भर्खरै :

नक्सामा नभए पनि कुलो बाटो कायम गर्नु आवश्यक

पक्की सडक, कच्ची सडक, गोरेटो, कुलो–बाटो, पर्ती जग्गा सार्वजनिक सम्पत्ति हो । सार्वजनिक सम्पत्ति सबैका साझा हुन् । यस्ता समुदायको सम्पत्ति कसैले बिगार्न, भत्काउन, हटाउन र निजी गर्न पाउँदैन । बरू त्यसलाई लम्ब्याएर, चौडा पारेर या विस्तार गरेर स्तरोन्नति गर्न सकिन्छ । हालसम्म कायम भएका यस्ता बाटाघाटाहरू कति कसले मिचे त कति अद्यापि बाँकी छ । जनताका साझा सम्पत्तिलाई हामीले संरक्षण गर्नुपर्छ, जोगाउनुपर्छ । कति व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न, आफ्नो जग्गामा मापदण्ड छोड्नुपर्ला भनी मासे भने कतिले मास्ने प्रयास गर्दै छन् । नापी नक्सामा भए पनि नभए पनि पुर्खादेखि रहेको कुलो बाटो कायम राख्ने विषयमा कसैको बिमति हुनेछैन ।
नापी नक्साको बेला नापी गर्ने व्यक्तिहरूको कमजोरीले गर्दा कहीँ कुलो बाटो भए पनि नक्सामा समावेश नभएको त कहीँ पाइएको छ । कहीँ नक्सामा गोरेटो बाटो छ त कहीँ गोरेटो बाटो भएको ठाउँमा नक्सामा छैन । नापी नक्सामा उल्लेख भएझैँ कहीँ जग्गा पुग्दैन त कहीँ नक्सामा भन्दा बढी जग्गा देखिन्छ । यसरी नापी नक्सा वैज्ञानिक तरिकाबाट नभएको कारण अहिले किसानहरू विवादमा छन् । यस्तो समस्या एक–दुई फाँटमा एक–दुई जना किसानहरूको मात्र होइन, धेरै ठाउँमा धेरैको समस्या देखिएको छ ।
खेतमा कुलो बाटो भए पनि नक्सामा नभएको कारण देखाएर साविक ताथली गाविस वडा नं. ९ स्थित गःबुँ (हाल चाँगुनारायण नगरपालिका वडा नं. ९) मा रहेको कुलो बाटो नष्ट गर्न लागेकोमा स्थानीय किसानहरू उठेका छन् । केही मानिसहरूको स्वार्थ पूरा गर्न कुलो बाटो मास्न लागेको कारण स्थानीय किसानहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । हाल रहेको कुलो बाटो नक्सामा भए पनि नभए पनि कायम गर्नुपर्छ भन्ने स्थानीय किसानहरूको भनाइ हो । कुलो बाटो हाल चलेको छैन भनी मास्न पाइँदैन । एक ठाउँमा मासेपछि अर्को ठाउँमा पनि मास्न बेर लाग्दैन ।
यस्तै समस्या अन्य पनि धेरै ठाउँमा देखिएको छ । कहीँ पहिलेको सिंचाइको बाँध बन्द भएर या नचलेर भएका कुलो बाटो पुरेर नष्ट भएका छन् । कहीँ योजनाको कारण कुलो बाटो नष्ट भएका छन् । योजनामा त बाटोको व्यवस्था गरिएको हुन्छ, समस्या पर्दैन । तर, अन्यत्र कुलो पुरेर खेती गरिएको पाइन्छ । त्यस्तो ठाउँमा कुलो चल्ने सम्भावना छैन भने पनि कुलो पुरेर बाटोलाई चौडा पार्न सकिन्छ । बाटो कायम भएको खण्डमा आवश्यक परेको बेला कुलो खन्न सकिन्छ र फेरि चालू गर्न सकिन्छ । बाटो कायम राख्न सके सबैको लागि फाइदा हुन्छ । तर, कुलो बाटो नै बिगारेर, मासेर व्यक्तिको बनाउनु हुँदैन । अतः कुलो बाटो कायम राख्नुपर्छ । कुलो कुनै हालतमा चल्न नसक्ने स्थिति देखिएमा कुलोसमेतलाई बाटोमा परिणत गरेर चौडा बनाइनुपर्छ । एक–दुई जना व्यक्तिको जग्गाको दुवैतर्फ बाटो पर्ने भयो, मापदण्ड छोड्नुपर्ने भयो भनेर कुलो बाटो नष्ट गर्ने काम गलत हो । यसबारे सम्बन्धित व्यक्तिले पनि थाहा पाउनुपर्छ । समाज, समुदाय या सबैले थुक्ने, धिक्कार्ने काम गर्नुहुँदैन । आफ्नो भएको इज्जत, प्रतिष्ठा र जीवनमा आँच पु¥याउने काम गरेर समाजबाट अलग हुने काम गर्नु मनासिब होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *