भर्खरै :

दुई अध्यक्षको बन्दोबस्त कहिलेसम्म ?

एउटै पार्टी नेकपाभित्र दुई अध्यक्षको बन्दोबस्त भएको कारण आन्तरिक विवाद चरमोत्कर्षमा पुग्यो र नेकपा विभाजित भयो । नेकपा विभाजित भए पनि औपचारिकरूपमा फुटेको छैन । पार्टी फुटेको भए कुनै एक दलको नाउँ अर्कै हुन्थ्यो । पार्टी फुटाएको दोष आफूमाथि आइलाग्छ भनेर नेकपा नै आफ्नो पार्टी रहेको दुवै पक्षको दाबी छ । संसारमा कही नभएको दुई अध्यक्ष प्रणालीले गर्दा नेकपामा विवाद चर्केको यथार्थ हो । दुई अध्यक्षको बन्दोबस्तले नै अन्तरकलह विभाजनको स्थितिमा पुगेको कुरा राजनीतिक र विश्लेषकहरूमात्र होइन नेकपाकै कति नेताहरू स्वीकार्छन् । दुई अध्यक्षको सिस्टम बसाल्ने केपी ओली र पुष्पकमल दाहाल नै यसका प्रमुख दोषी हुन् ।
हाल ओली पक्षधर नेकपामा दुई अध्यक्षको बन्दोबस्त छैन । ओली पक्षधर नेकपाले अर्का अध्यक्ष दाहाललाई कारबाही गरेपछि दुई अध्यक्षको बन्दोबस्त नभएको हो । यता दाहाल–नेपाल पक्षधर नेकपाले पनि अर्का अध्यक्ष ओलीलाई कारबाही गरिसकेको छ । ओलीलाई कारबाही गरेपछि उक्त रिक्त स्थानमा माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाइएको छ । हाल दाहाल– नेपाल पक्षधर नेकपामा दुई अध्यक्षको बन्दोबस्त गरिएको छ । यो दुई अध्यक्षको आलोपालो बन्दोबस्तले कतै पछि दाहाल र नेपाल पक्ष पनि विभाजित त हुने होइन ? आलोपालो बैठकको अध्यक्षता गरे पनि रोल क्रममा कुन अध्यक्ष १ र २ नम्बरमा पर्छ भन्ने विवाद हुनसक्छ । प्रचण्ड–नेपाल पक्षधर नेकपामा कुन अध्यक्ष १ नम्बरमा परेको हो, सार्वजनिक भइसकेको छैन ।
नेकपा विभाजित भएपछि प्रचण्ड–नेपाल पक्षधर नेकपाले दुई अध्यक्षको सिस्टमलाई निरन्तरता दिएर पुष्पकमल दाहाललाई संसदीय दलको नेता बनाएको छ । यसको आधारमा प्रचण्ड–नेपाल पक्षधर नेकपाको सरकार बनेमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति झलनाथ खनाल बन्ने राजनीतिक विश्लेषकहरूको आकलन गलत हुनेछैन । यसले प्रचण्ड–नेपाल पक्षधर नेकपाका नेताहरू पदकै निम्ति लागिपरेको सङ्केत गर्छ । पद नमिलेकै या नपाएकै कारण नेकपा विभाजित भएका विश्लेषकहरूको अनुमान गलत हुनेछैन । प्रम ओलीले आफूखुसी उच्चपदस्थ पदाधिकारी नियुक्ति गरेर दाहाल र नेपाललाई बेवास्ता गरेको घटनाले ओली पक्षधर र नेकपा पनि पदकै निम्ति लागिपरेको देखाउँछ ।
दुई अध्यक्षको बन्दोबस्त कहिलेसम्म ? प्रचण्ड–नेपाल पक्षधर नेकपालाई निर्वाचन आयोगले मान्यता दिएन भने उक्त पार्टी कसरी अघि बढ्ला भन्ने सचेत नागरिकहरूको चासो छ । के त्यसबेला प्रचण्ड–नेपाल पक्षधरले नयाँ पार्टी खोल्ला ? या फेरि एउटै दल भएर अघि बढ्ला ? एक पार्टीले अर्को पार्टीका नेताहरूको पोल खोलाखोल र विरोध भइरहेको सन्दर्भमा विभाजित पार्टी फेरि एक होला ? माधव–नेपाल–ओली पक्षतिर लागेर दाहाललाई एक्लै पार्ला भन्ने प्रश्न पनि उठिरहेको छ । घोषित निर्वाचनमा विभाजित नेकपामा कसले कस्तो स्थान ल्याउला र कुन पक्ष पत्तासाफ हुने हो ? त्यो पनि चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *