भर्खरै :

किन हेर्ने ‘अफिम युद्ध’ ?

-सुरेश
अँध्यारो रात । चीसो बतास । त्यसमाथि झमझम बर्सात । कुनै चरित्रवानले बिस्तारै सास फेरेजस्तो चिनियाँ बाँसुरीको मधुर अनुगुञ्जन । पृष्ठभूमिमा चिनियाँ शैलीका दरबारहरू एकपछि अर्को गर्दै पर्दामा देखा पर्छन् । यसरी शुरु हुन्छ करिब अढाइ घण्टा लामो चलचित्र, अफिम युद्ध ।
सन् १८३९ । चिनियाँ सम्राट ताओ क्वाङलाई एक राजकर्मचारीले देशको तत्कालीन अवस्था र त्यसले ल्याउने भावी परिणामबारे अवगत गराउँदै पत्र लेख्छन् । त्यसबेला पूरै चीन अफिमको नशामा झोँक्राइरहेको थियो । आम जनता मात्र नभएर शिक्षक, कर्मचारी, सामन्त, सैनिक, दरबारका भारदार, राजकुमारहरू अफिम्ची भइसकेका थिए । अफिमको व्यापारले बेलायतीहरू त मालामाल भएका थिए नै, त्यस व्यापारको दलाली गरेर हात चाट्नेहरू पनि धनाढ्य भएका थिए । तर कोपभाजनका डरले बाहिर भने टालेका लुगा लगाएर हिँड्थे । भारतबाट समुद्री मार्गबाट लगिने अफिमको जाँच गर्ने जाँचकीदेखि दरबारी कर्मचारीहरूसम्मलार्ई अफिमको कालो धनले भ्रष्ट पारेका थिए बेलायती साम्राज्यवादीहरूले । स्थितिको संवेदनशीलतालाई दर्शाउँदै ती राजकर्मचारी पत्रमा लेख्छन्, “हामीले केही नगर्ने हो भने आउँदो दश वर्षमा राजढुकुटी रित्तिँदै जानेछ, साम्राज्य नै असुरक्षित बन्नेछ, विदेशीहरूले बिनायुद्ध देशै निल्नेछन् ।” सम्राटले ती राजकर्मचारीलाई दरबारमा बोलाएर देशमा अफिमको व्यापारलाई बन्द गर्ने जिम्मा सुम्पन्छन् । ती व्यापारीले अफिम व्यापारलाई पूर्णतः नरोकेसम्म आफू राजधानी नफर्कने कसम खान्छन् । ती कर्मचारी थिए, लिन चे–स्यु ।
बेलायतीहरू जोसित अरुसँगभन्दा बढी सूचना हुन्छ, त्यसले बढी पैसा कमाउँछ भन्छन् । त्यसैले चिनियाँ समाजका प्रतिष्ठित व्यक्तिको विवरण राखेका हुन्छन् । बेलायती विवरणमा लिन चे–स्युको परिचय यसप्रकार हुन्छ – राजकर्मचारी लिन चे–स्यु फुस्यानको एक गरिब परिवारमा जन्मेका थिए । २० वर्षको उमेरमा प्रान्तीय परीक्षामा प्रथम भए । २७ वर्षको उमेरमा दरबारको परीक्षामा प्रथम भए । काम सम्हालेपछि उनले कर प्रणाली, सामुद्रिक परिवहन र खाद्य प्रणालीको नियन्त्रणमा उल्लेखनीय कार्य गरेकाले सम्राटको विश्वास प्राप्त छ उनलार्ई । उनी दृढ एवं प्रभावशाली नेता हुन् ।
लिन चे–स्युको मान्यता हुन्छ, आफूलाई र शत्रुलाई चिन्नेले नै युद्ध जित्छ । अफिम व्यापारमाथि रोक लगाउने काम जिम्मा लिएपछि उनले ग्वाङझाउ पुगेर समस्याको जायजा लिन्छन् । बेलायतीहरूसँग काम गरेका चिनियाँहरूबाट पश्चिमा चालचलन, सोच र ज्ञानविज्ञानबारे जानकारी लिन्छन् । स्थानीय अफिम व्यापारी, अफिमका दलालआदिलाई पक्राउ गरी केरकार गर्छन् । अफिमको व्यापारमा प्रतिबन्ध लाग्छ । तर डेण्टनको नेतृत्वमा रहेको बेलायती व्यापारिक समाजले युद्धको मानसिकता देखाउँदै द्विपक्षीय व्यापारकोे नाममा यो निर्णयलाई सघाउन नकार्छ । यो कदमलाई लिनले विशाल चिनियाँ साम्राज्यको अपमानको रुपमा लिन्छन् । त्यसैले विदेशी कारखाना एवं आवास क्षेत्रमा सैनिक घेराउद्वारा नाकाबन्दी गरेर अफिम जफत गर्छन् ।
यसैक्रममा फिल्ममा एउटा मार्मिक दृश्य देखिन्छ । एक इसाई पादरी सेतो झण्डा लिएर लिनलाई भेट्न आउँछन् । अफिमको व्यापार रोक्नु जायज भए पनि पानी रोकेर नाकाबन्दी गर्नु मानवीय व्यवहार नभएको बताउँछन् । ईश्वरको निम्ति नाकाबन्दी रोक्न अनुरोध गर्छन् । जवाफमा लिन भन्छन्, “बेलायती महारानीले आफ्नो देशमा प्रतिबन्ध लगाएको अफिम चीनमा बेच्नु, यहाँका लाखौँ जनताको जीवन तहसनहस गर्नु के मानवीय व्यवहार हो ? कहाँ छ हजुरको ईश्वर ? यी सयौँ वर्षसम्म कहाँ गएका थिए हजुरका मानवीय सिद्धान्तहरू ?”
स्थिति पकडमा आएपछि जफत गरिएको सारा बेलायती अफिम हुमिननजिकै समुद्रमा नष्ट गरिन्छ । लिनले आइन्दा अफिम व्यापारलाई निरुत्साहित गर्न भ्रष्ट एवं घुसखोर कर्मचारीहरूलाई कार्वाही गर्छन् । यस्तो कार्यबाट अफिमका व्यापारी एवं तस्करहरू मुर्मुरिन्छन् । बदला लिनका लागि कप्तान इलियटले बेलायत सरकारलाई हारगुहार गरी पत्राचार गर्छन् । सरकारलाई बेलायती संसदमा युद्धको निम्ति समर्थन जुटाउन हम्मेहम्मे पर्छ । महारानी स्वयं ‘विदेशी भूमिमा आफ्ना प्रजाको प्राण रक्षार्थ’ युद्धको पक्षमा जान्छिन् । यता लिन युद्धको तयारी गरी बसेका हुन्छन् । तर बेलायती युद्धपोत ग्वाङझाउ नगई नदीको बाटो हुँदै तियानसिन र पेकिङतर्पm लाग्छन् । औद्योगिक क्रान्ति पार गरिसकेको बेलायतको युद्धपोत तीव्र वेगमा चल्नसक्ने खालको हुन्छ । बेलायती सेना आधुनिक बन्दुक र टाढासम्म मार हान्नसक्ने तोपहरूले लैस हुन्छन् । चिनियाँ सेनासँग भाला, तरबार र कम क्षमताका तोप हुन्छन् । यसकारण बेलायतीहरू चिनियाँ किल्ला कब्जा गर्र्र्दै तियानसिन पुग्छन् ।
यो खबरले आत्तिएर राजदरबारमा बैठक बस्छ । लिनका हिमायतीहरूले कुनै हालतमा लड्न नछाड्ने विचार राख्छन् । हार मानेमा अन्य विदेशी राष्ट्रहरूले पनि युद्ध शुरु गर्नेछन् भनी तर्क गर्छन् । छलफलमा नरमपन्थी खेमा हावी हुन्छ । यस खेमाका नेता छिशानले शत्रु निकै बलियो भएको भनी विदेशी सेनाको शक्तिको बयान गर्छन् । उनले चिनियाँ शक्ति दुर्बल भएको सम्झाउँछन् । त्यसैले विदेशीसित वार्ता र सम्झौताको शान्तिपूर्ण नीति अख्तियार गर्नुपर्ने विचार राख्छन् । अन्ततः युद्धको बीचमा सम्राटले घोडा फेर्छन् ।
समस्यालाई शान्तिपूर्ण रुपमा समाधान गर्न लिनको ठाउँमा छिशानलाई खटाइन्छ । लिनसँगको भेटमा छिशानले उनलाई हटाउनका लागि आफूले अडान लिएकोमा माफी माग्दै आफ्नो नरम नीतिबारे बताउँछन् । लिन देशभरको शक्ति लगाएर लड्नुपर्ने धारणाबाट विचलित हुन्नन् । लिनले कार्यलय छाड्छन् । छिशानले काम शुरु गर्छन् । बेलायती शक्तिबाट त्रस्त छिशानले विदेशीसँगको बैठकमा खुशामद गर्दै साठी लाख चाँदीका सिक्का लिएर आफ्नो देश फर्कन भन्छन् । बेलायतीहरू घर फर्कने कुराको उल्टो हङकङ आफूलाई बेलायती महारानीको जन्मदिनको अवसरमा उपहारस्वरुप दिनुपर्ने सर्त थप्छन् । नत्र युद्ध शुरु गर्ने धम्की दिन्छन् । सम्राटसँग सल्लाह गर्ने भन्दै निकै लज्जास्पद हविगत लिएर उनी फर्कन्छन् ।

दरबारमा बेलायतको नयाँ सर्तबारे मन्त्रणा शुरु हुन्छ । पुराना भारदारहरूले बरु जनतालाई हतियार र तालिम दिएर भए पनि लड्नुपर्ने सुझाउँछन् । तर हङकङ दिएमा साम्राज्यको पतन शुरु हुने विचार राख्छन् । एक नरमपन्थीले भन्छन्, “जनतालाई हतियार दिएमा जनता उल्टै साम्राज्यको विरोधमा उभिएर उपद्रो मच्चाउन सक्छन् ।” शत्रु सेना राजधानीनजिकै आइपुगेको हुन्छ । सम्राटले रक्षात्मक युद्ध लड्नका लागि सबै प्रान्तीय सेनालाई राजधानी डाक्ने उर्दी जारी गर्दै बैठक स्थगित गर्छन् ।
बेलायती सेनाले आक्रमण गर्छ । चिनियाँ सेना धेरै समय टिक्न सक्दैन । चिनियाँ पक्षको सबैभन्दा बलियो किल्ला नै केही घण्टामा शत्रुको कब्जामा पर्छ । हुमिनलगायत विभिन्न स्थानमा जनताहरू स्वयं लडाइँमा उत्रिन्छन् । तर सैन्य नेताहरूको हिनताबोधका कारण चीनले हार खाँदै जान्छ । सम्राटले सम्झौताको बाटो खुला राख्न छिशानलाई आफै मनोमानी गरेकोमा दण्डीत गर्न राजधानी डाक्छन् । उनको ठाउँमा अर्कै एकजना नरमपन्थीलाई नियुक्त गर्छन् । लिनलाई भने सिच्याङ क्षेत्रमा सरुवा गर्छन् । सन् १८४२ अगस्त २९ मा चीन अपमानजनक नानकिङ सम्झौतामा हस्ताक्षर गर्न बाध्य हुन्छ ।
अफिम युद्ध ऐतिहासिक चलचित्र हो । तर हलिउडका प्राय हिस्टोरिकल एपिकजस्तो झकिझकाउ चलचित्र भने होइन । किनभने शायद यो बिकाउ चलचित्र होइन । चलचित्रको नाममै यसको विषयवस्तु अटाएको छ । तर चलचित्र हेर्दैजाँदा दर्शकको दिमाग एउटा ऐतिहासिक पात्रमा टाँसिन्छ । ती पात्र हुन्, लिन चे–स्यु । यसलाई यसरी भनौँ, चलचित्रमा अफिम युद्धको परिवेश देखाइएको छ । र, यो परिवेश एक इमानदार कर्मचारी एवं प्रखर देशभक्त लिन चे–स्युका विचार तथा कार्यवरिपरि घुम्छ । तैपनि, फिल्मले अन्य पात्रहरूलाई होच्याएर कथाको मूल पात्रलाई अग्लाएको छैन । यो फिल्मको इमान्दारीता र सफलता दुवै हो । दृश्य र संगीतको प्रभावकारी संयोजनले दर्शकमा अमिट छाप छोड्छ । चलचित्रमा धेरै ठाउँमा रोचक प्रतिकहरूको प्रयोग गरिएको छ । लिन चे–स्यु र छिशान छुट्टिँदै गर्दाको मार्मिक दृश्यको अन्त्यमा लिनले विश्वको नक्सा भएको ग्लोब छिशानलाई दिँदै सम्राटकहाँ पु¥याइदिन अनुरोध गर्छन् । यो प्रतिकको गहिरो अर्थ छ । चिनियाँ साम्राज्य विशाल भएर पनि विश्वका अन्य शक्तिशाली देशको बारेमा विस्तृत रुपमा थाहा नहुनु, ज्ञानविज्ञानको विकासबारे अनभिज्ञ हुनुजस्ता तत्कालीन चिनियाँ सामन्ती समाजमा कमजोरीतर्पm यसले इंगित गर्छ ।
कुनै पनि देश एकैबाजी कसैको उपनिवेश बन्दैन । आफ्नो शालीन शैलीमा का.रोहित बारम्बार दोहो¥याउनु हुन्छ । गौरवपूर्ण प्राचीन संस्कृति र ठूलो राष्ट्र हुुनुको अहंकार, भ्रष्ट कर्मचारीतन्त्र र नशामा लठ्ठिएको समाज । यी आफैमा कुनै पनि राज्यका लागि हानिकारक छन् । त्यसमाथि विदेशी गिद्धे दृष्टि परेपछि नानकिङ सम्झौताहरू भैरहन्छन् । आज हाम्रै देश नेपाल पनि यस्तै समस्याको जंजालमा पिल्सिँदैछ । तर हिम्मत हार्नु जनताको परिचय हुन्न । फिल्ममा एउटा यस्तै दृश्य छ । लिन चे–स्युले कार्यालय छाड्दै गर्दा झमझम पानी परिरहेको हुन्छ । नजिकै विद्यालयमा विद्यार्थीहरू पढिरहेका हुन्छन् । एकक्षण रोकिएर विद्यार्थीहरूलाई हेर्दै लिन आफ्ना सहयोगीलाई भन्छन्, “चिनियाँहरू पूर्वमा पाँच हजार वर्षसम्म कुनै भीमकायजस्तै उँचो भई उभ्भिरहे, यिनै नयाँ पुस्ताका विद्वानहरूका भरमा । बाहिर चाहे जतिसुकै बलियो शत्रु होस्, जस्तोसुकै त्रासद परिस्थिति होस्, विद्वानहरूको तालिमलाई रोक्नुहुन्न ।” चीन एक शताब्दीपछि बल्ल मुक्त भयो माओजस्ता विद्वान एवं संघर्षशील पुस्ताको समयमा । सायद यसकारण यो फिल्म हेर्न आवश्यक छ, प्रत्येक देशभक्तहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *