भर्खरै :

देशभक्त जनताले साम्राज्यवादको विरोध गरौँ !

नेपाललगायत तेस्रो विश्वका गरिब राष्ट्रहरूलाई विकास, समृद्धि, धर्म, संस्कृति तथा अन्य सहयोगका प्रोजेक्टको नाममा अमेरिकी साम्राज्यवादी देशलगायत पश्चिमा शक्तिहरूले आफ्ना लाखौँ लाख एनजीओ र आइएनजीओहरूमार्फत डलरको खोलो बगाएर परिचालन गरिरहेका छन् । यसको मुख्य उद्देश्य ती देशहरूले अरू स्वतन्त्र र सार्वभौम मुलुकमा कठपुतली बनाउनु हो, आफ्नो साम्राज्य फैलाउनु हो । उनीहरूले देशमा प्रजातन्त्र ल्याइदिन्छौँ, शिक्षा र स्वास्थ्यमा सुधार गरिदिन्छौँ, कुसंस्कार र लैङ्किक विभेद हताइदिन्छौँ आदि भनी देखावटी सहयोग गरिरहेका छन् । आखिर उनीहरूले लगानी गर्ने अधिकांश पैसा विभिन्न बहानामा आफैँ लान्छन् । अझ कम्युनिस्ट र वामपन्थीहरूको प्रभाव बढी भएको देशमा सहयोगका नाममा धेरै हात अघि बढाउँछन् । यिनीहरूको सहयोगको उद्देश्य एउटा हुन्छ भने काम अर्कै हुन्छ । यस्तै कामले संसारमा विध्वंश मच्चाइरहेको हामी देखिरहेका छौँ ।
सन् १९९० मा साम्राज्यवादी देशहरूले समाजवादी देश सोभियत सङ्घ रुसलाई तीन लाखभन्दा बढी एनजीओ र आइएनजीओहरू परिचालन गरी सहयोगको नाममा जनता भड्काई सोभियत सङ्घलाई १५ टुक्रा (रसिया, युक्रेन, जर्जिया, बेलारुस, उज्वेकिस्तान, आर्मेनिया, अजरबैजान, किर्जिकिस्तान, मोल्दाभिया, तुर्कभेनिस्तान, ताजकिस्तान, काजकिस्तान, लात्भिया, लिथुआनिया र इस्तोनिया) मा विभाजन गरिदिए । त्यस्तै युगोस्लाभियालाई सात टुक्रा (बोस्निया, हर्जगोभिना, क्रोयसिया, मेसेडोनिया, मोन्टेनेग्रो, सर्विया र स्लोभेनिया) मा विभाजन गरिदिए । सन् १९८९ मा पनामाका जननिर्वाचित राष्ट्रपति जनरल म्यानुएल नोरिएगालाई अपदस्थ गरेर अमेरिकाको फ्लोरिडामा लगी बन्दी बनाइएको थियो । सन् २०१९ मा बोलिभियाका जननिर्वाचित वामपन्थी राष्ट्रपति इभो मोरालेसलाई अपदस्थ गरेर अर्जेन्टिनामा निर्वासन हुन बाध्य पारे । सन् १९७३ मा चिल्लीका वामपन्थी राष्ट्रपति सालभाडोर एलेन्डे, सन् २००६ मा इराकका राष्ट्रपति सद्दाम हुसेन, सन् २०११ मा लिभियाका राष्ट्रपति कर्णेल गद्वाफी आदिको मिर्मम हत्या गरिएका थिए । अफ्रिकाका क्रिसहनी, लुम्बुवा जस्ता देशभक्त नेताहरूको हत्या गरी जाति, भाषा, धर्म, वर्ण, क्षेत्र आदिको नाममा एक आपसमा द्वन्द्व गराइराखेका छन् । हतियार र आर्थिक सहयोग गरी उनीहरूले आफ्नो कठपुतली सरकार बनाएर त्यहाँको अपार प्राकृतिक सम्पत्ति लुटिरहेका छन् ।
नेपालमा पनि यी साम्राज्यवादी देशका लाखौँ एनजीओ आइएनजीओहरू कार्यरत छन् । जसको बजेट नेपालको बजेटभन्दा बढी छ । जुन नेपाल सरकारको जानकारीमा छैन । कुन–कुन देशको एनजीओ, आइएनजीओले कति–कति डलर कुन–कुन क्षेत्रमा, कुन–कुन काममा खन्याएका छन्, त्यसको हिसाब किताब सरकारसँग छैन । त्यसको लोखाजोखा र मूल्याङ्कन छैन । यस देशप्रतिको माया, देशभक्तिको भावना, संस्कृति र संस्कृतिको मूल्य मान्यताप्रतिको लगावलाई बिस्तारै मार्ने काम गरिरहेका छन् । देश हामी आफैँले बनाउने हो, अरूले विकास गर्ने होइन । देश रहोस् नहोस् त्यसको कुनै मतलब नराख्ने सरकार या समुदाय देशभक्त हुनैसक्दैन । कति मानिसहरूले भन्न थालेका छन्, हाम्रो देशलाई अमेरिकालाई दिँदा हुन्छ, बेलायतलाई दिँदा हुन्छ, जापानलाई दिँदा हुन्छ । अनि हाम्रो देश नेपाल पनि अमेरिका बन्छ, बेलायत बन्छ, जापान बन्छ । त्यस्तै भारतलाई दिँदा हुन्छ, अर्को सिक्किम बनाइदिन्छ, दार्जलिङ बनाइदिन्छ । यही हो, यिनीहरूको सहयोगको नाममा, विकासको नाममा पराधीन सोच, पराधीन मानसिकता र सांस्कृतिक दासता बनाएर देश खाने दाउ ।
साम्राज्यवादी देशहरूले शिक्षामा सहयोगको नाममा हाम्रो संस्कृतिमाथि सांस्कृतिक आक्रमण गरिरहेका छन् । नेपाललाई विश्वमा छुट्टै गौरवपूर्ण पहिचान बनाउने भनी नेपालको इतिहास, संस्कृति, भूगोललाई ओझेलमा पारेका छन् । नेपालका पाठ्यपुस्तकहरूमा भीमसेन थापा जसले बेलायती साम्राज्यवादलाई एसियाबाटै लखेट्ने योजना बनाए, सङ्गठन गरे, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवरजस्ता वीर योद्धाहरूको जीवनी, गंगालाल दशरथ चन्द्र, धर्मभक्त, शुक्रराजस्ता सहिदहरूको जीवनी र योगदान, देशलाई माया गर्ने देशभक्तिका पाठहरूलाई हटाएका छन् । यसको प्रभाव हाम्रो संस्कृति र संस्कारमा पनि देखिन थालेको छ ।
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक देश हो । यहाँ सबै नेपालीलाई बिनालोभ, बिनादबाब आफ्नो इच्छाअनुसार धर्म, संस्कृति मान्न पाउनुपर्छ, मान्ने हक छ । नेपालमा नेपालीहरूको अशिक्षा र गरिबीको फाइदा उठाएर अमेरिकी साम्राज्यवाद र पश्चिमी शक्तिहरूको सहयोगमा त्यसका दलालहरूमार्फत विश्व शान्तिका अग्रदूत गौतम बुद्धको नाममा काठमाडौँ उपत्यका वरिपरि र देशका पहाडी क्षेत्रमा जुन गुम्बाहरू विस्तार भइरहेका छन् त्यो भोलि अमेरिकी सेनाको व्यारेकमा परिणत हुने त होइन ? त्यसले नेपाललाई इजराइल बनाएर चीन र एसियामाथि आक्रमण गर्ने वातावरण तयार गरिरहेको त होइन भन्ने जनताले आशङ्का गर्न थालेका छन् । ती गुम्बाहरूभित्र बुद्धभन्दा पनि दलाइ लामाका आकर्षक फोटोहरू राखेर प्रार्थनाहरू गराउन लगाइराखेका छन् । दलाइ लामा भारतमा पालनपोषण र तालिम गरिएका मानिस हुन् । यी गुम्बाहरूको निर्माणमा कहाँ, कहाँबाट कुन–कुन व्यक्ति, संस्थामार्फत कति–कति डलर कुन–कुन ठाउँमा लगानी गरिरहेको छ छैन, थाहा पनि दिंदैन । किनकि अमेरिकी दलाल सरकारसँग सोध्ने आँट नै हुँदैन ।
नेपालमा डलरमा बिकेका नक्कली क्रिश्चियनहरूले हिन्दू धर्म र संस्कृति तथा अरू धर्म र संस्कृतिको खोइरो खनेर त्यसप्रति वितृष्णा फैलाई क्रिश्चियन धर्ममा तान्ने काम भइरहेको सुनिन्छ । यो विशेषगरी तामाङ्ग, लामा, राई, लिम्बु, मगर, गुरुङ, नेवार जातिमा बढी देखिन्छ । किनकि, यी जातिका मानिसहरूलाई विश्वासमा लिन सजिलो छ । यिनीहरू सोझा र कर्मशील हुन्छन्, गरिब र अशिक्षित हुन्छन् । हिन्दू, धर्म संस्कार मानिरहे तपाईँहरू झन्झन् गरिब हुँदै जानुहुन्छ, सकी नसकी भोज खुवाउनुपर्छ, त्यसको लागि ऋण लिन बाध्य पार्छ, अनि अलिअलि भएको घरखेत पनि बेच्न बाध्य पार्छ, क्रिश्चियन धर्ममा त्यस्तो केही गर्नुपर्दैन, भोज खुवाउनुपर्दैन, रक्सी, जाँड खुवाउनु पर्दैन, टीका टालो लगाउनु पर्दैन, राँगो, खसी ढाल्नु पर्दैन, मलामी जानु पर्दैन, खन्नुपर्दैन, लास जलाउनु पर्दैन, मन्दिर जानुपर्दैन, हामी गरिबलाई, दुःखीलाई र असहायलाई धेरै सजिलो छ भनी उनीहरू लोभलाग्दा कुरा बताउँछन् । यो कुरा सुन्दा कमजोर मानसिकता भएका व्यक्तिले हो जस्तो लागेर धर्म परिवर्तन गर्छन् । हिन्दू धर्ममा धार्मिक संस्कार गर्दा यस्तै गर्नुपर्छ भन्ने कहीँ लेखिएको पाइँदैन । धर्म भनेको गरिब, दुःखी र असहायहरूको निःस्वार्थरूपले सेवा गर्नु हो । राम्रो मन र विचारले गरेको कामको प्रचार गर्नुपर्दैन । जनताको आँखामा सही भएपछि त्यसै आफैँ प्रचार हुन्छ । यही धर्म संस्कारअनुसार व्रतबन्ध, विवाहलगायत अन्य संस्कारहरू आफ्नो औकातअनुसार सामान्य तरिकाले गरिरहेकै छन् । क्रिश्चियनहरूले यो धर्मले अरू धर्म मान्ने लोग्नेस्वास्नीको बीचमा, कहीँ आमा छोराको बीचमा, केही बाबु छोराको बीचमा, कहीँ गुठीमा कहीँ समाजमा वैमनस्यता ल्याएका छन्, झगडा गराएका छन् । छुट्टै बस्न बाध्य पारेका छन् । त्यसैले बेलैमा सावधानी र सचेत हुनुपर्छ ।
यो धर्म मानेपछि रोग लाग्दैन, रोग लागे पनि निको हुन्छ, उपचार गर्नुपर्दैन । प्रभुको शरणमा गएपछि सबै ठीक हुन्छ भन्ने कुरा पनि छ । यदि सबैको रोग निको भइदिएको भए यहाँ क्यान्सर रोगको अस्पताल आवश्यक पर्ने थिएन होला, आँखा अस्पताललगायत अन्य अस्पतालको आवश्यक पर्ने थिएन होला । यिनीहरूले एक दुई जनाको संयोगले निको भएका बिरामीहरूको उदाहरण देखाएर कमजोर मनस्थितिको फाइदा उठाएर धर्म परिवर्तन गराएका छन् । यो धर्मको नाममा गरेको ठगी हो । यो कुरा धर्मको प्रचार गर्ने दलालहरूको रहनसहन, लवाइखवाइ, व्यवहार र परिणामले थाहा हुन्छ । उनीहरूका छोराछोरीहरू डाक्टर, इन्जिनियर वा अन्य विषयमा स्वदेश वा विदेशमा भ्रमणको सुविधा उपभोग गरिरहेका छन् ।
विगतमा नेकपाका देशभरिका नेताहरूलाई होलि वाइनको डोरीले घाँटीमा बाँधेर काठमाडौँको सोल्टी होटेलमा तानेका थिए । पवित्र जल होलि बाइन खुवाएका थिए । आशीर्वाद लिने नाममा घुँडा टेकाएका थिए । प्रम ओलीलाई सोल्टी होटेलमा गुप्तवासमा राखेर होलि वाइनको भव्य समारोह गरिएको थियो । त्यसबापत प्रम ओलीलाई ज्यालास्वरूप एक लाख डलर उपहार दिइएको थियो । यो होलि वाइनको खाएको परिणाम अब एमसीसीमा पास गर्नमा देखिँदै छ । केही दिनअगाडि नेकपाको स्थायी समितिले यसलाई संशोधनसहित पास गर्ने निर्णय गरिसकेको छ । नेकपाको यो सरकारले यसलाई संसदबाट पास गर्यो भने अमेरिकी साम्राज्यवादलाई वैधानिकरूपमा नेपालमा रणनीतिक अखडा राख्ने अनुमति प्राप्त हुनेछ । यो आयोजनाको बहानामा उसले उत्तरी छिमेकी देश चीनलाई असफल हमला गर्न र अर्को दक्षिण छिमेकी देश भारतलाई सिध्याउन दक्षिण कोरिया, जापानलगायत संसारका अन्य राष्ट्रहरूमा जस्तै सैनिक अखडा जमाएर बसिरहनेछन् । संसदबाट यसलाई पास गरिएन भने अमेरिकी साम्राज्यवादले विगतमा जातीय, क्षेत्रीय, लिङ्गीय आदिको नाममा असफल उपद्रोव मच्चाउन खोजेको थियो भनी अकल्पनीय वितण्डा मच्चाउन बेर लाग्नेछैन । किनकि विगतमा विराटनगर, नेपालगञ्ज र रसुवामा गाई काटेर गाई काण्ड मच्चाइएको थियो ।
नेपाल र नेपालीको परिचय भनेको यहाँको संस्कृति हो, धर्म हो, चालचलन, भाषा, रहन सहन र कलाकृति हो । नेपालको लागि खतरनाक भनेको सांस्कृतिक दासता हो जो अमेरिकी साम्राज्यवादलगायत पश्चिमाहरूको डलरको धर्म, विकास, कुप्रथा र शिक्षाको नाममा बिस्तारै बिस्तारै जन्माउँदै छ, बढाउँदै छ । नेपालीहरूको आफ्नो देशप्रतिको माया, देशभक्तिको भावना, संस्कृति र यसको मूल्य र मान्यताप्रतिको लगावलाई बिस्तारै मार्दै छ, पराधीन मन र पराजित मानसिकता बढाउँदै छ । त्यसैले यसलाई समयमै रोक्न, नेपाललाई विश्व मानचित्रमा गौरवका साथ शिर ठाडो पारेर सगरमाथाजस्तै उच्च र अटल राख्न भने सबै नेपाली देशभक्तले अमेरिकी साम्राज्यवाद र पश्चिममा देशहरूको सांस्कृतिक हस्तक्षेपको विरोध गरिरहनुपर्छ । अमेरिकी साम्राज्यवादले एमसीसीमार्फत जुन नेपालमा हस्तक्षेप गर्न खोजिँदै छ ः त्यसको खबरदारी गर्न सम्पूर्ण देशभक्त नेपालीहरूले मुठी कसेर विरोध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *