‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १ भदौ । शनिबार कोभिड–१९ सङ्क्रमित पुष्टि भएका भक्तपुर जिल्लाका १२ जनामध्ये दुई जना श्रीमान–श्रीमती रहेको खुलेको छ । उनीहरू सूर्यविनायक नपा वडा नं २ बालकोट निवासी भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ । त्यस्तै सूर्यविनायक नपा वडा नं ४ दधिकोटका एक जना महिलामा पनि कोरोना पुष्टि भएको छ । आइतबार सूर्यविनायक नपा वडा नं २ बालकोटमा थप तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये २३ वर्षकी महिला, ३० वर्षका पुरूष र र २६ वर्षकी महिला रहेको बताइएको छ ।
भक्तपुर नगरपालिका वडा नं. ५ निवासी एक जना महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर थिमिका सफाई कर्मचारी भएको बताइएको छ । उनी हाल अस्पतालका अन्य सङ्क्रमित स्वास्थ्यकर्मी र कर्मचारीहरूसँगै आइसोलेसनमा छन् । आइतबारको तथ्याङ्कअनुसार भक्तपुर नपा वडा नं ४ सूर्यविनायक (अरनिको राजमार्गबाट उत्तर) का एक जना ४७ वर्षकी महिलामा पनि कोरोना सङ्क्रमण भएको छ । उनी हाल हेम्स अस्पतालमा उपचाररत छिन् ।
जगातीस्थित कवाडी पसलमा काम गर्ने एक जना मजदुरलाई पनि सङ्क्रमण भएको छ । उनी केही दिनअघिसम्म जगातीमा बस्दै आएका थिए । घरबेटीले उनलाई कोठा छोड्न दबाब दिएपछि उनी च्याम्हासिंहस्थित अर्को कवाडी पसलमा बस्दै आएका छन् । प्राप्त तथ्याङ्कमा सूर्यविनायक भनी उल्लेखित २९ वर्षकी महिला भने सूर्यविनायक नपा निवासी भएको खुलेको छ ।
मध्यपुर थिमि नपाको गठ्ठाघर, लोकन्थली र सानो ठिमीका एक–एक जना पुरूषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । मध्यपुर नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालकै एक जना नर्स र एक जना महिला सफाई मजदुरमा पनि आइतबार कोभिड–१९ भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसअघि सो अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीसहित चार जनामा सङ्क्रमण पुष्टि भएको थियो । आइतबार प्राप्त तथ्याङ्कअनुसार चाँगुनारायण नपाका एक जना पुरूषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यसबाहेक भक्तपुर ठेगाना उल्लेख भएका एक महिला र तीन पुरूष पनि कोरोना सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । उनीहरूमध्ये ४३, २६, ४६ र ३६ वर्षका पुरूष रहेको बताइएको छ ।
उपत्यकामा सङ्क्रमित दुई हजार
कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन् ।
उहाँका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् । यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन् ।
यस्तै २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् । सोमबारमात्र उपत्यकामा १६८ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।
उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा २७ हजार २४१ सङ्क्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६३९ सक्रिय सङ्क्रमित रहेका छन् ।
Leave a Reply