स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
नेकपाकै एक केन्द्रीय सदस्यले नेकपामा कम्युनिस्ट पार्टीको कुनै गुण, चरित्र र व्यवहार नभएको भनी दुखेसो पोखे । देशमा नेकपाबाहेक अर्काे विकल्प शक्ति नभएरमात्रै नेकपा टिकिरहेको उनको दुखेसो हो । सत्ता आफ्नो हातमा लिनु या सरकारको नेतृत्व गर्नु नै नेकपाको उद्देश्य रह्यो । पुँजीवादी व्यवस्थाको सरकारमा जानु नै आफ्नो उद्देश्य ठान्ने नेकपाले देशमा आमूल परिवर्तन गर्ने कुनै आशा छैन । नेकपाले कम्युनिस्ट सिद्धान्त र विचार भुलेको छ । पार्टीको पथ प्रदर्शक माक्र्सवाद–लेनिनवाद भने तापनि त्यो देखाउने दाँतमात्र भएको छ । माक्र्सवाद र लेनिनवादलाई नेपालको परिस्थितिअनुसार लागू गर्नेतर्फ नेकपा लागेको छैन ।
नेकपाले नेपाली जनतासामु झूटको राजनीति गरिरहेको छ । पुँजीवादी राजनीति गर्ने हो भने नेकपाले दलको नाम फेर्नुपर्छ, दलको पथप्रदर्शक माक्र्सवाद–लेनिनवाद छोड्नुपर्छ । नेकपाले या त माक्र्सवादी र लेनिनवादी सिद्धान्तअनुसार राजनीति गर्नुपर्छ या त त्यो दर्शन छोड्नुपर्छ । कम्युनिस्टको कुनै गुण, चरित्र, मूल्य र मान्यता नभएको नेकपाले नेपाल कम्युनिस्ट पार्टी नाउँ राख्नुको अर्थ छैन । अब हुन लागेको नेकपाको महाधिवेशनले पार्टीको नाउँ फेर्नुपर्छ र सिद्धान्त र विचार एक व्यवहार अर्काे गर्ने द्वैधचरित्र छोड्नुपर्छ ।
हरेक राजनीतिक दलको दर्शन, सिद्धान्त र विचार हुन्छ । दलको दर्शन, सिद्धान्त र विचार देखाउने दाँत होइन । त्यो जीवन पद्धति हो, व्यवहारमा लागू गर्ने नीति हो । सिद्धान्त र विचार भुल्ने नेताहरूको विचार स्थिर हुँदैन, विचारको ठेकान हुँदैन । उनीहरू कहिले आवेगमा त कहिलै रिसमा आफू अनुकूल विचार व्यक्त गर्छन् । कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भनेझैँ उनीहरूको दृष्टिकोण एउटै हुँदैन । कम्युनिस्टको सिद्धान्त र विचारले भिजेको भए व्यक्तिपिच्छे फरक–फरक विचार हुँदैन । एमसीसी सम्झौताबारे नेकपाका अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको फरक फरक मत हुनुको कारण कम्युनिस्टको सिद्धान्त र विचार भुल्नु नै हो ।
शक्तिशाली, ठूलो, गौरवशाली भनिएको नेकपाले जनताको घर आँगनमा कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गर्नुपर्ने हो । समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सुसूचित पार्नुपर्ने हो । भ्रष्टाचारविरोधी आन्दोलन छेड्नुपर्ने हो । हरेक भ्रष्टाचारी, कमिसनखोर, कालाबजारीहरूलाई जेलमा कोच्नुपर्ने हो । मानव बेचबिखन गर्ने, बेपत्ता पार्ने, अपहरण गर्ने, अङ्ग बेचबिखन गर्ने, बलात्कार गरी हत्या गर्ने, हत्या हिंसा गर्ने अपराधीहरूलाई कडा कारबाही गर्नुपर्ने हो । तर, वर्तमान सरकारले त्यो काम गर्ने आँट गरिरहेको छैन । नेकपाका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरू नै आपराधिक काममा फसिरहेको हुँदा सरकार र नेकपाले त्यो काम गरिरहेका छैनन् । बरु, सरकार पुँजीपति, भ्रष्टाचारी, कमिसनखोर, कालाबजारीहरूको घेरामा रहेको छ । नेकपाका नेताहरूले निजी उद्योगधन्दा, अस्पताल, स्कूल, कलेज सञ्चालन गरिरहेको हुँदा सरकारले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्न नचाहेको हो, नगरेको हो । नेकपाले झूटको राजनीति छोड्नुपर्छ । झूटको राजनीति गर्ने दल र दलको सरकारलाई जनताले फाल्नुपर्छ ।
Leave a Reply