भर्खरै :

ओली–दाहाल द्वन्द्व सत्ताको लागि

जर्मनीका शासक हिटलर भन्थे, “मेरो शब्दकोषमा ‘असम्भव’ भन्ने शब्द नै छैन ।” नेपाली शासक भन्दै छन्, “हाम्रो शब्दकोषमा लाज–शरम भन्ने शब्द नै छैन ।” सन्दर्भ हो हाम्रो देशको शासक दलका कथित दुई पाइलट ओली– दाहालको लाजमर्दो भागबन्डा विवाद । एउटा हवाईजहाजका दुइटा पाइलट भनेर खुब गफ त दिए । तर, यिनीहरूको वास्तविक व्यवहार भने ‘एउटै शरीरमा दुई टाउके भएर जन्मेको अप्राकृतिक मनुष्य’ जस्तै छ । त्यस्ता दुई टाउका स्वास्थ्य शरीरको लागि घाँडोमात्र हुन्छ । दुई टाउके शरीरको शल्यक्रिया अहिलेसम्म सफल भएको छैन । यी तथाकथित दुई पाइलटको अन्त्य पनि सुखद निश्चय हुने छैन । कुनै पनि समय ठूलो दुर्घटनाको समाचार आउने सम्भावना उत्तिकै । नालायकका झुन्डहरू यो देशलाई घाँडो भइसक्यो । यात्रुरूपी हामी जनताको बुद्धिमत्तापूर्वक खबरदारीको आवश्यकता जरुरी भयो ।
यिनीहरूको विवादको कारण पार्टी फुट्ने हो कि भन्ने हल्ला चल्दै छ । सत्तामोहको ¥याल चुहाउने दुवै पक्षका भारदार र आसेपासेहरूलाई ठूलै चिन्ता परेको छ–आफ्नो भागको हड्डी चुस्न नपाइला भनेर ¤ पार्टी फुट्नु भनेको फरक विचारबीचको द्वन्द्व समाधान गर्न सकिने सबै सम्भावना समाप्त हुनु हो । तर, पार्टीसँग विचार र आदर्श समाप्त भइसकेपछि फुट्नुपर्ने कारण नै रहँदैन अर्थात् फुटको हल्ला एकअर्कालाई गलाउने तुरुपमात्रै हो । त्यसैले ‘नेकपा डबल’ बरु त्रिपल होला, फुट्न सक्दैन । फुट्दा हुने कुरा ‘तँलाई न मलाई, ज्वार्इँलाई’ भनेजस्तै हो । दुई पार्टीलाई मिलाउने लिसो ‘सत्ता’ हो । एकबाट दुई हुनासाथ सत्ता गुम्छ । दुई पार्टीका नेतालाई जुन कुराले मिलाएको थियो त्यो सधैँ उपलब्ध छ अर्थात् सत्तालिप्साले पार्टी फुट्न दिंदैन । बाँडेर खान पाएसम्म एकता रहिरहन्छ । पार्टी फुट्न नसकेर मिल्नुपर्ने यथेष्ट बाध्यता र कारणहरू छन् । तसर्थ फुट्दैन । बरु निर्लज्ज भएर सबै सिद्धान्त, नैतिकता, आदर्श र मूल्य–मान्यता तिलाञ्जली दिएर टाँसेरै बस्छन् । राजनीतिलाई दुर्गन्धित बनाउनेहरूको धर्म भनेकै निर्वस्त्र विकल्पमा जानू अर्थात् लज्जा त्याग्नु नै हो । त्यही भएर एकातिर ‘गोरूगाडावादी, भ्रष्टाचारीका नाइके, घोर दक्षिणपन्थी’ र अर्कोतिर ‘परिवारवाद, षड्यन्त्रकारीहरू’ अहिले नै पार्टी फुट्ला भनेर चिन्ता लिनु पर्दैन । तर, भविष्यमा एकै डल्लो भए पनि सिद्धिने हो, फुटेर गए पनि सिद्धिने नै हो ।
वास्तवमा त्याग समर्पण भएर पार्टी एकता भए पो दीर्घकालीन हुन्छ । गम्भीर वैचारिक बहसबिना गरिएको चुनावी एकताले निम्त्याउने भनेको विघटन नै हो । हुन त कम्युनिस्ट होइनौँ भनेपछि बहस गर्न आवश्यक पनि त थिएन । विचार र सिद्धान्तको बहससहित एकीकृत भएको पार्टी होइन बल्की लुटपाट गर्दा एउटा गुण्डा समूहले अर्को समूहको क्षेत्रमा हस्तक्षेप नगर्ने सहमत भएको जस्तै हो । लोभ र पापले भरिएका एकले अर्कोलाई छिड्की हान्ने दाउपेचमा भएको एकता स्वार्थ मिलेसम्म हुनु स्वाभाविक हो ।
यी लोभीपापीहरूको झगडाको प्रसङ्ग तिहारमा देउसी भैलो खेल्ने बच्चाहरूको झगडासँग पनि मेल खान्छ । बच्चाहरू तिहारमा देउसी खेलेर जम्मा भएको पैसा भाग लगाउँदा सधैँ झगडा गर्छन् । भाग धेरथोर पर्छ अनि फेरि झगडा गर्छन् । उसले मात्रै धेरै पायो, मैले पाइनँ भनिरहन्छन् । तर, भोलि फेरि मिलिहाल्छन् । बच्चाहरूको कुरा अहिलेका नेताहरूसँग मेल खाएको देख्दा भने अचम्म लाग्छ । तर, फरक के भने बच्चाहरूको विवाद पैसाको भागबन्डाको लागि हुन्छ भने यी नेताहरूको विवाद देशको सम्पत्तिको भागबन्डाको लागि हुन्छ । जसले सम्पूर्ण जनताको जीवन कष्टमय बनाएको हुन्छ ।
वास्तवमा यिनीहरूको एकता जनताको लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात् ।’ एकजुट हुनु ठीक कि बेठीक, त्यसको परिणामले निर्धारण गर्छ । मौरी एकजुट भयो भने महको चाका बन्छ, बाँदर एकजुट भयो भने सोत्तर पार्छ । गलत मनसायको यात्रा गन्तव्यमा नपुगी दुर्घटनामा परिणत हुनु स्वाभाविक छ । एमाले र माओवादीबीच एकता हुनसक्यो किनकि ती दुवै पार्टीसँग कुनै सुसंस्कृत विचार, नीति र दर्शन थिएन । दुई पार्टीलाई एक ठाउँमा ल्याउने एकमात्र तत्व थियो सत्तास्वार्थ । त्यसैले यिनीहरूको एउटा बाँदर एकजुट हुनुसँग दाँज्न मिल्छ जसले देशलाई सोत्तर पारिसक्यो ।
प्रचण्डले भनेका व्यक्तिलाई मन्त्री बनाउन ओली मानेनन् अरे ¤ ओलीले आफ्ना मान्छेलाई मात्र लाभका पद बाँडे अरे ! जनताले पदको भागबन्डाका यस्ता समाचार कतिञ्जेलसम्म सुनिरहने ? वास्तवमा दाहालको असन्तुष्टि ओलीले देशमाथि एकपछि अर्को गर्दै गरेको घातविरुद्ध भएको भए सबै नेपाली खुसी भए होलान् । प्रधानमन्त्री ओलीले पार्टीको माक्र्सवाद–लेनिनवाद नीतिअनुरूप सरकार चलाउन नसकेको, विदेशी जासुसी निकायका प्रमुखलाई गोप्यरूपमा भेटेको, कोरोनाविरुद्धको लडाइँमा खरो उत्रन नसकेको लगायतका आरोप लगाएर ओलीविरुद्ध पार्टीभित्रै बाट अविश्वासको प्रस्ताव दर्ता गरेको भए दाहालको ओलीमाथि असन्तुष्टि जनताले मनपराउने थिए कि ! भ्रष्टाचारीहरूलाई बचाउन प्रधानमन्त्री आफैँ ढाल बनेर देशहितविरुद्ध लागेको भनेर प्रचण्डको ओलीसँग द्वन्द्व भएको भए जनताले मनपराउँथे कि ¤ कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमुनि राखेर सीधा पार्न सकिएला तर यी दुई नेतामा लोभीपापी चरित्र कहिल्यै नहट्ने निश्चित छ । राजनेता हुन ठूलो छाती र कपटरहित मन चाहिन्छ । निष्कलङ्क चरित्र त्यसको अनिवार्य सर्त हो ! यो गुण यिनीहरूबाट आशा गर्नु सिस्नु रोपेर तुल्सीको आशा गर्नुजस्तै हो ।
सङ्क्षेपमा, प्रमले आफ्नो र देशको गरिमा बचाउन सकेनन् । ओलीको निकम्मापनले गर्दा भारतले नेपालका प्रधानमन्त्रीसमेत ‘रअ’ मातहतका हुन् भनेर देखाउन खोज्यो । राष्ट्रिय हितविपरीत काम गरेको आरोप लागेका प्रधानमन्त्री ओलीविरुद्ध विपक्षले अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत गर्नैपर्छ । “मलाई भारतले प्रधानमन्त्री पदबाट हटाउन लाग्यो” भन्ने अभिव्यक्ति दिने अनि त्यही देशको गुप्तचर संस्था रअको गुलामी गर्ने ! यस्ता राष्ट्रघाती प्रधानमन्त्री ओलीलाई समयमै पदबाट हटाइएन भने यसले थोरै बाँकी भएको देशको इज्जत पनि माटोमा मिलाउने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *