिरहेको छ । बाध्यतावश काठमाडौँ उपत्यका प्रवेश गरिरहेका सर्वसाधारणको परीक्षण त आकलझुकलमात्र भइरहेको छ । ती परीक्षणहरूमा पनि सोचेभन्दा धेरैको कोरोना पोजेटिभ देखिरहेका छन् । यसले अझै केही हप्ता उपत्यका र एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा कडाइ र प्रवेशै दिनुपरे अनिवार्य पीसीआर परीक्षण र क्वारेन्टिनको अनिवार्य आवश्यकता देखाएको छ । निर्देशिकाअनुसार कोरोना परीक्षण कहिले ? रहरले वा आधारहीन डरका आधारमा परीक्षण गर्नेभन्दा निर्देशिकाअनुसार परीक्षण गरिएमात्र राज्यको स्रोतसाधनको सही सदुपयोग हुनेछ र भाइरस सङ्क्रमण नियन्त्रणमा सहायता मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *