भर्खरै :

प्रकाशमा आउन नचाहने एक कार्यकर्ता

(नेमकिपाका कार्यकर्ताहरूलाई टोल, गाउँ, ठाउँ र जिल्लामा मात्र सङ्गठन गर्न रुचाउने सुविधामुखी हुन् भन्ने अन्य दलका नेता र कार्यकर्ताहरू आ–आफ्नो कार्यक्रममा बताउने गर्छन् ।
यसबारे भक्तपुरकै एक धनी किसान परिवारमा जन्मिएका र त्रिभुवन विश्वविद्यालयबाट भूगोल र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएका तथा विभिन्न शिक्षण संस्थामा शिक्षक र सञ्चालक समितिमा काम गरिसक्नुभएका उद्धव सुजखुसँग मजदुर दैनिकका संवाददाताले कुराकानी गर्नुभएको थियो ।
प्रश्नको जवाफको क्रममा उहाँले उपत्यका र वाग्मती अञ्चलमा मात्रै होइन अन्य अञ्चलमा पनि सङ्गठन, भ्रमण र राजनैतिक कक्षा सञ्चालन गरेको छोटकरीमा जानकारी दिनुभयो ।–सम्पादक)
नेमकिपाले वाग्मती अञ्चल त के काठमाडौँ र ललितपुरमा समेत सङ्गठन गरेन भन्छन् । भक्तपुरकै गाउँहरूमा पनि नेमकिपाले सङ्गठन नगरेको बताउँछन्, तपाईँ के भन्नुहुन्छ ? तपाईँले उपत्यका र वाग्मती अञ्चलमा मात्रै होइन अन्य अञ्चलमा पनि सङ्गठन विस्तार र राजनैतिक कक्षा सञ्चालन गर्नुभएको थियो । थप जानकारी दिनुहुन्छ कि ?
नेपालको पूर्व, पश्चिम र मध्य भूभागका केही जिल्लामा पुगेर विभिन्न गतिविधि र कार्यक्रमहरूमा म पनि सहभागी भएँ । मेरो मानसपटलमा रहेका केही कुराहरूमात्र यहाँसँग म राख्दछु ।
२०४१÷०४२ सालतिर नुवाकोट जिल्लाको शिक्षक आन्दोलनमा लालटिन जुलुस गर्दा वामपन्थी शिक्षक गणेश पण्डितसँगै पक्राउमा परी बिदुर (त्रिशुली) को प्रहरी थानामा एक दिन थुनिएको थिएँ । त्यहाँबाट फर्केपछि २०४२ सालको बहुदलीय प्रजातान्त्रिक आन्दोलनमा होमिँदा ममाथि पाटन, ललितपुरमा दङ्गा प्रहरीहरूको लाठी बुट प्रहार भएको थियो । त्यहाँको डी.एस.पी. कार्यालयको खोरमा एक दिन एक रात बिताएँ । त्यसपछि पार्टी अध्यक्ष का.रोहित, दामोदर सुवाल, तुल्सीलाल अमात्य र अन्य थुप्रै नेता कार्यकर्ताहरूको साथमा जेठदेखि कार्तिकसम्म ६ महिना नखुको जेल जीवन बिताएँ ।
का.रोहितको समीपमा विभिन्न राजबन्दी र अन्य बन्दीहरूमाझ बसेर सैद्धान्तिक, व्यावहारिक, राजनीति र कूटनीतिका थुप्रै कुराहरू सिक्ने र बुझ्ने अवसर पाएँ । उक्त जेलजीवनले मलाई सानो विश्वविद्यालयको महसुस गराएको थियो ।

जुम्लामा २०६८ मा सम्पन्न नेक्रायुसङ्घको पाँचौ राष्ट्रिय सम्मेलन सुजखू



सस्तो, सुलभ र वैज्ञानिक शिक्षाको लागि गरेको विरोध प्रदर्शनमा सहभागी हुँदा एक दिन फेरि ललितपुरकै खोरमा परेको थिएँ ।
२०६१ सालको प्रतिगमनविरोधी आन्दोलनमा गिरफ्तारीमा परी काठमाडौँको तीनकुनेको प्रहरी थानामा वामपन्थी नेता चित्रबहादुर के.सी., साथी सुमन महर्जन आदिसँग एक दिन बसेको पनि सम्झना छ । त्यस्तै पुलिस क्लव र हलचोकमा एक–एक दिन थुनामा परेँ ।
नुवाकोट जिल्लामा साङ्गठनिक काम: २०४१÷०४२ सालमा नुवाकोट जिल्लाको बेत्रावटी, थप्रेक, चतुराले, रानीपौवा, आरुखर्क, चौघडा, थानसिङ, सुन्दरादेवी, खरानीटार, समुन्द्रटार, शिखरबेसी, नुवाकोट आदि ठाउँहरूमा नेमकिपाको प्रचारप्रसार गरेँ । पार्टी साहित्यहरू ती ठाउँमा पु¥याएँ । पञ्चायती चुनावलाई जनताको पक्षमा उपयोग गर्नुपर्ने नेमकिपाको नीतिलाई बहसको रूपमा साथीहरूमाझ लगेँ ।
काभ्रे र सिन्धुपाल्चोक जिल्लामा साङ्गठनिक यात्रा : २०४७ साल असोजमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाउँ र बस्तीमा पुगी पार्टी सङ्गठन र प्रचारप्रसार गरेँ । बसेरी, बा¥हबिसे, ठगाम (घुम्याङ), सेलाङकट्टि, फुल्पीङकट्टी, नारायणथान (तामाङ–शेर्पा बस्ती), तातोपानी, झिर्पु, मानेश्वरा, भोटेठाम, काली गाउँ (माझी बस्ती), मुडे, लिस्ती, मांखा, जलविरे, कोठे, पदमथली, सिकुटे, दुगुना, लामो साँघु, मेच्छे गाउँ आदि स्थानहरूमा कहिले एक्लै त कहिले साथीहरूसँगै गएर बैठक र कार्यक्रमहरूमा सहभागी भएँ ।
कालीकोट जिल्ला कार्यकर्ता प्रशिक्षणको लागि पार्टी सचिव प्रेम सुवालसँगै यात्रा: (२०४८ भदौ १७ देखि भदौ २७ गतेसम्म) २०४८ भदौ १७ गतेदेखि भदौ २७ गतेसम्म एघार दिन सुर्खेत, दैलेख, कालीकोट र जुम्लाको यात्रामा सरिक भएँ । सुर्खेतबाट चार दिनको पैदल यात्रा गरेँ । गाइबान्ना, डाडीमाडी, व्याउलीमा बास बसी ठाडो हाउडी लेक (महाबु) काटेर पसिना काढ्दै कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र (मान्म) पुगेँ । महाबु काट्दा कहिल्यै नहिँडेको बाटो, जङ्गलमा केही क्षण अलमलमा पनि प¥यौँ । त्यहाँ जङ्गली भालु, चितुवा, बँदेल भएको र लाठो लिई हिँड्नुपर्ने कुरा बटुवाहरूबाट पछि थाहा पायौँ । दैलेखका एकजना साथी र त्यसबेलाका पार्टी केन्द्रीय उपाध्यक्ष रामकृष्ण बुढ्थापा पनि उक्त प्रशिक्षण कार्यक्रमको लागि मान्ममा पुग्नुभएको थियो । तर, दैलेखका साथी बिरामी परी त्यहाँबाट घर फर्कनुभयो ।

विद्यार्थी आन्दोलनमा बोल्दै सुजखू


भदौ २४ देखि २६ गतेसम्म कालीकोट जिल्लाका पार्टी कार्यकर्ताहरूको साथमा माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ विचारधारा, मानव समाजको विकास, पेरिस कम्युन, सोभियत सङ्घको इतिहास, अक्टोबर क्रान्ति, वर्गसङ्घर्ष, दर्शन–सिद्धान्त र व्यवहार, अफिम युद्ध, खोटा विचारको खण्डन आदिबारे राजनैतिक प्रशिक्षण कक्षा सञ्चालनमा सहभागी बनेँ । प्रशिक्षण सकाएर मान्मबाट पैदल यात्रा गर्दै जुम्ला पुगेँ र त्यहाँका साथीहरूसँग भेटघाट गरी प्लेनबाट नेपालगञ्ज फर्केँ ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को पश्चिमाञ्चल भ्रमण गर्ने कार्यक्रम निश्चित भयो । पहिलो भ्रमण गरेको दुई महिना नबित्दै सचिव प्रेम सुवालसँग म फेरि उक्त भ्रमणमा सहभागी भएँ ।
अध्यक्षज्यूको पश्चिमाञ्चल भ्रमणको १६ दिनको दैनिकी र गतिविधि (२०४८, कार्तिक २४–मंसिर ९ गतेसम्म) कार्तिक २४ गते अध्यक्ष रोहितका साथ हामी तीनै जना नाइट बस चढी भोलिपल्ट नेपालगञ्ज पुग्यौँ र त्यहाँबाट प्लेन चढी जुम्ला विमानस्थलमा झ¥यौँ । कार्तिक २६ गते जुम्लाको खलङ्गाबाट कालिकोटको लागि हाम्रौ पैदल यात्रा सुरु हुन्छ । पैदल यात्राको क्रममा जुम्लाको लिहीका पार्टी कार्यकर्ताहरुबाट राति अध्यक्षलाई बाजागाजाका साथ स्वागत गर्ने काम भयो । पछि उहाँ भेटघाटमा सरिक हुनुभयो । रारालिही गा.वि.स. का जनताको त्यहाँ स्वागत तथा आमसभा गर्ने कार्यक्रम थियो । पैदल यात्राको क्रममा स्थानीय गाउँवासी जनतासँग अध्यक्ष रोहितले भेटघाट गर्नुभयो ।
कार्तिक २८ गतेदेखि ३० गतेसम्म खाँडाचक्र कालीकोटमा नेमकिपा कालीकोटको दोस्रो जिल्ला सम्मेलनमा हामी सरिक भयौँ । अध्यक्ष रोहितले उक्त सम्मेलनमा सम्बोधन गर्नुका साथै बन्द सत्रमा जल्दाबल्दा विभिन्न विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभयो । सम्मेलनपछि उहाँ मंसिर १ गते कालीकोटका विभिन्न पार्टी प्रतिनिधि, सरकारी कर्मचारी तथा अन्य जनसमुदायसँगको भेटघाट कार्यक्रममा व्यस्त हुनुभयो ।
त्यसपश्चात् तिला नदीको छेउछाउ हुँदै कालीकोट जिल्लाको जुविथा, राँचुली, फोइमहादेव र नाग्मका साथीहरूसँग भेटघाट, छलफल गर्दै रात कटाउँदै जुम्लाको हाडसिंजा भेगतिरको पैदल यात्रा सुरु भयो । पहाडको चिसो सुखा हावाले ओठ मुख गालामा असर पर्ने, गोरेटो, घोडेटो र पत्थरिलो बाटो हिँड्दा, उकाली ओराली र खोल्सो तर्दा सामान्य अप्ठेराहरूलाई झेल्दै स्थानीय साथीहरूको टोलीसँगै अगाडि बढ्यौँ ।

विद्यार्थी हित समिति भक्तपुरको जिल्ला समेलनमा बोल्दै सुजखू


मंसिर ३ गते जुम्लाको हाडसिंजा भेगमा हेमा नदीको किनार लाग्दै पैदल यात्राकै क्रममा पातरखोला गाविसमा पुग्यौँ । त्यहाँ जनताले स्वागत र भेटघाट कार्यक्रम राखेका थिए । हामी सहभागी भयौँ । त्यस्तै मंसिर ४ गते सिंजाभेंग नाराकोटको भैरव माविको प्राङ्गणमा गाउँका जनताले राखेको स्वागत र आमसभामा पनि सम्मिलित भयौँ ।
मंसिर ६ गते सिंजाको लुड्कु गाउँमा आमसभा राखियो । सिंजाको पाण्डुसेरा (पाण्डुगुफा), विराट हाडसिंजाका कार्यकर्ताहरूसँग भेटघाट, छलफल र सभा गर्दै मंसिर ७ गते डाँफे लेक काटेर जुम्लाको सदरमुकाम आइपुग्यौँ । डाँफे लेक काटेर आरालो लाग्ने क्रममा ढुङ्गा खोपेर बनाएको भीडको साँघुरो घोडेटो बाटोमा कोल्टो परेर घोडा तल झर्दा उसमाथि चढ्नुभएका अध्यक्षज्यू अगाडि घोप्टो पर्नुभई झन्डै लड्नुभएको अहिले पनि सम्झिन्छु । लगाम समाइ घोडा डो¥याउने साथीले आफ्नो हातमा उहाँलाई थाम्नुभयो । साथीहरूको आग्रहमा उहाँ घोडा चढ्नुभएको थियो ।
मंसिर ९ गते जुम्लाको खलङ्गामा आमसभाको आयोजना भयो । भ्रमणकै सिलसिलामा आमसभाको निम्ति सर्कुलर गरिएको थियो । अध्यक्ष रोहितले भ्रमणबाट सँगालेका जनताको दुःख–कष्टको जनजीवन, पार्टीको धारणा र समसामयिक विषयलाई लिएर उक्त आमसभामा सम्बोधन गर्नुभयो । हामी दुई जनाले यी विभिन्न कार्यक्रमहरूको रिपोर्टिङ र समाचार पार्टी केन्द्रीय कार्यालयमा सम्प्रेषण गर्ने काम ग¥यौँ ।
भ्रमण कार्यक्रम सकेपछि जुम्लावासीहरूको तर्फबाट विमानस्थलमा अध्यक्ष रोहितलाई बिदाइ भयो ।
उपत्यका बाहिर गएर अन्य जिल्लामा गरेका थप गतिविधिहरूबारे अर्को भेटमा कुराकानी गरौँला ।
भूमिगत काल र प्रवास जीवनबारे केही बताइदिनुहुन्छ कि ?
राज्यस्तरको पञ्चायती षड्यन्त्र ‘भक्तपुर काण्ड’ मा १३ ‘क’ अन्तर्गत वैशाख महिनासम्म २० महिना अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत पार्टीका थुप्रै साथी र शुभचिन्तकहरू जेलमा पर्नुभयो । अरू सयौँ कार्यकर्ता भूमिगत बस्न बाध्य भए ।
सर्वस्वहरण र फाँसीको सजायसम्म हुनसक्ने ऐनको ‘१३’ क अन्तर्गत उक्त काण्डमा मेरो नाउँ पनि मुछिएको हुनाले मैले पनि २० महिनासम्म भूमिगत र प्रवास जीवन बिताएँ ।
२०४५ भदौ ५ गतेको भूकम्पले क्षति पु¥याएका क्षेत्रहरूमा नेपाल मजदुर किसान सङ्गठनको आह्वानमा इँटा–माटो, काठपात पन्छाउने काम दैनिक सञ्चालन भइरहेको थियो । सोही क्रममा भदौ १० गतेका दिन सफाइ कार्यको लागि भक्तपुर ७ नं वडा गोल्मढीमा पुग्दा साथीहरू देख्न छोडेपछि थाहा पाएँ । नेमकिसलाई सिध्याउन राज्यस्तरबाट रचिएको अघिल्लो दिनको घटना ‘भक्तपुर काण्ड’ को सुरुवाती रहेछ । अध्यक्ष रोहितलगायत सङ्गठन र सार्वजनिक पद धारण गर्ने मुख्य–मुख्य साथीहरू राति नै पक्राउ पर्नुभएको थियो । मलाई पनि बाहिर हिँड्डुल नगर्न सुझाएपछि मेरो पनि भूमिगत काल सुरु भयो । राति–राति साथीहरूकहाँ भेट्न जान्थँे, ढाडस दिन्थेँ । कोही साथीहरू आत्तिएर भन्थे, “यहाँ नबसौँ, उपत्यका बाहिर जाऔँ ।” बाहिरी जिल्लामा रहेका आफन्त र भाइबन्धुकहाँ सुरक्षित हुने बताउँथे । अरू गए पनि जिम्मेवार पदमा रहेका साथीहरू सङ्गठन र साथीहरूलाई कसरी बचाउने हो, त्यतातिर पनि ध्यान दिनुपर्ला कि भन्थँे म । ‘अनिकालमा बीउ जोगाउनु ….’ भन्दै उहाँहरू केही बाहिरी जिल्लामा जानुभयो । कहिलेकाहीँ एउटै कोठामा साथीहरू भूमिगत बस्न थुप्रिन्थे । एउटै टोकरीमा सबै फुल हालेजस्तो हुन्छ, त्यसैैले छरिनुपर्छ तर सम्पर्कमा रहाँै भन्ने सुझाव आउँथ्यो । त्यहीअनुसार चाँजोपाँजो मिलाइँयौँ तर थोरैसँगै मात्रै सम्पर्क गर्न पाइयो ।

जुम्लामा २०५७ मा कर्णाली प्राविधिक शिक्षालयको अवलोकनमा


नगरबाहिर खेत खलिहानमा धान काट्ने काममा सघाउन जान्थेँ । त्यतै रहेको पकोचा (खेतमा रहेको सानो छाप्रो) मा बसी केही रात भए पनि सुरक्षित भइएला कि भनी सोच्थेँ । तर, नगरभित्र गतिविधि गर्नैपथ्र्यो । आफू पार्टी नगर समितिको इन्चार्ज पनि भएकाले सकेको जिम्मेवारी त निभाउनैपथ्र्यो । राति साथीहरूको घरमा पुग्दा पनि महिला, वृद्ध–वृद्धा र बच्चाहरूमात्रै भेटिने भएकोले महिलाहरूलाई नै सजग र सतर्कताका साथ आन्दोलित गर्ने नीति लिइयो । सोहअनुसार सरजमिनको बेला सघाइयो । त्यस्तै षड्यन्त्रविरुद्ध विभिन्न गतिविधिहरूमा सघाएँ ।
तत्कालीन नेमकिसंविरुद्ध केही समाचारमाध्यमहरूले भ्रामक हल्ला फैलाए । त्यतिबेला त्यो षड्यन्त्रलाई चिरफार गर्ने, राज्यस्तरबाट सिर्जित भक्तपुरको अराजक अवस्थालाई छर्लङ्गयाई कानुनी उपचारका कुराहरू कुनै न कुनै माध्यमबाट भूमिगत बसेका साथीहरूमाझ पु¥याउने काम पनि भयो ।
रातभरि लुकिछिपी गल्लीगल्लीमा हिँड्डुल गर्दाका क्षणहरू म सम्झिन्छु । राति जाग्राम बसी रमणजस्तै घुमी भूमिगत बसेका कार्यकर्ता साथीहरूलाई सुरक्षा दिने ती महिला दिदीबहिनी वा आमाहरूलाई हृदयदेखि नमन गर्थें । बिहान मिरमिरे उज्यालोमा बाहिर बाटा, चोक, पाटीमा थोरै कपडाको सहारामा लाइन लागेर झुन्डझुन्डमा सुतिरहेको दृश्य म देख्थेँ । उनीहरूको कारण मजस्तै भूमिगत बसेका साथीहरूको मनलाई उत्साहित बनाउँथँे र सुत्न पाउँथे । अस्वस्थ र सङ्कटमा परेकाहरूलाई ढाडस दिने काम भएको थियो । मानौँ, सङ्गठनलाई जीवन दिइरहेको थियो ।
आर्थिक सङ्कटका कारण आफूसँग भएको गरगहना बन्धकमा राखी रकम उपलब्ध गराइदिन याचना गर्थे कोही साथीहरू । उनीहरूलाई सघाउन भनसुनको काम पनि गरियो । खानपिनको समस्या हुनेहरूलाई पनि तारतम्य मिलाइयो । यति हुँदा हुँदै पनि पञ्चायती सरकारले उपयोग गर्न खोज्दा, सङ्कटमा च्यापिएका केही साथीहरू अलमलमा पर्नुभयो । सम्झाइबुझाइ गरी उहाँहरूको समस्या टार्ने काम गरियो ।
आफू विचलित हुनेमात्रै होइन सङ्कटमा जनविराधीहरूकै जुङ्गामा ताउ हाल्न पुग्नेहरू पनि भेटिए । कुकुरसरह जिउने, सत्यको जीत हुन्छ भन्ने कुरामा विश्वासै नगर्ने, अगाडि आइलागेको अप्ठेरोमात्रै सोच्ने र सके जतिलाई आफ्नै अवसरवादी चरित्रमा ढाल्न खोज्नेहरूलाई मुखभरिको जवाफ दिन लगाइयो ।
रुख ढाल्न बन्चरोको बीड भएर आउने शत्रुका ‘एजेन्ट’ बनेकाहरूबाट सुराकीको काममा तीव्रता ल्याएपछि भक्तपुरमै भूमिगत बसी गतिविधि गरिराख्न नसकिने असहज परिस्थितिको सृजना भयो । कति साथीहरूले त जेलै जान पाए हुन्थ्यो भनी विचार्न थाले । सोही कुराको जानकारी जेलमा अध्यक्ष रोहितबाट पाएपछि उहाँले बाहिर पहिलेकै ठाउँमा अथवा प्रवासमा जाने निर्देशन दिनुभयो । क्यान्सरबाट पीडित मेरी आमाको पनि भेलोर अस्पतालमा लगी उपचार गर्नुपर्ने भएकोले घरमा सल्लाह गरी आमालाई लिएर उतै लागेँ । फर्कने बेलामा उहाँलाई एक्लै कलकत्ताको विमान स्थलबाट काठमाडौँ पठाएँ ।
२०४६ वैशाखमा म भारतको दरभङ्गास्थित सौदगार मुहल्ला शिवजी नगर पुगेँ । त्यहाँ नेमकिपाका पूर्वकेन्द्रीय सदस्य बुद्धिकुमार गोसाई, हिमालयश्वरलाल मूल र चन्द्रबहादुर उलकका साथ बसेर प्रवास गतिविधिहरूमा भाग लिएको थिएँ । कविता वाचन गर्ने, अध्ययन गर्ने, ‘भक्तपुर काण्ड’ एउटा राज्यस्तरीय षड्यन्त्र हो भनी त्यहाँ पुराना साथीहरूलाई सम्झाइ–बुझाइ गर्ने, त्यसको लागि प्रवासबाटै हिन्दीमा समाचारहरू छाप्न लगाउनेजस्ता कार्यहरू भए । लामो अवधि बस्नुपर्ने सम्भावना भएकोले आफ्नो मुद्दा आफैँ लड्न सक्ने गरी कानुनी लडाइँ गर्न कानुन विषय लिई त्यहाँको महाविद्यालयमा अध्ययन गर्ने सोच पनि राखेँ । तर, त्यो अवसर मिलेन । दैनिक खर्च धान्न आर्थिक स्रोत जुटाउनको निम्ति स्थानीयवासीको घरमा गई ट्युसन पढाउने काम पनि गरेँ । गहुँ किनी बिहान बेलुकी पानी रोटी खान्थ्यौँ । चामल किन्ने पैसा जोगाउने काम ग¥यौँ ।
भक्तपुरमा महिला दिदीबहिनीहरूकै सक्रियताबाट पञ्चेहरूको दबदबामा अलि खुकुलोपन आएको खबर एकजना साथीबाट प्राप्त भयो । सल्लाहअनुसार म काठमाडौँमा फर्कने निधो भयो । उपचारमा खर्च गर्दा बाँकी भएको केही रकम साथीहरूलाई छोडी प्रवासबाट स्वदेशमा आएँ । आमाको रोग बिसेक हुनुको सट्टा झन् बल्झियो र उहाँको मृत्यु भयो । दागवती दिन घाटमा पुग्न सकिनँ । जिउँदो छँदा नै ‘म मरे भने घाटमा नआउनु पक्रिएला’ भनी चिन्ता लिनुहुन्थ्यो आमा । मलाई सा¥है दुःख लाग्यो । आमाको मृत्युको दिन एकक्षण भूमिगत बसेकै कोठामा भावविह्वल भएर रोएँ ।
प्रवासबाट भक्तपुर पुगेपछि पुनः आफूले गर्नसक्ने गतिविधितिर लागेँ । जिम्मेवार साथीहरूलाई भूमिगत राख्न सघाएँ । भूमिगतरूपमै तःमुंज्याको कार्यक्रम आफ्नै टोलको एउटा घरको चोटामा सम्पन्न गर्ने काममा सघाएँ ।
आफू भूमिगत बसेका केही साथीका घरहरू म सधैँ सम्झन्छु । २०४६ फागुन ७ गतेबाट सुरु भएको जनआन्दोलनमा पनि भूमिगतरूपमै केही टोलहरूमा गई आन्दोलनको स्थिति र विवरणबारे जानकारी लिने काम गरियो । आन्दोलनमा जाने, सकेसम्म कम घाइते हुने, लामो समयसम्म गतिविधि सञ्चालन गर्नसक्ने स्थिति ल्याउने, अराजक गतिविधिहरू गर्न तम्सनेलाई रोक्ने काम ग¥यौँ ।
तर, बहुदल घोषणा हुँदा पनि अध्यक्ष रोहितलगायत साथीहरूको रिहा भएको थिएन । २०४७ वैशाख ५ गते उहाँहरूको रिहाइ भयो र सबै भूमिगत साथीहरू हर्षोल्लासका साथ बाहिर निस्कनुभयो ।
पत्रकारितामा संलग्न भएपछि ‘श्रमिक’ साप्ताहिकको कुन–कुन कार्यक्रमहरूमा सहभागी हुनुभयो ?
काठमाडौँ उपत्यकाबाहिर पनि पार्टी अध्यक्ष रोहितको प्रमुख आतिथ्यमा ‘श्रमिक’ साप्ताहिक पत्रिका विषयक अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्न जिम्मेवारी पाएको थिएँ ।
मिति २०५४÷०३÷०३ गते ‘श्रमिक’ साप्ताहिक पत्रिकाको स्वामित्व प्रेम सुवालबाट हस्तान्तरण गरी मेरो नाउँमा आयो । उक्त साप्ताहिकको प्रकाशक एवं सम्पादक भई उपत्यकाबाहिर निम्न ठाउँहरूमा बुद्धिजीवीहरूमाझ अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो ।
– २०५७ कार्तिकमा कोहलपुरमा ।
– २०५७ पुसमा बुटवलको सुप्रिम गेस्ट हाउसमा ।
– २०५८ मंसिरमा रौतहटमा ।
– २०५९ फागुनमा बुटवलमै अध्यक्ष रोहितसँग स्थानीयको भेटघाट कार्यक्रममा ।
– २०५९ चैत १० गते पत्रकार महासङ्घ, राजविराजको आयोजनामा ‘श्रमिक’ साप्ताहिक विषयक अन्तरक्रिया राजविराजमा ।
यस्तै सुर्खेत, जुम्ला र विराटनगरमा पनि उक्त साप्ताहिकको अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी भएको थिएँ ।
अन्तरक्रिया कार्यक्रममा महिला सहभागीहरू पनि हुनुहुन्थ्यो । उहाँहरूसँग गरेको कुराकानीको आधारमा ‘श्रमिक’ को ‘एकक्षण’ कोलोम भर्न सघाउ पुग्थ्यो ।
निश्चित विषयमा कार्यकर्ता साथीहरूलाई तालिम पनि दिनुहुन्छ, होइन ?
नेक्राविसङ्घमा आबद्ध हुँदा जिल्ला समिति भक्तपुरले जिल्लाका विभिन्न गाउँहरूमा रुटिन बनाएर साङ्गठनिक कक्षाहरू सञ्चालन गर्दथ्यो । भक्तपुरको चित्तपोल, दधिकोट, गुण्डू, कटुन्जे, ठिमी, बोडे, सिपाडोल, ताथली, नंखेल जान्थँे । त्यस्तै पार्टी केन्द्रीय समितिमा छँदा काठमाडौँको इन्चार्ज भई बलम्बु, सतुङ्गल, टोखा, गोल्फूपाखा, मनमय्जु, हाँडीगाउँ, धर्मस्थली, कीर्तिपुर, पाङ्गा आदि ठाउँहरूमा बैठक राख्न जान्थेँ । त्यहाँका स्थानीय साथीहरूको समिति सञ्चालन र पार्टी गतिविधिमा सरिक भएँ । ललितपुरको लेले र बडीखेलमा पहारी साथीहरूको माझ साङ्गठनिक क्रियाकलापहरू पनि गरेँ ।
बाहिरी जिल्लाका साथी र विद्यार्थीको पनि पार्टीगत कक्षा र प्रशिक्षण कक्षाहरू सञ्चालन गरेको थिएँ । बा¥हविसे र धनगढीमा गएर विद्यार्थीको निःशुल्क ट्युसन कक्षा पनि सञ्चालन ग¥यौँ । त्यस्तै नेक्राशिसङ्घ केन्द्रीय समितिको आयोजनामा पश्चिमाञ्चलका शिक्षक साथीहरूको लागि सञ्चालन गरिएको विषयगत र साङ्गठनिक कक्षामा सघाएँ ।
मिति २०५२ मंसिरमा भएको सामूहिक अभियान जनकेन्द्रित विकास आवासीय कार्यशाला गोष्ठी धुलिखेलमा पार्टीको तर्फबाट सुनिल प्रजापति, कृष्णकुमार वैद्यसँगै सहभागी भएको थिएँ ।
नेक्राविसङ्घद्वारा आयोजित कक्षाहरूमा भूगोल विषयक प्रशिक्षण दिएँ । त्यस्तै विभिन्न तहका विद्यार्थी र राजनैतिक कार्यकर्ता साथीहरूको निम्ति सञ्चालन गरेको सैद्धान्तिक र दर्शनसम्बन्धी कक्षाहरूमा सघाएँ । पार्टीको निर्देशनमा भक्तपुर पार्टी कार्यकर्ता साथीहरूको अङ्ग्रेजी भाषा शिक्षण तालिममा पनि सघाएको थिएँ ।
हाल के गर्दै हुनुहुन्छ ?
मिति २०६६÷१÷२७ गते बौद्ध दर्शन अध्ययन समाजमा आबद्ध भई ०७० असारमा उक्त समाजद्वारा प्रकाशित गर्दै आएको बौद्ध दर्शनसम्बन्धी त्रैमासिक पत्रिका ‘अर्हत्’ को सम्पादक बनी हालसम्म कार्यरत छु ।
भक्तपुर नगरपालिकाले २०७४ माघ महिनामा गठन गरिएको स्थानीय पाठ्यक्रम निर्माण कार्यदलमा सदस्य भई कार्यरत छु । त्यस्तै पत्रकार समाज, नेपाल र अन्य केही सामाजिक समितिहरूमा पनि आबद्ध छु ।

One response to “प्रकाशमा आउन नचाहने एक कार्यकर्ता”

  1. प्रमोद न्यौपाने says:

    म दैलेख को बासिन्दा यो लेख पडिरहदा मेरो घर डाडिमाडी मा पनि आयको कुरा पड्न पाउँदा खुसी लाग्यो!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *