भर्खरै :

अब भौतिक उपस्थितिमा पढाइ

काठमाडौँ, १८ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा. पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिनुभयो । कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन ।
परीक्षा भने छठलगत्तै हुन थालेको छ । “कोभिड–१९ सङ्क्रमणको जोखिम नभएको ठाउँमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो ।
रजिष्ट्रार दाहालले भौतिक उपस्थिति हुन नसक्ने क्याम्पसलाई वैकल्पिक विधि प्रयोग गरेर नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार स्नातकोत्तर तहको पढाइ भर्चुअल विधिबाट भए पनि स्नातक तहको कक्षा भएका छैनन् ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार कार्यकारी परिषद्को बैठकले त्रिविअन्तर्गतका सबै क्याम्पस विभाग, स्कूलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी स्थानीय तहसँग समन्वय गरी सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने र सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न सबै क्याम्पसलाई अनुरोध गरेको थियो ।
२८ गतेदेखि परीक्षा
यसैगरी त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा सुरु गर्ने जनाएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यही मङ्सिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदै छन् । उहाँले पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने बताउनुभयो । त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । उहाँका अनुसार कम विद्यार्थी भएका सेमेस्टर तहका परीक्षा भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *