भर्खरै :

कम्युनिस्ट पार्टी सत्ता राजनीतिमा भुल्न नहुने

सामन्तवादी र पुँजीवादी व्यवस्थामा नैतिकता, चरित्र, इमानदारिता, सत्य र न्यायको ख्याल गरिँदैन । आफ्नो सत्ता र स्वार्थ पूरा गर्न सामन्त र पुँजीपतिहरू अनेक षड्यन्त्रका जालो बुन्छन्, जनता जुधाउँछन् र सत्ताको आयु बढाउँछन् । न्याय, समानता र बहुमत जनताको सेवामा तिनीहरू जुट्दैनन् । तिनीहरू पद र पैसामा भुल्ने हुँदा आफू–आफू भनाभन गर्छन् । एकातिर उनीहरू पद र पैसाको राजनीतिमा भुल्छन् भने अर्काेतिर षड्यन्त्रको जालो बुनेर विपक्षी दलका नेता कार्यकर्तालाई फसाउँछन्, मुद्दा राख्छन्, जेलमा कोच्छन् । यो सामन्त र पुँजीपतिहरूको स्वार्थ हो । यस्ता स्वार्थ पूरा गर्न उनीहरू जहिल्यै जुटिरहेका हुन्छन् ।
अरूलाई जुधाउने, फुटाउने, आफ्नो सत्ता टिकाउने र लम्ब्याउने काम सच्चा राजनीति होइन । यस्तै गलत राजनीतिले गर्दा नै आज विश्वमा राजतन्त्र र पुँजीवादको बदनाम हुँदै छ । जनताले राजतन्त्र र पुँजीवादको विरोध गर्दै छन् । विश्वमा कम्युनिस्ट र वामपन्थीहरूको लहर फैलिँदै छ । जनता कम्युनिस्टको सिद्धान्त र विचारलाई आत्मसात गर्दै छन् । यो सकारात्मक पक्ष हो । तर, आफूलाई कम्युनिस्ट भनिने ठूला दल र दलका नेताहरू कम्युनिस्टको चरित्र र मान्यता छोडेर सत्तामुखी राजनीतिमा भुलिरहेका छन् । सिद्धान्त र विचारभन्दा सत्ता राजनीति अर्थात् पद, पैसा र भागबन्डामा केन्द्रित हुँदा जसरी कम्युनिस्ट आन्दोलन अघि बढ्नुपर्ने हो, कम्युनिस्ट पार्टीले जति जनताको विश्वास जित्नुपर्ने हो, त्यो विश्वास दिलाउन सकेको छैन । अन्य मुलुकमा कम्युनिस्ट पार्टीप्रति विश्वास र प्रभाव बढिरहेको बेला नेपालमा भने शासक दलहरू त्यसको विपरीत बाटोमा हिँडिरहेका छन्, कम्युनिस्ट सिद्धान्त र विचारको तोडमरोड गरी पुँजीवादी राजनीति गरिरहेका छन् । यो दुःखद विषय हो ।
सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार अघि बढ्नुपर्छ, तद्नुसारको राजनीति गर्नुपर्छ । कम्युनिस्ट पार्टी सत्ता राजनीतिमा भुल्नु हुँदैन, पद, पैसा र भागबन्डामा त झनै भुल्नु हुँदैन । कम्युनिस्टहरू बहुमत जनताको पक्षमा राजनीति गर्छन् । भ्रष्टाचार, कमिसन र कालाबजारी र अनियमितताको विरोध गर्छन् । उनीहरू पदअनुसारको आचरण र व्यवहार गर्छन् । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउँदैनन् । देशघाती र जनघाती काम गर्दैनन् । एकथरी सिद्धान्त र अर्काे थरी व्यवहार गर्दैनन्, जनतालाई धोका दिँदैनन्, सच्चा राजनीति गर्ने दल र दलका नेताहरू सधैँ देश र जनताको सेवामा जुट्छन् । यो नै कम्युनिस्ट पार्टीको काम हो, जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्न नेता तथा कार्यकर्ताहरू निरन्तर जुट्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *