भर्खरै :

नेपाल संवत् ११४१ र तिहार

प्रत्येक राष्ट्रले नयाँ वर्ष आ—आफ्नै रीति र संस्कृतिअनुसार मनाउने गर्छन् । प्राचीन युनानमा नयाँ वर्ष २१ जूनपछि पर्ने पूर्णिमामा मनाइन्थ्यो । रोमन सम्राट जुलियस सिजरभन्दा पूर्व रोमन नव वर्ष १ मार्चमा मनाइन्थ्यो । ईस्वी सन्को मूल रोमन संवत् हो । रोमन पञ्चाङ्गलाई मान्ने बेलायत, अमेरिका, क्यानाडा आदि देशहरूमा ३१ डिसेम्बरको राति रङ्गिचङ्गि बत्ती बाली नाच्दै—गाउँदै रमाइलो गरी बा¥ह बज्दा शुभकामना आदानप्रदान गरी बधाई दिई नव वर्ष मनाइन्छ । मित्र राष्ट्र चीन र इन्डोनेसियामा ईस्वी सन् र आ–आफ्नै मौलिक संवत् गरी दुई पटक नव वर्ष मनाइन्छ । नेपालमा पनि विक्रम संवत्अनुसार वैशाख १ गते र नेपाल संवत्अनुसार कार्तिक शुक्ल प्रतिपदा गरी दुई पटक नयाँ वर्ष मनाइन्छ । विक्रम संवत्अनुसार वैशाख १ गतेदेखि नयाँ वर्ष सुरू हुन्छ भने नेपाल संवत् कार्तिक शुक्ल प्रतिपदादेखि नयाँ वर्ष सुरू हुन्छ । यस वर्ष नेपाल संवत् ११४१ प्रवेश कार्तिक ३० गते आइतबार बिहान ११ बजे र २७ मिनेट उप्रान्त हुनेछ । नयाँ वर्ष मनाउने परम्परा प्रायः सबै देशहरूमा पाइन्छ । नेपालीहरू नयाँ वर्षको दिनलाई परम पवित्र मान्दछन् । विक्रम संवत्अनुसार नयाँ वर्ष हरेक वर्ष चैत मसान्तदेखि वैशाख १ गतेसम्म मनाइन्छ भने नेपाल संवत्अनुसार कार्तिक कृष्ण अमावास्यादेखि कार्तिक शुक्ल प्रतिपदासम्म नयाँ वर्ष मनाइन्छ । नेपालमा राष्ट्रिय संवत्को रूपमा विक्रम संवत्लाई मान्यता छ । ज्योतिषशास्त्र र ग्रहहरूको ज्ञान यसै संवत्को आधारमा पाइन्छ । हाम्रा सबै चाडपर्व र शुभकार्यहरू विक्रम संवत्मा नै आधारित छन् भने वार्षिक कर्म र पितृकार्यको लागि चन्द्रमास लिइन्छ ।

नेपाल संवत् नेपालको मौलिक संवत् हो । यो संवत् चन्द्रगतिअनुसार चल्ने भएको हुनाले तिथि नै यसको मुख्य आधार हो । ज्योतिष शास्त्रअनुसार सूर्य र चन्द्रको दुरी १२ अंश भएपछि एक तिथि हुन्छ । हाम्रो सम्पूर्ण कार्य तिथिअनुसार चलेका छन् । चन्द्र गति अर्थात् तिथिको मूल आधार गणित हो । गणितकै आधारमा ऋतु परिवर्तन भइरहन्छ । ऋतु परिवर्तनको कारणबाट नै यहाँ जाडो महिना र वर्षा महिनाले पालो फेरिरहन्छ । कसैले आशिष दिँदा चन्द्रमा दाहिने परोस् भनिन्छ, कसैलाई सगुन दिँदा चन्द्रको प्रतीक दही दाहिने निधारमा टीका लगाई दिने चलन अझै जीवित छ ।
नेपालको मौलिक संवत् भनेको नेपाल संवत् नै हो । यसको वैज्ञानिक आधार र व्यवहारिक धरातल पनि छ ।
                                                                         नेपालमा नव वर्ष पर्व पश्चिमी मुलुकमा झैँ आमोदप्रमोदको वातावरणमा भन्दा तन्त्र र धार्मिक तथा ज्योतिषीय वातावरणमा मनाउने चलन बढी पाइन्छ ।
तिहार सामाजिक र पारिवारिक पर्व हो । यो पर्वलाई दीपावली पनि भनिन्छ । यो पर्वमा तीन सामूहिक पूजा गर्ने चलन छ । दैविकी, दानवी चेयं तिथि पैत्री युधिष्ठिर । दैवकी भन्नाले यमराज यमकिंकर (काग र कुकुर पूजा), गाईको पूजा, लक्ष्मी पूजा, आत्म पूजा, भ्रातृ पूजा आदि हुन् । दानवी भन्नाले बलि राजा पूजा अलक्ष्मी निष्काशन आदि र त्यस्तै पैत्री भन्नाले पार्वण श्राद्धा पितृ मार्ग प्रदर्शन आदि हुन् ।
लक्ष्मी पूजा कार्तिक कृष्ण औँसी बेलुका भएको दिन प्रदोष (सायं सन्ध्या) को समयमा पूजा गर्नु भन्ने शास्त्रमा लेखिएको छ । यस वर्ष २०७७ साल कार्तिक २९ गते लक्ष्मी पूजा पर्छ किनभने कार्तिक कृष्ण चतुर्दशी तिथि बिहान १३ः४९ बजेसम्म मात्र छ । त्यसपछि औंसी तिथि लाग्छ । औंसी तिथि कार्तिक ३० गते बिहान ११ः२७ बजेसम्म मात्र छ । कार्तिक ३० गते बेलुका औँसी तिथि नभएकोले यस दिन लक्ष्मी पूजा गर्दा विपरीत फल मिल्छ ।

कार्तिक कृष्ण औँसी नभएका बेलामा वा औँसीको घडी सकेपछि, निराजन गरेमा नारीले वैधव्य दुःख भोग्नु पर्ने र देशमा पनि विघ्नबाधा आदि आउने गर्छ । औँसी नभएको बेलामा लक्ष्मीको आह्वान गर्दा लक्ष्मीको प्रवेश हुँदैन ।
तिहार अर्थात् यमपञ्चक कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनलाई भनिन्छ । यसले समेटिएका पाँच तत्व:  अहिंसा, सत्य, अस्तेय् (छलचोरी गरी अरूको धन नलिने), ब्रह्मचर्य, अपरिग्रह हुन् । यो पर्वले सबै प्राणीमा सदाचार, समदृष्टि, समानता राख्न सिकाएको छ ।

आत्म (म्ह पूजा ):  पौराणिककालदेखि प्रचलनमा रहेको आत्मपूजालाई अहं पूजा अथवा स्वः पूजा पनि भनिन्छ । यो पूजालाई विशिष्ट मानिन्छ । म्ह पूजा सहस्राब्दी कालदेखि चलिआएको भन्ने कुरा भविष्य पुराण तथा स्वयम्भू पुराणमा उल्लेखित प्रमाणहरूबाट प्रत्यक्ष सिद्ध हुन्छ । यो पूजा मनोरञ्जन चाडको रूपमा मात्र मनाइएको होइन, यो पूजा पारमार्थिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक पूजा हो । म्ह पूजाको सन्दर्भमा भन्नु पर्दा तिहारलाई विभिन्न पक्षबाट परिभाषित गरेको पाइन्छ । जस्तै : गृष्म र वर्षा ऋतुपछि हेमन्त र शिशिर ऋतु आरम्भ हुनुभन्दा पहिले अर्थात् बीचको ऋतु हो । ऋतुलाई ज्योतिष विज्ञान र तन्त्र विज्ञानले ईडा, पिङ्गला सुषुम्णा भनिन्छ । तन्त्र विज्ञानअनुसार मेरुदण्डको बायाँतिरबाट मूलधारदेखि आज्ञाचक्रसम्म पुगेको धनुष आकारको चन्द्रमा जस्तै उज्यालो एक नशा वा नाडी, पिङ्गला मेरुदण्डको दाहिनेतिरबाट मूलधारदेखि आज्ञाचक्रसम्म पुगेको सूर्यझैँ चम्किलो धनुष आकारको नशा, (नाडी) सुषुम्णा हो । इडा र पिङ्गला द्वेष, सुख दुःख हुन्न भन्ने त्यस अवस्थाबाट पृथक भइसकेपछि प्राप्त हुने अवस्था हो । सुषुम्णा अर्थात् निष्काम कर्म गर्ने कर्म भनेको म्ह पूजा हो । यो पूजाले आत्मालाई ब्रम्हत्व प्राप्ति गराउँछ भनिन्छ । स्वर्लोक र भवर्लोकका देवताहरू त्रिमूर्ति र यमकिंकरको सानो मण्डलहरूबाट बीचमा परिवारका प्रत्येक व्यक्तिको निमित्त पञ्चतत्व प्रतीक पाँच सूक्ष्म मण्डल अष्टदल पद्म वा अष्टमण्डल बनाई आत्मचेतनत्व प्रज्वलित गर्ने तरिकाले (खेलु इता) हृदय पद्मदेखि सहस्रदल मस्तिक चक्रसम्मको लामो बत्ती बालेर बढी सतर्कता साथ पूजा गरिन्छ । मण्डल पानी, तेल र रेखीले लेख्छन् । पानी इदा नाडीको प्रतीक, रेखी पिङ्गला नाडीको प्रतीक र तेल सुषुम्णा नाडीको प्रतीक हो ।
यस वर्ष आत्म पूजा (म्ह पूजा) कार्तिक शुक्ल प्रतिपदा कार्तिक ३० गते आदित्यबार पर्छ । किनभने कार्तिक ३० गते बिहान ११ः२७ बजे सम्म औँशीतिथि पर्छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा अर्थात म्ह पूजाको तिथि प्रारम्भ हुन्छ । म्ह पूजा बेलुका गरिन्छ ।
यमद्वितीया:– मार्ग (मंसिर) १ गते सोमबार बिहान ९ः१२ मिनेटसम्म मात्र प्रतिपदा तिथि छ । त्यसपछि कार्तिक शुक्ल द्वितीया प्रारम्भ हुन्छ । यो तिथिलाई यमद्वितीया भनिन्छ । यस वर्षको भाइटीका मार्ग १ गते सोमबार परेको छ । मार्ग २ गते मङ्गलबार यमद्वितीया बिहान ७ बजेर ८ मिनेटसम्म छ । त्यसपछि कार्तिक शुक्ल तृतीया तिथि लाग्छ । यस दिन भाइटीका गर्नुहुँदैन भनी शास्त्रमा वर्णन गरिको छ । मध्याह्नकालको द्वितीया दिन छोडेर अर्को दिन उदय द्वितीया भयो भने तृतीया तिथिको दिन भाइटीका नगर्नु भनी रत्नावली ग्रन्थमा प्रस्ट लेखिएको छ ।
भ्रातृ पूजाको सुरूवात द्वापर युगमा दाज्यू यमराज अकस्मात् बहिनी यमुनाको घरमा आउनु भएकोले, बहिनी यमुनाले दाजु यमराजलाई ठूलो सत्कार गरी पूजा गरेका थिए । यमराज खुसी भई दुईवटा वर दिएका थिए ।
१) यमद्वितीयाको दिन दाजुलाई बहिनीले पूजा गरेमा बहिनीले वैधब्य भोग्नु नपरोस् ।
२) दाजुको आयु पनि क्षय नहोस् अर्थात् अकाल मृत्यु नहोस् भनी बरदान दिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *