प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भूमि र पहिचानको लागि खोकना र बुङ्गमतीका जनताले गरिरहेको सङ्घर्ष चालू छ । सरकारले अघि सारेका विभिन्न परियोजना कार्यान्वयन गर्दा ऐतिहासिक र सांस्कृतिक बस्ती खोकना र बुङ्गमतीको अस्तित्व पूर्णतः नष्ट हुने भएपछि त्यहाँका जनता सङ्घर्षमा उत्रेका हुन् । स्थानीय जनताले चरणबद्ध रूपमा वर्षौंदेखि शान्तिपूर्वक सरकारी परियोजनाविरूद्ध आन्दोलन गरिरहेका छन् । जनताको सङ्घर्ष विफल पार्न राज्यले साम–दाम–दण्ड–भेदको नीति लागू ग¥यो । तर, जनताको आन्दोलन कति पनि गलेको छैन । राज्यका हरेक दमनकारी नीतिले खोकना र बुङ्गमतीका जनताको सङ्घर्षशील भावनालाई अझ उत्साहित बनाएको छ । राज्यले स्थानीय किसानहरूको जमिनमा खेती गर्न नदिने निर्णय ग¥यो । तर, हातमा कोदाली र बीउ बोकेर राज्यको त्यस्तो नीतिको जनताले प्रतिरोध गरे । अन्ततः जनताले धान रोपी फलाउन सफल भए ।
जनताको सङ्घर्षसामु राज्यको केही नलागे पछि अहिले राज्य जनतालाई झुक्याएर ती परियोजना निर्माण अघि बढाउन खोजिरहेको छ । जनतालाई चित्त बुझाउन नसकेपछि आयोजनाको ठेक्का लिएको नेपाली सेनाले लुकी लुकी काम गराउने प्रयास गरिरहेको छ । शुक्रबार खोकनामा दु्रतमार्गअन्तर्गतको पुल निर्माण गर्ने प्रयास भयो । तर, स्थानीय जनताले त्यसको प्रतिरोध गरे । राज्य दमनमा उत्रियो । जनताको एकतासामू प्रहरीको केही लागेन । अन्ततः पुल निर्माणको काम रोकियो । पुल निर्माण गर्न भनी आएका कामदारहरूले जनताको पक्ष लिए । काम नगरी फिर्ता भए ।
द्रुतमार्ग बनाउने जिम्मा पाएको नेपाली सेना नेपाली जनताको साझा सेना हो । नेपाली जनताको हित रक्षा गर्नु नै नेपाली सेनाको पहिलो दायित्व हो । तर, खोकना–बुङ्गमतीमा बन्दै गरेको द्रुतमार्ग नेपाली जनताको हितविपरीत भएको कुरा वर्षौंदेखि चल्दै आएको सङ्घर्षबाट पुष्टि हुन्छ । जनताको सङ्घर्षलाई उचित सम्बोधन गर्नुको सट्टा सरकार र सेनाले जनतामाथि दमन गर्ने र झुक्याउने काम गरिरहेको छ । राज्यले यसरी जनतालाई झुक्याएर र जनभावनाविपरीत जबरजस्ती गर्नु कदापि उचित होइन ।
खोकना–बुङ्गमतीका जनताको आन्दोलनलाई राज्यले सङ्कीर्ण आँखाले हेरेर गल्ती गर्नु हुन्न । देशको विकास र समृद्धि जनताको चाहना हो । तर, जनतालाई मारेर हासिल हुने विकास र समृद्धिको कुनै अर्थ हुँदैन । जनताको आँसुमाथि बनेको सत्ता र विकास लामो समय टिक्न सक्दैन । संसारका सबै जनविरोधी सरकारहरूले सुरूमा दमनबाटै जनतालाई तह लगाउन सकिने मान्यता पालेको हुन्छ । तर, राज्यको दमनले जनतालाई अझ स्पात बनाउँछ । हिजो प्रहरीसँग मुठभेदमा जान नचाहने जनता राज्यको दमनपछि निडर भएर भिड्न तयार हुन्छन् । हिजो बोल्न अनकनाउने आवाजहरूलाई राज्यको दमनले बोल्न र चिच्याउन उत्साहित गर्छ । आज खोकना र बुङ्गमतीका जनताको आवाजलाई थुन्ने प्रयास गरेर राज्यले अझ बढी ठूलो स्वरमा बोल्न जनतालाई उत्साहित गरिरहेको छ । हिजो बोल्न नसक्नेहरू आज चिच्याउन सक्ने भएका छन् । जनताको यो आक्रोशलाई न्यूनाङ्कन गर्नु राज्यको लागि घातक हुनसक्छ । द्रुतमार्गको ठेक्का पाएको नेपाली सेनाले जनताबीच आफ्नो छविलाई धमिल्याउने गल्ती गर्नु हुन्न । सेनाले तत्काल खोकना–बुङ्गमतीका जनताको भावनाको सम्मान गरोस् ।
Leave a Reply