भर्खरै :

अनौठो भाइटीका

रीजु नामकी एकजना केटी थिइन् । उनी कक्षा ५ मा पढ्थिन् । उनी आफ्ना दुई जना बहिनी र आमाबुबाको साथ बस्थिन् । तर, उनको कोही दाजुभाइ थिएन । तिहार नजिकिँदै थियो । स्कूलमा तिहारको अवसरमा विशेष कार्यक्रम आयोजना गरिँदै थियो । स्कूलमा पनि सबै विद्यार्थी तिहारकै बारेमा कुरा गर्दै थिए । नेपाली विषयको गुरूले पनि तिहारकै विषयमा चर्चा गर्नुभयो । गुरूले भन्नुभयो,“तिहारमा सबैले आफ्ना दाइ र भाइलाई पूजा गर्छन् जुन दिनलाई भाइटिका भनिन्छ ।” बीचैमा गुरूले सोध्नुभयो, “क–कसले भाइटिका मनाएका छन् ?” तर, रीजुले बोल्नै सकिनन् किनकि उनको दाइभाइ कोही थिएन । हरेक तिहारमा उसलाई नरमाइलो हुन्छ, यही कारणले ।
रीजु घर गएर आमालाई सोधिन्, “आमा मेरो किन भाइ नभएको ? बहिनीमात्र किन ?” आमाले भनिन्, “भाइ नभएर के भो त ? तिमीलाई माया गर्ने बहिनी छँदै छ ।” तैपनि उनको मनले मानिरहेको थिएन, भाइ नभए नि हुन्छ भनेर ।
भाइटीकाको दिन सबै दिदी–भाइसँगै बसेर हाँस्दै–खेल्दै गरेको रीजुले देखिन् । सबैको निधारमा सप्तरङी टीका थियो । अरू बेला याद नभए पनि तिहार आउँदा भाइ नभएकोमा उनी दुःखी हुन्थिन् अनि भाइ पाओस् भनेर ‘भगवान’ सँग प्रार्थना गर्थिन् ।
यसरी नै धेरै तिहार बित्दै गयो । उनले भगवानसँग पनि धेरै प्रार्थना गरिन् । उनी १० वर्षकी भइन् । त्यही वर्षको भाइटीकाको दिन अस्पतालबाट उनको बुबाले उसको भाइ जन्मेको खुसीको खबर फोनबाट सुनाए । उनी धेरै खुसी भइन् । अघिल्लो सबै तिहारको खुसी एकै पटक आएको जस्तो भयो, उनलाई । उनी यति खुसी भइन्, उनलाई कसरी धुमधामसित तिहार मनाऊँ जस्तो भयो । धेरै पटाका पड्काएर रमाइलो गर्ने सोचिन् । बजार गएर उनले धेरै पटाका किनेर ल्याइन् । खुसी हुँदै पटाका पड्काउँदै गइन् । पटाका पड्काउँदा आउने आवाज नै उनलाई यति मीठो लाग्यो कि त्यो आवाज उनको भाइ कराएको जस्तो भयो । तर, दुर्भाग्यवस एउटा पटाका यसरी पड्क्यो, जसले उनको दुवै आँखामा चोट पु¥यायो । छिमेकीले उनलाई तुरून्तै अस्पताल लगे । संयोगवस उनको भाइ भएकै ठाउँमा उनलाई राखियो । तर, उनले देख्न सकिनन् । उनले भाइलाई छोएर मात्र चित्त बुझाइन् । उनको आँखाबाट खुसी र दुःखको आँसु एकै पटक बग्न थाल्यो । आँसुले उनले भाइको निधारमा स्पर्श ग¥यो । सायद उनको आँसु नै सप्तरङ्गी टीका रहेछ ! कस्तो अनौठो रहेछ उनीहरूबीचको पहिलो भाइटीका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *