भर्खरै :

रेलको छुकछुकमा रोमाञ्चित हुनेहरूको नाममा

काठमाडौैँ, ३ असोज । देशमा चर्चा रेलको छ । राणाकालीन समय (विसं १९९४) मा स्थापना भएको भारतको जयनगरबाट नेपालको जनकपुरसम्म चल्ने रेल सेवा लामो समयदेखि ठप्प थियो । शुक्रबारबाट भारतबाट जनकपुरधामस्थित रेलवे स्टेसनसम्म नेपाली झन्डा रङ्गको रेल नेपालमा आएपछि लामो इतिहास बोकेको रेलवे सेवा पुनः सञ्चालन हुने अनुमान गरिएको छ । सामाजिक सञ्जालमा सरकार पक्षधर कतिपय व्यक्तिले जनकपुरमा रेल आइपुग्नुलाई प्रधानमन्त्री केपी ओलीको रेल चलाउने सपना साकार भएको अर्थमा टिप्पणी गरेका छन् भने केही व्यक्तिहरूले २०७१ सालसम्म सञ्चालनमा रहेको राणाकालीन रेल सेवा अहिले थालनी हुनुलाई अहिलेको सरकारले जस लिन नमिल्ने आसयको टिप्पणी पनि गरेका छन् ।
भारत, चीन अथवा कुनै पनि देशसँग रेल मार्ग सञ्चालन गर्दा नेपालले हेर्ने पहिलो कुरा नेपालको राष्ट्रिय हित हो । कुनै देशबाट रेल आउँछ र त्यसले नेपाल र नेपाली जनताको दिगो हित गर्छ भने त्यस्तो सेवाप्रति नेपाली जनता खुसी हुनु स्वाभाविक हो । तर, त्यसको विपरीत हुने सम्भावनालाई पनि नकार्न मिल्दैन । कुनै देशबाट आउने रेलले नेपालको भन्दा विदेशको बढी सेवा गर्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।
सन् १९६०–७० को मध्यपश्चिम नेपालको अध्ययन गरेका तीन जना बेलायती अध्येता डेभिड सेडन, पी ब्लाके र जे क्यामरूनले लेखेको पुस्तक ‘पिसेन्ट्स एन्ड वर्कर्स इन नेपाल’ (नेपालमा मजदुर र किसान) मा यस्तो सम्भावनाबारे उल्लेख छ । पुस्तकमा लेखिएको छ, “उन्नाइसौँ शताब्दीको अन्त्यसम्ममा भारतमा शासन गरिरहेका बेलायती शासकहरूले नेपालको सिमानासम्म रेलवे सञ्जालको विकास गरिसकेका थिए । नेपालको तराईबाट काठ र खाद्यान्न भारतमा ठूलो परिणाममा निर्यात गर्न त्यसले सहज बनाएको थियो ।”
पुस्तकमा अझ अघि लेखिएको छ, “भारतीय कलकारखानाबाट उत्पादित वस्तुहरू युद्धकालीन अवधिमा पनि परम्परागत यातायात प्रणाली प्रयोग गरी नेपालको भित्रभित्रसम्म पुगिसकेको थियो र नेपाली दलालहरूमार्फत ती सामान नेपालीहरूलाई उपलब्ध भइरहेको थियो ।”
तत्कालीन नेपाली समाजबारे गहन अध्ययन गरेका तीन अध्येताहरूले लेखेका यी पङ्क्तिबाट भारतले राणाकालीन समयमा नेपालको सीमासम्म रेलवे सेवा विस्तार गर्नुको मूल कारण दुई वटा थिए– पहिलो, नेपालमा भएका प्राकृतिक स्रोतको दोहन गर्नु । दोस्रो, नेपाली बजारमाथि बेलायती वस्तुको नियन्त्रण कायम गर्नु ।
जयनगर–जनकपुर रेलवे सेवा सुरू भएयता दक्षिण एसियामा पुँजीवादको विकास अझ फैलिसकेको छ । हिजोको बेलायती उपनिवेशवादको विरासत आजको भारतीय विस्तारवादले सम्हालेको छ । बेलायती उपनिवेशवादीहरूको सोचाइलाई आजका भारतीय शासकहरूले पनि निरन्तरता दिइरहेका छन् ।
नेपालमा पनि रेल चलेकोमा खुसी मनाउने नेपाली जनताले प्रस्ट हुनुपर्ने केही प्रश्नहरू छन् ः के भारत–नेपालमा चल्ने रेल नेपालका प्राकृतिक र जनशक्ति भारतीय बजारमा पु¥याउने सहज यातायात साधन हो ? भारतीय बजार र उत्पादन नेपालमा अझ फैलाउने रेल प्रभावकारी माध्यम हो ?
यो प्रश्न आज भारतबाट रेल आउँदामात्र होइन, कुनै दिन चीनबाट केरूङ हुँदै नेपालमा रेल आउँदा पनि उठ्ने स्वाभाविक प्रश्न हुन् । नेपालमा भारत वा चीनबाट उत्पादित सामानको भारी बोकेर आउने रेल फिर्ता जाँदा नेपालले के भरेर पठाउने हो ? भारत वा चीनबाट उत्पादित सामानले भरिभराउ भएर आउने रेल नेपालबाट रित्तो फर्किंदा नेपाल र नेपाली जनताको हित हुने वा अहित ? नेपाल आत्मनिर्भर अर्थतन्त्रको दिशामा जाने हो वा परनिर्भरताको बाटोमा जाने हो ? नेपालमा छिमेकी देशबाट रेल आउँदा फिर्ता जाँदा के भरेर पठाउने तयारी सरकारले थालेको छ ?
जनकपुरमा हर्न बजाएर रेलको छुकछुक सुन्दा रोमाञ्चित हुने मानिसहरूले सँगै विचार गर्नुपर्ने अर्को पाटो यो पनि हो । जनकपुरमा भारतबाट आएको रेल भृकुटीमण्डपमा चल्ने रेल होइन, जसले केही बेरको मनोरञ्जन दिने गर्छ । यसले नेपालको अर्थतन्त्र र अर्थराजनीतिमा प्रभावबारे गम्भीर छलफल आवश्यक छ । रेल चल्नुभन्दा धेरै गुणा महत्वपूर्ण र गम्भीर विषय केको लागि र कसको लागि चलाइयो भन्ने अहम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *