भर्खरै :

कोरोनाको कारण बुटवलमा हुन सकेन सामूहिक इहीँ

बुटवल, १८ मङ्सिर । कोभिड–१९ सङ्क्रमणको त्रासको कारण बुटवल, भैरहवालगायतका स्थानमा संस्थागत इहीँ (बेलविवाह) आयोजना हुन सकेको छैन । संस्थागत बेलविवाह आयोजना नहुँदा मङ्गलबार १३ जना कन्याका अभिभावकहरू आफैले बुटवलस्थित कालिका मन्दिरमा बेलविवाह गराएको नेवाः पुचः बुटवलका अध्यक्ष ज्ञानु लिगलले बताउनुभयो ।
रूपन्देहीको भैरहवामा नेवाः खलः, सिद्धानगरको आयोजनामा र बुटवलमा नेवा पुचः बुटवल तथा लायन्स क्लवको आयोजनामा हरेक वर्ष इहीँ हुँदै आएका थियो ।
नेवार समुदायमा केटीहरूको रजस्वला सुरु हुनुअघि बा¥हा (गुफा) मा राख्ने चलन छ ।
बा¥हा राख्नुअघि कन्याहरूको इहीँ गर्ने गरिन्छ । उमेर पुगेका नानीहरू भएका अभिभावकहरूले आफ्नै पहलमा मङ्गलबार बुटवलमा बेलविवाह कार्यक्रम गरे । बेलविवाह कार्यक्रम सामूहिकरूपमा गर्ने चलन छ । हुलमुलमा कोरोना सङ्क्रमणको जोखिम बढ्ने हुँदा यसपाली कुनै पनि संस्थाहरूले बेलविवाहको आयोजना गरेका छैनन् । मङ्सिर २५ गते बेलविवाह गर्न साइत भए पनि सोको तयारी नगरेको नेवाः खलः सिद्धार्थनगरका पूर्वअध्यक्ष विजयसागरले बताउनुभयो ।
नेवार समुदायका कन्याहरूको मात्र हुने बेलविवाह कार्यक्रम सामूहिक र संस्थागतरूपमा हुँदा संस्कार र संस्कृति सबैको लागि समान हुन्छ भन्ने सन्देश दिएको नेवाः खलःका पूर्वअध्यक्ष विजयसागरले बताउनुभयो । नेवारभित्रका पनि धनी र गरिबबीच भेदभाव नहोस् भन्ने उद्देश्यले संस्थागत बेलविवाह कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै पूर्वअध्यक्ष विजयसागरले पहिले व्यक्तिले आयोजना गर्दा एक्लैको पनि धेरै खर्च हुन्थ्यो, संस्थागत हुँदा दुई तीन हजार खर्चमै बेलविवाह सम्पन्न हुन्छ भन्नुभयो ।
बुटवलमा स्थानीय बाहुन पण्डितहरूबाटै बेलविवाह हुँदै आएकोमा नेवाः पुचः बुटवलले भक्तपुरबाट नेवार पण्डित ल्याई बेलविवाह गराउन सुरु गरेको थियो । नेवार संस्कृति भएकोले नेवार नै पण्डित राख्दा अझ धेरै कुरा सहजरूपमा बुझ्न सकिने बताउँदै नेवाः पुचः का अध्यक्ष ज्ञानु लिगलले बेलविवाह बेलसँग गरिने विवाह नभई बेललाई साक्षी राखी नारायणसँग विवाह गरिने इहीँ हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *