भर्खरै :

ताथलीवासीको खानेपानीको तिर्खा मेट्दै

भक्तपुर, १७ कार्तिक । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली तथा आसपासलाई लक्षित गरी खानेपानी आयोजना निर्माण गर्ने कार्य तीव्ररूपमा अघि बढेको छ । करिब १६ करोड रूपैयाँको लागतमा सम्पन्न हुने उक्त खानेपानी आयोजनामा नेपाल सरकारको ७० प्रतिशत र जनसमुदायको ३० प्रतिशत लगानीमा निर्माण सम्पन्न हुने क्रममा छ ।
योजनाअन्तर्गत संस्थाले उपभोक्तालाई धारा वितरणका साथ पानी चालू गर्न थालेको छ । जनसमुदायले लगानी गर्ने ३० प्रतिशत रकम उठाउन केही समय लाग्ने भएकोले नगर विकास कोषबाट ऋण लिइएको छ । संस्थाका अध्यक्ष नकुल राउतले नगर विकास कोषले २ करोड २८ लाख २८ हजार ३ सय ७९ रूपैयाँ ऋण उपलब्ध गराउनका लागि सम्झौता भइसकेको बताए । यो आयोजनाबाट ताथली र आसपासका गरी १५०० घरधुरी खानेपानीबाट लाभान्वित हुनेछन् ।
मानिसको दैनिकी र जीवनका लागि आवश्यक खानेपानी बन्दोबस्त गरी जीवनलाई सहज बनाउने सहयात्रीको रूपमा रहेको खानेपानी आयोजनाले अहिलेसम्म ५ लाख लिटरको ट्याङ्की र ४ वटा डीप बोरिङ गरिसकेको छ । “हालैमात्र २ वटा डीप बोरिङ सकाएका छौँ, हामी खानेपानी चालू गर्न अझ तत्परताका साथ लागिरहेका छौँ ।” संस्थाका उपाध्यक्ष एकबहादुर खत्रीले भने ।
खानेपानीलाई चालू गर्न र आवश्यक प्रशासनिक कामलाई सहज तरिकाले अघि बढाउन संस्थाले कार्यालयको भवन बनाइसकेको छ भने ताथलीका अधिकांश टोलहरूमा पाइपलाइन विस्तार गरिसकेको छ । कतिपय टोलहरूमा पानी वितरण भइसकेको छ । पानी वितरणसँगै वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेका स्थानीयले राहत महसुस गरेका छन् ।
साविक ताथली गाविसका वडा नं. ४ देखि ९ वडासम्मका स्थानीयहरूले विगत धेरै वर्षदेखि खानेपानीको चरम समस्या भोग्दै आए । सञ्चालनमा आएका योजनाहरू पनि दीगो हुन नसकेको अवस्थामा खानेपानी समस्याको दीगो समाधानको उद्देश्यसहित विन्दवासिनी बृहत् लिफ्ट खानेपानी जल उपभोक्ता संस्थाको जन्म भएको संस्थाका अध्यक्ष राउतको भनाइ छ । सोही उद्देश्यअनुसार काम गरिरहेको जानकारी दिँदै अधयक्ष राउत भन्छन्, “वि.सं. २०७१ साउन २० गतेका दिन दर्ता भएको यो योजना नेपाल सरकारको २०७१ सालको रातो पुस्तिकामा उल्लेख भएर आवश्यक बजेट उपलब्ध भएको थियो । योजनाको कामका लागि ताथलीका सबै व्यक्ति, राजनीतिक दल, सङ्घसंस्थाको सहयोग छ ।”
उनले टोलटोलमा खानेपानी वितरण सुरू गरेर पानी वितरणको परीक्षण सुखद रहेको चर्चा गर्दै पानी वितरण चालु भएसँगै उपभोक्ताबाट आएका सल्लाह, सुझाव र प्रतिक्रियालाई मनन गरी संस्थाले उपभोक्ताहरूको खानेपानीको मागअनुसार काम गर्ने नीति तय गरेको बताए ।
संस्थाका उपाध्यक्ष खत्रीले अहिले धमाधम खानेपानीको धारा वितरण गरिरहेको जानकारी दिँदै खानेपानीको समस्यामा रहेका ताथलीवासीले यो खानेपानीले लिफ्ट प्रविधि अपनाएर फिल्टर गरिएको पानी वितरण सुरू गरेसँगै लाभ लिन थालेको जनाए । “हामीले खानेपानी दिन थालेका छौँ, यो सुरूवाती चरण हो, कहीँकहीँकेही केही समस्या पनि देखिएको छ, त्यसलाई हामी भरसक छिटो समाधान गर्ने क्रममा छौँ ।” उपाध्यक्ष खत्रीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *