भर्खरै :

बक्यौता नपाउँदै उखु किसानको मृत्यु

काठमाडौँ, १४ पुस । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायण राययादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान राययादवको मङ्गलबार बिहान ११ बजे मृत्यु भएको छ । सरकारले यादवको बक्यौता रु. २४ लाख ६३ हजार मङ्गलबार मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो ।
राययादवको बिहान ११ बजे नै मृत्यु भएकाले मङ्गलबार वितरण गर्ने भनिएको रु. पाँच करोड दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो ।
सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता देखिएका किसानका रु. ६५ करोड उपलब्ध गराउने सम्झौता गरेको थियो । किसानले भने आफूहरूको कुल बक्यौता रु. ९५ करोड रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ ।
उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले राययादवको रु. १४ लाख ऋण रहेको जनाउँदै उनको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने राससलाई बताउनुभयो । गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडौँको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए । राययादवको सहिद गङ्गालाल अस्पतालतमा हृदयाघात बन्द भई मृत्यु भएको थियो । सरकारले उद्योगीको राहदानी जफत, बैङ्क खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरूलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ ।
रु. ३३ करोड बक्यौता भुक्तानी
उखु किसानको आन्दोलन सुरु भएपछि तीन चिनी मिलले रु. ३३ करोड बक्यौता भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी सुरु गरिसकेका छन् । उहाँका अनुसार सोमबारसम्म श्रीराम सुगर मिलले रु. २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले रु. पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले रु. दुई करोड भुक्तानी गरिसकेका छन् ।
सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको रु. ३५ करोड, लुम्बिनी सुगर मिलको रु. आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु. चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलको रु. सत्र करोड बक्यौता छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *