भर्खरै :

कामको खोजीमा नेपाली भारत पस्न थाले !

काठमाडौँ उपत्यकामा दुई हप्तापछि भदौ १८ गतेदेखि निषेधाज्ञा केही खुकुलो गरिएको छ । निषेधाज्ञामात्र अचुक उत्तम होइन । यो सत्य हो । नेपालको भारतसँग खुला सीमा नै नेपालमा सङ्क्रमण बढ्नुको मुख्य कारण हो । भारतसँगको खुला सीमा यथावत राखेर काठमाडौँ उपत्यकामा निषेधाज्ञा, परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेसनको व्यवस्था गरिए पनि सङ्क्रमण घट्दैन ।
गृह मन्त्रालयले निर्माण सामग्री बोक्ने सवारी साधनलाई दिउँसै उपत्यकामा गुड्न अनुमति दिएको छ । तर, दैनिक मजदुरी गरेर गुजारा चलाउने मानिसलाई भने निषेधाज्ञाको नाममा घरभित्रै राखिएको छ । त्यस्तै निर्माण सामग्री बोकेका सवारी साधनलाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । सामान्य अवस्थामा पनि निर्माण सामग्री बोक्ने ट्रक, टिपरलाई दिउँसो गुड्न दिइएको थिएन । अहिले किन गुड्न दिइयो ? के सरकार माफियाको चङ्गुलमा फसेको होइन ?
कामदारलाई उद्योगभित्रै क्वारेन्टिन बनाई सञ्चालन गर्न दिने भनिए पनि भक्तपुर औद्योगिक क्षेत्रमा यो प्रावधान कार्यान्वयन भएको छैन । स्थानीय प्रहरीले निषेधाज्ञाको बेला मास्क नलगाई निस्कनेलाई एक सय रुपयौँसम्म जरिवाना ग¥यो । तर, भक्तपुर औद्योगिक क्षेत्रमा क्वारेन्टिनविना सञ्चालन भएको टेक्स्टायल उद्योगहरूमाथि प्रहरी प्रशासनको कुनै अनुगमन र निगरानी छैन ।
सरकारले लकडाउन र निषेधाज्ञालाई केटाकेटीको खेल बनायो । काठमाडौँ उपत्यकाभित्र आउजाउ रोकिएको भए अहिलेको निषेधाज्ञा आवश्यक हुने थिएन, अघिल्लो लकडाउन नै पर्याप्त हुने थियो । सरकारको चालामालाअनुसार अब एक महिना जति खुकुलो गर्ने र फेरि कडा गर्ने नीति देखिन्छ । कोभिड – १९ रोकथामको लागि सरकारले चीन, प्रजग कोरिया र क्युवाबाट सिक्नु आवश्यक छ ।
नेपालमा गुजारा नचलेपछि पश्चिम नेपालका युवाहरू पुनः भारततर्फ लाग्दै छन् । कर्णालीका विभिन्न जिल्लासँगै बाँके, बर्दिया, कैलाली र सुदूरपश्चिम पहाडी जिल्लाका युवाहरू दिनहुँ सयौँको सङ्ख्यामा भारततर्फ स्याउ टिप्न गइरहेका छन् । गौरीफान्टा नाकाबाट मात्र एक सातामा १३०५ जना नेपाली भारतमा कामको खोजीमा लागे । नेपाली कामदारलाई भारततर्फ लान सीमानाकाबाट सीमामा पु¥याउने भारतीय एजेन्ट नै व्यवस्था गरिएको छ । अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको सङ्ख्या बढ्दो छ ।
कोभिड– १९ को डरले गत वैशाख – जेठमा नेपाल फर्केका युवाहरू अहिले भारततिर काम खोज्न जानुप¥यो । त्यसरी भारत हिँडेका नेपाली युवाहरू भन्छन्, “नेपालमा के खाने ? काम केही छैन, मरे उतै मरौँला । नेपाल सरकारले नेपाली युवाहरूलाई फेरि भारत पठाउने र ३–४ महिनापछि नेपाल फिर्ता गराउने भए नेपालमा कोभिड–१९ सङ्क्रमण रोकिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *