‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
काठमाडौँ, ७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको नोबेल कोरोना भाइरस सङ्क्रमितको तथ्याङ्कअनुसार भक्तपुर जिल्लामा थप २८ जना सङ्क्रमित फेला परेको छ । सङ्क्रमितमध्ये १४ जना सूर्यविनायक नपा, १ जना मध्यपुर थिमि र ३ जना भक्तपुर नपाको रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । दस जनाको भने अझै स्पष्ट विवरण प्राप्त भइनसकेको उहाँले बताउनुभयो ।
सूर्यविनायक नपाअन्तर्गत आइतबार सङ्क्रमण पुष्टि भएकामध्ये ६ जना सूर्यविनायक नपा वडा नं ६ पाण्डुबजारका बासिन्दा हुन् । उनीहरूमध्ये पाँच जना एकै परिवारको भएको खुलेको छ । उनीहरू भक्तपुर नपा वडा नं ४ बाट हाल पाण्डुबजारमा बस्दै आएका हुन् । यसअघि सोही परिवारका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । त्यस्तै सूर्यविनायक नपा बालकोटका एक जना २२ वर्षको व्यक्तिमा पनि कोभिड–१९ पुष्टि भएको छ । सूर्यविनायक नपा वडा नं ५ का १ जना, सल्लाघारीका ३ जना र सूर्यविनायक नपा उल्लेख भई वडा उल्लेख नभएका ३ जनामा सङ्क्रमण फेला परेको छ ।
प्राप्त वितरणअनुसार मध्यपुर थिमि नपा ठेगाना उल्लेख भएका एक जना पनि भाइरस सङ्क्रमित भएका छन् ।
भक्तपुर नपा ठेगाना भएका ३ जना सङ्क्रमितमध्ये एक जना बाराही स्थानका ३७ वर्षकी महिला भएको खुलेको छ । उनको परिवारमा पहिले पनि एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै भक्तपुर ठेगाना भई हाल सूर्यविनायक नपामा बसोबास गर्दै आएका १९ वर्षका पुरुष पनि कोभिड–१९ सङ्क्रमित भएको पुष्टि भएको छ । बाँकी एक जनाको भने भक्तपुर ठेगानामात्र उल्लेख रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
१४ जनामध्ये दुई जनाको भने दोस्रो पटक पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ आएको बताइएको छ ।
यसैबीच आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत हाल जारी निषेधाज्ञाबारे थप केही प्रस्ट पारेको छ । सूचनामा अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्बाध खुला राखिने उल्लेख छ । त्यस्तै अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल÷तरकारी, माछा मासु आदिका पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न सकिने बताइएको छ ।
देशभर ८१८ नयाँ सङ्क्रमित, तीनको मृत्यु
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ जनामा गरेको पीसीआर परीक्षणबाट ८१८ नयाँ सङ्क्रमित देखिएका हुन् । उनीहरूमध्ये २२० महिला र ५९८ पुरुष छन् । हालसम्म ६ लाख चार हजार ४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ६३१ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार ४१४ जना रहेका छन् ।
थप तीनको मृत्यु
कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षीय एक पुरुष, पर्साको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिनुभयो । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ । यो मृत्युदर शून्य दशमलव ४७ प्रतिशत हो ।
अहिले होम आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ४९७ रहेको छ । आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार ७२४ रहेको छ । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा १३ हजार १५५ रहेको छ । संस्थागत आइसोलेसनमा नौ हजार २१२ जना रहेका छन् । होम आइसोलेसनमा तीन हजार ९४३ जना छन् । आईसीयूमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् ।
पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कभ्यालेसन प्लाज्मा थेरापी सुरु गरेको जानकारी गराउनुभयो । उहाँका अनुसार हालसम्म देशभरका १५ अस्पतालमा यसको अनुसन्धान सुरु गरिएको छ । ती अस्पतालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नारायणी अस्पताल, काठमाडौँ विश्वविद्यालय चिकित्सा विज्ञान कलेज, भरतपुर अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, भेरी प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, ग्रान्डी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी बल अस्पताल रहेका छन् ।
Leave a Reply