के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
तस्वीर साभारः नेपाली टाइम्स
कैलालीको गौरीफाँटा नाका हुँदै भारतको सिम्लातिर जान लागेका नेपालीहरूले सञ्चारकर्मीहरूलाई भने, “रोगले भन्दा भोकले मर्ने चिन्ता भयो, त्यसैले काम गर्न भारत जान लागेको हो, ‘नेपालमा रोजगारी छैन । सरकार रोजगारी दिनसक्दैन । रोजगारी पाए आफ्नो देश छोडेर जान कसको हुँदो हो ! महामारीको बेलामा भारत गएर पनि सजिलो नहुने कुरा थाहा छ । के गर्नु, मर्ने भए यहीँ पनि मरिन्छ, उहीँ पनि मरिन्छ । त्यहाँ गए कम्तीमा भोकै मरिन्न ।” कोरोना भाइरस महामारी नियन्त्रणको लागि नेपाल र भारत सरकारले झन्डै ६ महिनाअघि लकडाउन गर्दा आफ्नो मातृभूमि पस्न रातदिन पैदल हिँडेर आएका पाइलाहरू अहिले फेरि भारततिर फर्किरहेका छन् । भारतको सिम्लामा स्याउ टिप्ने काम पाउने आशामा दैनिक सयौँको सङ्ख्यामा मानिसहरू दक्षिण झरिरहेका छन् । उनीहरूको मनमा यतिबेला कोरोनाको सङ्क्रमणभन्दा सिम्लामा स्याउ टिप्ने काम नपाइला भन्ने पिर छ ।
विडम्बना ¤ यति नै बेला नेपालको जुम्ला जिल्लामा स्याउको मूल्य नपाएको भन्दै किसानहरूले गुनासो गरिरहेका समाचार आइरहेका छन् । सिम्लाजस्तै नेपालको जुम्ला र कालीकोट जिल्ला स्याउको राम्रो खेती हुने जिल्ला हुन् । बजार व्यवस्थापन नहुँदा जुम्लाको स्याउ अझै पनि बारीमै सखाप हुने चोला फेरिएको छैन । देशको राजनीतिक व्यवस्था र सरकारहरू धेरै फेरिए । तर, सिम्ला जाने पाइला जुम्ला र कालीकोटमा स्याउ टिप्न मोडिने दिन भने अझै आएको छैन ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता आधा वर्ष भारतमा रोजगारीको लागि जाने एक प्रकारको परम्पराजस्तै बनेको छ । सो क्षेत्रको भौगोलिक विकटता, आर्थिक गतिविधिको न्यूनता, कृषि तथा उद्योगको पछौटेपनाको कारण बाध्य भएर मानिसहरू भारतका विभिन्न ठूला सहरमा रोजगारी र अर्थोपार्जनको लागि जाने गर्छन् । यसरी बाध्यतावस भारतमा जाने नेपालीहरू तत्कालीन बेलायती शासक र अहिलेका भारतीय शासकको निम्ति सस्तो कामदार बन्ने गरेका छन् । केही महिना काम गर्ने भएकाले नेपालीहरूलाई भारतकै श्रमिक ऐनअनुसार पाउनुपर्ने सुविधा पनि भारतीय पुँजीपति वर्गले दिनुपर्दैन । उनीहरू अनौपचारिक क्षेत्रका सस्ता ज्यामीका रूपमा दयनीय अवस्थामा श्रम गर्छन् । उनीहरूका सामाजिक हितप्रति भारत सरकार कहिल्यै पनि उत्तरदायी हुनुपर्दैन ।
आजसम्मका शासक दलहरू भारतीय गल्ली र बजारमा यसरी लाखौँ नेपालीहरूले भोगिरहेको दुःखको समाधानको निम्ति किमार्थ गम्भीर बनेनन् । ती नेपालीहरूको दुःखको समाधान भनेको नेपालमै रोजगारी सुनिश्चित गर्नु हो । कोही पनि नेपालीलाई भारतमा कामको लागि जान नपर्ने अवस्था बनाउन सक्दा नै देश आत्मनिर्भरताको बाटोमा अघि बढ्न सक्छ । नेपालमै सम्भव भएका साना–ठूला उद्योग, कलकारखाना र कृषिको आधुनिकीकरण गर्दा जनता ६ महिना कामको लागि भारत झर्नुपर्ने अवस्था रहँदैन । सिम्लामा भारतीय साहुको स्याउ टिप्ने हातहरूले नेपालकै पहाड र कन्दरामा स्याउ टिप्दै गरेको दिन देश विकासको गतिमा अघि बढेको मान्न सकिनेछ ।
महामारीबाट जोगिन आफ्नै सरकारको ओत लाग्न आएका नेपालीहरू नेपाल सरकारले भोकको आगो समन गर्न नसक्ने देखेपछि महामारीको जोखिमलाई बेवास्ता गरेर उतै लागेका छन् । नेपाल सरकारले उनीहरूलाई रोगबाट जोगाउने विश्वास त दिन सकेको छैन नै । साथै भोकबाट पनि जोगाउने सुनिश्चित गर्न सकेन । दैनिक ज्यालादारीमा जीविकोपार्जन गरिरहेका श्रमिक जनताको लागि ६–६ महिना घरमा हात बाँधेर बस्न सम्भव हुँदैन । महिनौँ ढुक्कसँग जीविकोपार्जन र परिवार पाल्न उनीहरूका बैड्ढ खाता हुँदैन । त्यसकारण उनीहरू आफ्नो र परिवारको भोक र रक्षाको लागि फेरि भारततिर जान बाध्य छन् । नेपाल सरकारलाई उनीहरूको लस्करले लज्जाबोध हुनुपर्ने होइन र !
Leave a Reply