भर्खरै :

सङ्कटमा केही नगर्ने विश्वविद्यालयहरू

विश्वविद्यालयहरू शैक्षिक योग्यताको प्रमाणपत्र भिडाउने थलो होइनन् । संसारको इतिहास फर्केर हेर्दा विश्वविद्यालयहरू सधैँ ज्ञान सिर्जना र अनुसन्धानका केन्द्र बन्दै आएका छन् । इतिहासका नजानिएका पाटा पत्र–पत्र केलाएर जानकारीका नयाँ आयाम उजागर गर्नेदेखि भविष्यमा आउन सक्ने खतराबारे संसारलाई अगावै सचेत बनाउने र रोकथामका बाटा देखाउने काम विश्वविद्यालयबाट हुने गरेका छन् । मानव समाजले यतिबेला अनेकन नयाँ–नयाँ समस्याको सामना गरिरहेको छ । जलवायु परिवर्तनदेखि कोभिड–१९ महामारी मानिसले आज भोगिरहेका मुख्य चुनौती हुन् । ती चुनौतीको सामना गर्न संसारका विश्वविद्यालयहरू गहन अध्ययन अनुसन्धानमा लागिपरेका छन् । जलवायु परिवर्तनले संसारमा कस्तो प्रभाव देखाइरहेको छ, मानव समाजमा त्यसले कस्तो प्रभाव पारेको छ वा पार्न सक्छ । त्यस्तै रोकथामका उपायबारे पनि विश्वविद्यालयका विभिन्न विभागहरूमा अनुसन्धान भइरहेका छन् । कोभिड–१९ महामारीले मानव समाजका विभिन्न क्षेत्रमा पारेको प्रभावदेखि कोभिड–१९ को खोप आविष्कारसम्ममा संसारका विश्वविद्यालयहरू सक्रियतापूर्वक लागिपरेका छन् ।
विश्वका विश्वविद्यालयहरू संसारलाई नयाँ ज्ञान दिने दौडमा लागिरहँदा नेपालका विश्वविद्यालयहरू भने विद्यार्थीसँग परीक्षा लिने विधिबारे छलफल गरिरहेका छन् । विश्वविद्यालयका सङ्कायहरू न नेपालमा कोभिड–१९ ले पारेको सामाजिक–आर्थिक प्रभावबारे अध्ययन गर्न अग्रसर देखिएका छन् न त नेपाली जनतालाई कोभिडबाट जोगाउने उपायबारे खोज गर्ने कुनै खोज गरेको देखियो । केही गरौँ भन्ने उत्साह भएका प्राध्यापक र विद्यार्थीले केही अनलाइन बैठक गरेका छन्, निकै थोरैले केही लेख लेख्ने जाँगर देखाएका छन् । अधिकांश प्राध्यापकहरूले त त्यो उत्साह पनि देखाउन सकेनन् । विश्वविद्यालयका कक्षाहरू महिनौँ बन्द हुँदा मनमा पोल्नुको सट्टा कतिपय प्राध्यापकहरूलाई यो समय निकै आरामदायी बनेको छ । विश्वविद्यालयले यस्तो समयमा गर्नुपर्ने अनुसन्धानलाई कसरी अघि बढाउने भन्ने विषयमा कमैमात्र प्राध्यापकहरूले ‘ब्रेनस्ट्रमिङ’ गरेका छन् ।

देशकै सबभन्दा पुरानो र धेरै सङ्ख्यामा विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालय आज शैक्षिक प्रमाणपत्र बाँड्ने केन्द्रमात्र बनेको छ । देशको लागि आवश्यक अध्ययन अनुसन्धानको निम्ति त्रिविको भूमिका क्रमशः खुम्चिंदै गएको छ । राज्यले विश्वविद्यालयहरूलाई देशको अग्रगतिको लागि आवश्यक अनुसन्धानसँग जोड्न सकिरहेको छैन । फलतः विश्वविद्यालय देशको आवश्यकताको बाटोमा हिँड्न सकिरहेको छैन । राज्यले विश्वविद्यालयबाट केही फलाउन सकेन न त विश्वविद्यालयलाई गोडमेल नै गरेको देखियो ।

संसारका सबैजसो सभ्य र विकसित देशलाई उचाइमा पु¥याउन विश्वविद्यालयहरूले सिर्जना गरेका ज्ञानले अग्रणी भूमिका खेलेको देखिन्छ । देशलाई अघि बढाउन अध्ययन–अनुसन्धानले भूमिका खेलेजस्तै विकसित देशका सरकारहरूले पनि अध्ययन–अनुसन्धानलाई विशेष जोड र लगानी गर्दै गएको देखिन्छ । तर, नेपालमा न त विश्वविद्यालयहरूले त्यस्तो भूमिका खेल्न सकेका छन् न राज्यले नै विश्वविद्यालयहरूलाई त्यसको निम्ति उत्साहित बनाउने र लगानी बढाउने काम गर्न सकेको छ ।
देशकै सबभन्दा पुरानो र धेरै सङ्ख्यामा विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालय आज शैक्षिक प्रमाणपत्र बाँड्ने केन्द्रमात्र बनेको छ । देशको लागि आवश्यक अध्ययन अनुसन्धानको निम्ति त्रिविको भूमिका क्रमशः खुम्चिंदै गएको छ । राज्यले विश्वविद्यालयहरूलाई देशको अग्रगतिको लागि आवश्यक अनुसन्धानसँग जोड्न सकिरहेको छैन । फलतः विश्वविद्यालय देशको आवश्यकताको बाटोमा हिँड्न सकिरहेको छैन । राज्यले विश्वविद्यालयबाट केही फलाउन सकेन न त विश्वविद्यालयलाई गोडमेल नै गरेको देखियो ।
कुनै पनि व्यक्ति वा संस्थाको परीक्षा सङ्कटको घडीमा हुन्छ । यतिबेला नेपाली जनता पनि सङ्कटमा छन् । यस्तो परिस्थितिमा विश्वविद्यालयले आफ्नो दायित्व पूरा गर्न सकेको देखिएन । विश्वविद्यालयभित्रका विकृति, शिक्षाप्रति जड मान्यता, परम्परागत शिक्षण शैली र राज्यको जुम्सोपनाकै कारण आवश्यक पर्दा विश्वविद्यालयले सक्रियता देखाउन सकेन । विश्वविद्यालयलाई अध्ययन–अनुसन्धान र उत्पादनमुखी गतिविधिमा संलग्न गर्न सकेमात्र खासमा विश्वविद्यालय शिक्षाको अर्थ रहन सक्छ । राज्यले कहिले त्यस्तो विश्वविद्यालयको जग राख्ने जाँगर गर्ला कुन्नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *