भर्खरै :

‘बोक्सी’ को आरोपमा बर्बर यातना निन्दनीय

राजनीतिक परिवतर्नसँगै सामाजिक र आर्थिक परिवर्तन पनि हुनुपर्छ । राजनीतिक परिवर्तनसँगै सामाजिक र आर्थिक परिवर्तन नभएकोले या विज्ञान र प्रविधिको युगमा पनि अन्धविश्वास, कुरीति र विकृति अद्यापि कायम रहेकोले बेला–बखत ‘बोक्सी’ को नाममा दुःखद घटना भइरहेको छ । विज्ञान र प्रविधिले ‘बोक्सी’ लाई इन्कार गरे पनि गाउँ–सहरको बस्तीमा यो प्रथा अझै कायम रहेको देखिन्छ । गरिब, दीन–दुःखीका परिवारका महिलाहरूले ‘बोक्सी’ को आरोपमा भोग्नुपर्ने यो पीडादायी व्यवहार र शोषणबाट यो समाजले मुक्ति पाउने कहिले ?
सामन्ती समाजमा व्याप्त रहेको यो ‘बोक्सी’ प्रतिको विश्वास पूर्णतः अन्त्य भएको छैन । विशेषगरी यस्ता घटना गरिब, दलित बस्तीमा बढी देखिन्छ । ‘बोक्सी’ को आरोपमा शारीरिक र मानसिक यातना दिने काम प्रजातान्त्रिक गणतान्त्रिक मुलुकमा दोहोरिरहनु राम्रो लक्षण होइन । यसबारे जनचेतना जगाउन हरेक राजनीतिक दल र विशेषगरी सत्तारूढ दलले अभियान नै छेड्नु आवश्यक छ । शिक्षाको किरण नपुगेका गाउँ–बस्तीमा ‘बोक्सी’ को भ्रम रहनु स्वाभाविक हो । तर यस्ता प्रकरणका घटनामा जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवीहरू नै फसिरहेको प्रसङ्गले अझै हाम्रो समाज अन्धविश्वासको घेरामा रहेको अनुभूति हुन्छ ।
‘बोक्सी’ को आरोपमा गाउँ निकाला गर्ने, चारपाटा मोडेर गाउँ घुमाउने, ‘बोक्सी’ भनी लेखी घर–आँगनमा बाँध्ने, घिसार्दै कुटपिट गर्ने, दिसा खुवाउने, अर्ध नग्न बनाउने घटना अझै घट्नु गणतन्त्रात्मक देशको निम्ति सुहाउँदैन । आरोपित महिलालाई पैताला चटाउने, करेन्ट समात्न दिने, सियोले घोच्ने आदि यातना दिने गरेका दुःखपूर्ण खबर अखबारमा आइरहेको छ । ‘बोक्सी’ को आरोपमा उनीहरू गाउँ–बस्तीमा अपमानित हुन्छन्, लज्जित हुन्छन्, जीवनमरणको जीवन बिताउन बाध्य हुन्छन् । यिनीहरूमाथिको आरोप सही बनाउन कति गाउँ–ठाउँका मान्छेहरू अघि सर्छन् । यो विडम्बनाको विषय हो ।
‘बोक्सी’ को आरोप धनी महिलालाई किन हुँदैन ? गरिब, आदिवासी, उत्पीडित महिलाहरूमात्रै किन ‘बोक्सी’को आरोपमा पीडित हुन्छन् ? कसैको शारीरिक दुर्वलता, कुनै रोगबाट सिर्जित अन्य समस्यालाई ‘बोक्सी’ को आरोप लगाएर मन शान्त पार्ने, पीडाबाट मुक्त भएको ठान्ने सोच अवैज्ञानिक छ ।
बोक्सीको आरोपमा बर्बरतापूर्ण आक्रमण गर्नु या पीडा दिनु, आफ्नै कमजोरी, गल्ती र रोगबाट भएको समस्यालाई ‘बोक्सी’ भनी कुनै गाउँ–ठाउँका सोझा, सर्वसाधारण महिलामाथि आरोप लगाउनु या दोषको भारि बोकाउनु गलत हो । अझ यस्ता कार्यमा जानकार व्यक्तिहरू मुछ्नु अर्को गलत हो । यसतर्फ स्थानीय तहको सरकार सचेत र चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *