भर्खरै :

अझै सफा भएन बाग्मती

काठमाडौँ, ६ मङ्सिर । बाग्मती सफाइ महाअभियान सुरु भएको ४०० हप्ता हुन लागे पनि नदीको फोहोर अवस्थामा खास परिवर्तन आएको छैन । पशुपति क्षेत्रको गौरीघाट, शङ्खमूललगायत सांस्कृतिक स्थलमा फोहर जम्मा भए पनि सरोकार भएका निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ । अभियानकर्मीले सफा गरिरहने र फोहर फाल्नेले फालिरहने हो भने बाग्मती सधैँ प्रदूषित नै हुनेछ । अभियानकर्मी चक्रबहादुर चन्द शङ्खमूल क्षेत्रमा फोहर बढ्न थालेको बताए । सफाइमा स्थानीय सरकारले आवश्यकताअनुसार ध्यान नदिएको अभियानकर्मीको गुनासो छ ।
पशुपति क्षेत्रको आर्यघाटबाट बगाएको बाँसका लाँक्रा तीनकुने आलोकनगरसम्म पुग्न थालेको छ । आलोकनगर सफाइ अभियानकर्मी प्रमिला पौडेल कोरोनाका कारण सफाइ अभियानमा पहिलेको भन्दा कम सहभागिता जुट्न थालेपछि फोहर बढ्न थालेको स्वीकारिन् । फलस्वरूप नदीमा कालो पानी बग्न थालेको छ ।
विसं २०७० जेठ ५ गते बाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदीसहित देशका प्रमुख नदी एवं सहर गरी हालसम्म १०६ स्थानमा सफाइ गरिए । तथापि, नदीको अवस्थामा कुनै सुधार नहुनुको मूल कारण समस्याको मूल जरोमा पस्न नसक्नु भएको अभियन्ताहरूको भनाइ छ । हरेक साता केही सय मानिस भेला भई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा फोहोर सोहोर्दैमा करोडौँ जनताको बसोबास गर्ने काठमाडौँ उपत्यकाको प्रमुख नदी सफा हुन सम्भव छैन । नदीमा ढल मिसाउने अवस्था रहँदासम्म बाग्मती सफा हुनसक्दैन । सातामा केही टन फोहोर निकाल्दैमा नदी सफा हुँदैन । नदी फोहोर गर्ने स्रोतको व्यवस्थापन नगर्दासम्म नदी सफा हुँदैन ।
बाग्मती सफाइ महाअभियान सकारात्मक सोचबाट अघि बढेको अभियान भए पनि यसले चाहेको परिणाम अहिलेकै गतिबाट हासिल गर्न सम्भव छैन । सफाइ अभियानलाई केही राजनीतिक दलका नेताहरूले सस्तो लोकप्रियता कमाउने थलोको रूपमा दुरुपयोग गरे भने केही व्यक्तिले सफाइ अभियानको नाममा विभिन्न सरकारी र गैरसरकारी संस्थाबाट निकासा भएको बजेटको भरपुर फाइदा उठाए । तर, नदीको रङ भने अझै बदलिएन । पात टिपेर रुख मार्न सकिन्न । केही नगर्नुभन्दा हप्तामा एक दिन केही मानिसले सफाई अभियानलाई जारी राख्नु उचित भए पनि राज्यले नदी सफाइसम्बन्धी दिगो योजना ल्याई कार्यान्वयन नगरेसम्म नदीको काँचुली फेर्दैन ।
नदीलाई फोहोर गर्ने स्रोतको व्यवस्थापन गरी नदीको अवस्थामा केही सुधार गर्नु अल्पकालीन योजना हुनसक्छ भने काठमाडौँ उपत्यकामा जनसङ्ख्या केन्द्रीकरण रोक्न आवश्यक छ । जनसङ्ख्या बढेसँगै बढ्ने फोहोरले नदीलाई फोहोर बढाउनेछ । यसको निम्ति अभियानकर्ताहरूको भावनालाई सम्मान गर्दै राज्यले नै अग्रसरता लिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *