भर्खरै :

नेपाल भ्रष्टाचारमा बदनाम

विश्वको मानचित्रमा नेपाल भ्रष्टाचारको कालोसूचीमा छ । भ्रष्टाचार र अनियमितताकै कारण नेपाल विश्वमा बदनाम छ । पछिल्लो वर्षमा नेपालमा भ्रष्टाचार झन् बढेकोमा ट्रान्सपरेन्सी इन्टरनेसनलका जिम्मेवार व्यक्तिहरू चिन्तित छन् । ‘म भ्रष्टाचार गर्दिनँ, गराउन दिन्न भन्ने प्रधानमन्त्री केपी ओली नै भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरूप्रति बढ्ता विश्वास गर्छन् । भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरूको छानबिन गर्ने काममा सरकारको चासो छैन । भ्रष्टाचार भयो भनी मालपोतमा बम हालेर भवन र भवनका कागज नष्ट गर्ने राजनीति लिएर अघि बढेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल आजभोलि भ्रष्टाचारको ‘भ्र’ पनि उच्चारण गर्दैनन् ।
प्रम ओलीको मनपरीबाट ग्रसित या तनाबबाट मुक्त नभएका अध्यक्ष दाहाल आजभोलि सरकारको कमीकमजोरी औँल्याउन पनि डराउँछन् या औँल्याउन कञ्जुस्याइँ गर्छन् । अध्यक्ष दाहाल आफैँ गलत लडाकु सङ्ख्या दिएर देशको राजस्वमा दाइँ गर्ने नेता हुन् । त्यसबेला भएको भ्रष्टाचारको छानबिन गर्न अमिक शेरचनको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यो समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । यसकारण भ्रष्टाचार अन्त्य होइन नियन्त्रण गर्न पनि सत्तारुढ दलका नेताहरू प्रतिबद्ध छैनन् । कुनै पनि ठूलठूला विकास आयोजनाबाट कमिसन पाउनेमा सत्तारुढ नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरूको हात रहेको हुन्छ । विकासको नाउँमा कमिसनमा रमाउने या पैसा खाने काममा नेकाभन्दा एमाले र एमाओवादी मिलेर बनेको नेकपा अगाडि छ ।
विकास योजनामा मात्र भ्रष्टाचार र अनियमितता होइन, देशको लागि आवश्यक सामान आयातमा पनि हुन्छ । आफ्नै देशभित्रका सामान किन्दा, राजस्व कर उठाउने बेलामात्र होइन जनताका दैनिकी काममा पनि कहिले घूस खाएर, कहिले कमिसन लिएर त कहिले ढिलासुष्टि गरेर अनियमित काम भइरहेको छर्लङ्गै देखिन्छ । सरकारले भ्रष्टाचारको विरोध र नियन्त्रण गरिरहेको देखाउन स–साना भ्रष्टाचारी र अनियमित काम गर्ने केही व्यक्तिहरूलाई पक्राउ गरेको देखाएर ठूलठूला भ्रष्टाचारीहरूलाई छोडेको, कारबाही नगरेको कुरा बेलाबखत सार्वजनिक भइरहेको विषय हो । केहीलाई पक्राउ गरेको खबर छापिन्छ तर कारबाहीको कुनै प्रक्रिया अघि बढाइँदैन भन्ने गुनासो पनि व्याप्त छ । जसरी भए पनि पार्टी ठूलो बनाउने, सरकारको नेतृत्व गरेर पार्टी सञ्चालन गरिरहनेबाहेक नेकपा सरकारको अरू उद्देश्य देखिँदैन । देशमा भ्रष्टाचार सत्तारुढ दलकै नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्तामार्फत भइरहेको छ भने भ्रष्टाचार कसरी नियन्त्रण हुन्छ ? भ्रष्टाचारको विरोध त लोकपत्यारको लागि भइरहेको छ । वास्तवमा सत्तारुढ दलको भ्रष्टाचार अन्त्य गर्ने दृढता देखिँदैन । भ्रष्टाचारीमाथि कारबाही नगरेको देखिएकोले पनि उक्त कुरा पुष्टि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *