भर्खरै :

प्रयोगशाला रिपोर्टमा विलम्ब र खेँलाची नगरौँ

 

 

पीसीआर रिपोर्टको विलम्ब नोबेल कोरोना भाइरसको महामारी नियन्त्रणमा व्यावधान बनेको छ । बिरामीको निधन भइसक्दा समेत पीसीआर रिपोर्ट नआएको र पछि पोजेटिभ रिपोर्ट आउँदा सङ्क्रमण र सङ्क्रमणको त्रास समुदायमा अझै फैलिएको छ । पीसीआर परीक्षणको लागि स्वाब दिएको रिपोर्ट आउन विलम्ब हुँदा स्वाबको नमुना दिएका व्यक्तिहरू घरभित्रै अलग आइसोलेसनमा नबसी घरबाहिर जाने, अन्य व्यक्तिको सम्पर्कमा जाँदा सङ्क्रमणको दर अझ बढिरहेको छ । यसरी रिपोर्ट आउन ढिला हुँदा स्वाब दिएको व्यक्ति र परिवारलाई समेत तनाव हुने गरेको छ ।
काठमाडौँ उपत्यकामा स्वाब सङ्कलन पछि एसएमएसमार्फत् रिपोर्ट पठाउने गरेको छ । यसरी प्राप्त रिपोर्टमध्ये कतिपयको रिपोर्टमा निगेटिभ उल्लेख भए पनि खास परिणाम पोजेटिभ हुँदा सर्वसाधारणलाई अझ अन्योल र मर्कामा पारेको छ । रिपोर्ट निगेटिभ आएको भनी यताउता हिँडेको व्यक्तिको पछि पोजिटिभ रिपोर्ट आउँदा अरू थप मानिसलाई सङ्क्रमण फैलिएको पाइएको छ । रिपोर्टमा निगेटिभ आइसकेको व्यक्तिमा पछि सङ्क्रमणका लक्षणहरू पनि फेला परेको छ ।
आधुनिक चिकित्साशास्त्रमा प्रयोगशाला रिपोर्टको महत्वपूर्ण भूमिका हुने गरेको छ । प्रयोगशाला रिपोर्टकै आधारमा चिकित्सकले रोग भए–नभएको निक्र्योल गर्ने गर्दछ । कदाचित प्रयोगशाला रिपोर्ट नै गलत भए बिरामीले उपयुक्त उपचार पाउने सम्भावना हुँदैन । निकै तीब्र गतिमा फैलिने चरित्रको कोभिड–१९ जस्तो सरूवा रोगको नियन्त्रणको निम्ति त सही रिपोर्टको महत्व अझ बढी हुन्छ । विडम्बना, कोभिड–१९ महामारीले निकै सताएको आजको अवस्थामा प्रयोगशाला रिपोर्टमा यस्तो खालको लापरबाहीले अवस्था अझ नियन्त्रण बाहिर जानसक्छ । निःसन्देह आज प्रयोगशालाका प्राविधिकहरू कोभिड–१९ को प्रतिरोधमा दिनरात खटिरहेका छन् । उनीहरू आफ्नो स्वास्थ्यसमेत जोखिममा राखेर आफ्नो दायित्व पूरा गरिरहेका छन् । यस्तो अवस्थामा ती प्राविधिकहरूप्रति सम्मान आवश्यक छ । तर, प्रयोगशालाजस्तो संवेदनशील क्षेत्रमा बसेर अहोरात्र काम गरिरहेका प्राविधिकहरूले पनि सही रिपोर्ट दिन अझ बढी गम्भीर हुन आवश्यक छ ।
सरकारले सकेसम्म चाँडो रिपोर्ट निकाल्न उपयुक्त सङ्ख्यामा कर्मचारी र मेसिनको बन्दोबस्त गर्नुपर्छ । सुरूको अवस्थाको तुलनामा पीसीआर मेसिनको सङ्ख्या बढेको छ । तर, अझै पनि यो सङ्ख्या पुगेको देखिंदैन । त्यसकारण तीनै तहका सरकारले अझ पुग्दो पीसीआर मेसिनको खरिद गरी रिपोर्ट समयमै आउने बन्दोबस्त गर्नुपर्छ ।
कोभिड–१९ सङ्क्रमितको उपचारमा निम्ति प्लाजा थेरापीको विधि पनि प्रभावकारी उपचार भएको पुष्टि भएको छ । कोभिड–१९ को सङ्क्रमणमुक्त भइसकेको व्यक्तिको रगतबाट प्लाज्मा निकालेर बिरामीमा प्रतिजीवाणुको प्रयोगमार्फत गरिने यो उपचार नेपालमै पनि सुरू भइसकेको छ । यो उपचार विधिबारे जनचेतना फैलाई रोगबाट मुक्त भइसकेको व्यक्तिलाई रक्तदान गर्न उत्साहित गर्नुपर्छ । चितवनमा प्लाज्मा बैंक स्थापना हुनु सकारात्मक पक्ष हो । अन्य जिल्लामा पनि यस्ता सकारात्मक पहलको थालनी हुन जरूरी छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *