भर्खरै :

जो आगोसँग खेल्छ, आगोमै मर्छ ! जो पानीसँग खेल्छ, पानीमै मर्छ !!

नेपाली काङ्ग्रेस, नेकपा र मधेसवादीजस्ता नेपालका शासक दलका गतिविधिले प्रस्तुत शीर्षक याद गराउँछ । नेपाली काङ्ग्रेस सत्तामा छँदा जुम्लाबाट विजयी नेपाल मजदुर किसान पार्टीका एक सांसदलाई अपहरण शैलीमा विराटनगर हुँदै भारत लगियो । एमालेले पनि सरकार बनाउने निहुँमा नेमकिपाको तर्फबाट दैलेखबाट विजयी अर्को एक सांसदलाई ‘अपहरण’ ग¥यो । त्यसबेला नेमकिपाका अध्यक्ष तथा सांसद रोहितले नेपाली काङ्ग्रेस र एमालेलाई संसद्मा ‘जो आगोसँग खेल्छ, आगोमै मर्छ’, र ‘जो पानीसँग खेल्छ, पानीमै मर्छ’ भन्नुभएको थियो ।
बिस्तारै नेपाली काङ्ग्रेस र एमालेमा पनि टुटफुट, ताना–तान र पद–पैसाको सिद्धान्तहीन फोहरी खेल सुरु भयो । अनि, भारतमा ‘आया राम र गया राम’ जस्तो लज्जाहीन राजनीतिको नाममा अनैतिक र चरम अपराधका घटनाहरू बढ्दै गए । राजनैतिक अपराधमा अङ्कुश लगाउनुको सट्टा जिल्ला–जिल्लाका कार्यकर्ता भड्काउने र नेमकिपालाई फुटाउने काम ती शासक दलहरूले गरे । कर्णाली, लुम्बिनी, सगरमाथा, नारायणी अञ्चल हुँदै देशभरिका नेमकिपाका कार्यकर्तालाई भाँड्ने काम ती दलले गरे । नेमकिपाका कार्यकर्तालाई भारत र युरोपको समेत छात्रवृत्ति दिलाए र तिनलाई युवा–विद्यार्थीको अन्तर्राष्ट्रिय सङ्गठनमा पु¥याएर भ्रष्ट गर्ने काम गरे ।
एकजना एमालेका मन्त्रीले भने– विश्वविद्यालयको छात्रावासको भातमात्रै खुवाएर दैलेखका एक विद्यार्थी नेतालाई एमालेमा लिएको हुँ । त्यस्ता ‘भाते कम्युनिस्ट’ तयार गरेकै परिणामस्वरूप आज नेपाली काङ्ग्रेस, नेकपा, सद्भावना पार्टी आदिमा पनि आ–आफूले रोपेको काँडाको विरुवा झाङ्गिएको छ । सम्भवतः त्यसमा विदेशको समेत हात थियो । नेमकिपा आफ्नो ठाउँमै बसेर देश र जनताको सेवामा समर्पित छ – तर नेमकिपालाई ‘सिध्याउने’ उद्देश्यले गतिविधिमा संलग्न शासक दलका नेताहरू आफै दल बदल्दै ‘नर्क’को बाटो लाग्दै छन् ।
टोल, गाउँ, गल्ली र चिया पसलका ती चर्चा–परिचर्चासँगसँगै शासक दलका शासनबारे प्रकाशित समाचार शीर्षकहरूले शासकहरूको गालामा नैतिकताको थप्पड हान्दै गरेको अनुभव संवेदनशील मतदाताहरूले गर्दै छन्–
‘अख्तियारले औँल्यायो तीनवटै सरकारका भ्रष्टाचार प्रवृत्ति’, (राजधानी, १२ पुस २०७७)
भ्रष्टाचारका कारणबारे समाचारमा बताइएको छ– महँगो निर्वाचन प्रणालीका कारण भ्रष्टाचारमा वृद्धि, सदाचार र नैतिक आचरणमा विचलन, राजस्व चुहावटमा लगातार पुनरावृत्ति, सार्वजनिक खरिद ऐन उल्लङ्घन, उपभोक्ता समितिलाई औपचारिक मात्रै बनाइएको, जग्गा दर्तासम्बन्धी फाइल र मिसिल नै गायब पार्ने गरिएको, ठेक्कामा सरकारी अधिकारीको अत्यधिक मिलेमतो, कृषि अनुदानमा व्यापक अनियमितता हुने गरेको, विचौलिया प्रथा हावी हुँदै गएको, गैरकानुनी सम्पत्तिको शुद्धीकरण गर्ने प्रवृत्ति बढेको, आदि ।
नेपालमा सम्पत्ति शुद्धीकरणको नीति र विधेयक ल्याउने नेपाली काङ्ग्रेसको सरकारका डा. रामशरण महत नै थिए । यसरी भ्रष्टाचारको निम्ति भूमिका तयार गर्ने, मलजल गर्ने आदि सबैमा नेका, एमाले, राप्रपा, एमाओवादी, सद्भावना र सरकारमा गएका मधेसवादी दलहरू तथा सत्तामा बस्दै छल गर्ने बाबुराम भट्टराई जस्ता सबै नेताहरू जिम्मेवार छन् ।
राजनैतिक दल तथा केन्द्रीय नेताहरूले नै प्रदेशका नेताहरू तयार पारेका थिए र प्रदेश स्तरकै नेताहरूको छत्रछायामा हुर्केर स्थानीय सरकारका जनप्रतिनिधि र नेताहरू तयार भएका थिए । यसकारण, कर्मचारी भ्रष्टाचारी र अराजक हुनुमा शासक दलहरूकै कर्मचारी युनियनको गलत प्रयोग दोषी छ । सरकार ढाल्ने, निर्वाचनमा मतपत्र चोर्ने, हार्नेलाई जिताउनेदेखि सबै अनियमित काममा शासक दलकै नेता र मन्त्रीहरू जिम्मेवार छन् । भारतबाटै शिक्षा प्राप्त ती नेताहरूबाट र तिनको देखासिकीबाट देश र जनता झन् – झन् पीडित छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *