भर्खरै :

सम्पदा संरक्षण र राजनीति

काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदामाथि हस्तक्षेपको शिलशिला बढ्दै गएसँगै सम्पदा र संस्कृति संरक्षणप्रतिको सजगता पनि फैलिँदो छ । पुराना पाटी पौवादेखि मठ मन्दिरसम्मको संरक्षण हुनुपर्नेमा सर्वसाधारणमा चेतना बढेको छ । ती मूर्त र अमूर्त सम्पदा नै आफ्नो पहिचान भएको वास्तविकता आज नयाँ पुस्ताले पनि बुझ्दै गएका छन् । त्यसकारण कहीँ पाटी पौवा बिग्रे–भत्केका छन्, कहीँ मठ–मन्दिर बेवास्ताको चेपुवामा छन् भने युवाहरूले फोटो खिचेर सामाजिक सञ्जालमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन थालेका छन् । बढ्दो जनसङ्ख्या, राज्यसत्ताको वक्रदृष्टि, अव्यवस्थित सहरीकरण आदि कारण जोखिममा पर्दै गएका काठमाडौँ उपत्यकाका सम्पदा संरक्षणको निम्ति जनस्तर, अझ विशेषतः युवाहरूमा फैलिएको यो जागरणलाई कालो बादल वरपरको चाँदीको घेरा भन्न सकिन्छ । यस्तो जागरणले माटोमा पुरिइसकेका धेरै सम्पदाहरूको उत्खनन र संरक्षण हुने आशा गर्न सकिन्छ ।
सम्पदा संरक्षणलाई राजनीतिबाट मुक्त राख्नुपर्ने विचारबारे पनि बेला–बेला छलफल हुने गर्छ । ‘जुनसुकै पार्टी वा राजनीतिक विचार भए पनि केही मतलब छैन, जसले सम्पदा संरक्षण गर्छ उनीहरू हाम्रा मित्र हुन्’ भन्ने भनाइ पनि यदाकदा सुनिन्छ । यी विचारका पक्षधरहरू सम्पदा संरक्षण कर्मलाई राजनीति मुक्त भएको ठान्छन् । के वास्तवमा सम्पदा संरक्षण उनीहरूले भनेजस्तो राजनीतिक विचारधाराभन्दा निरपेक्ष कर्म हो ?
हिजो संस्कृति र सम्पदाको निर्माण हुनुमा पनि राजनीति थियो भने आज ती संस्कृति र सम्पदामाथिको हमला पनि राजनीति नै हो । संस्कृति र सम्पदा संरक्षणको विषय कदापि राजनीतिबाट मुक्त हुनसक्दैन । सम्पदा संरक्षण वा विनाश राजनीतिक विचारधारासँग जोडिएको छ । शाहकालीन राजतन्त्रले काठमाडौँ उपत्यकाको संस्कृतिमाथि हमला गर्नु राजनीति थियो भने कतिपय संस्कृतिलाई अङ्गीकार गर्नु पनि राजनीति नै थियो । काठमाडौँको कुमारीलाई मान्नु पृथ्वीनारायण शाहको राजनीति थियो भने भक्तपुरको सफुकुथीमा आगो लगाउनु पनि राजनीति नै थियो ।
सम्पदा संरक्षणलाई कहीँ जीर्ण वा हराउन लागेका पाटी पौवा वा मठ मन्दिरको पुनर्जीवन दिनुमा मात्र सीमित गरिनु हुन्न । यसलाई हेर्ने कोण राजनीतिक विचारधारासँग पनि जोडिएको छ । नेपालका शासक दलहरूको आजसम्मको व्यवहार हेर्दा उनीहरूको राजनीतिक सोचाइ नेपालका कुनै पनि ठाउँ र समुदायको सांस्कृतिक निधि संरक्षणमा जोड दिने खालको छैन । राणा र पञ्चायती शासकहरूले नेपालको सांस्कृतिक विविधतालाई समेत स्वीकार्न तयार भएनन् । बरू त्यत्तिबेला संस्कृति र सम्पदा लगातार राज्य सत्ताको कोपभाजनमा पारियो । नेपाली काङ्ग्रेस, एमाले र माओवादीहरूले नेपालका विभिन्न समुदायलाई भोट बैङ्कको रूपमा दुरूपयोगमात्र गरे । मौलिक सम्पदा र संस्कृति संरक्षण उनीहरूको एजेन्डा कहिल्यै पनि भएन । विकास र समृद्धिको गुलियो कुरा गरेर विदेशबाट अनुदान र ऋण भिœयाएर मौलिकतामाथि दमन गर्नु नै ती दलहरूको मूल नीति बन्यो । नेकपाको वर्तमान सरकारको व्यवहारबाट पनि हामी यो निष्कर्षमा पुग्न कति पनि अलमल गर्नुपर्ने अवस्था छैन ।
सम्पदा र संस्कृति संरक्षण भएको चाहने र त्यसको लागि लागिपर्ने मानिसहरूले सम्पदा र संस्कृति संरक्षणमा चुकेका वा बेवास्ता गरेका शासक दलहरूलाई चिन्न जरूरी छ । गलत बाटो हिँडेर हामी कहिल्यै पनि सही गन्तव्यमा पुग्न सक्दैनौँ । उनीहरूले सम्पदा संरक्षणलाई सस्तो प्रचारबाजीको कोणबाट मात्र नभई दिगो शिलशिलाको रूपमा लिएका भए सम्पदा संरक्षण गर्ने राजनीतिक विचारधाराको प्रवद्र्धनलाई जोड दिनुपर्छ । राजनीतिबाट टाढा बसेर सम्पदा संरक्षण गर्नुको अर्थ मूल जरोमा नगई हाँगाबिँगामा अलमलिरहनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *