भर्खरै :

नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनमा समर्पित सङ्गठन

माघ १० नेपाल मजदुर किसान पार्टीको स्थापना दिवस हो । विसं २०३१ सालको माघ १० गते नेमकिपाको स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठ नेतृत्वको कम्युनिस्ट पार्टीबाट सैद्धान्तिक मतभिन्नताको कारण नेमकिपाको स्थापना भएको थियो । नेमकिपा स्थापना दिवसको सन्दर्भमा माघ ८ गते नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको आयोजनामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दिनुभएको मन्तव्य नेमकिपा स्थापनाका आधार, अन्य राजनीति दलप्रति नेमकिपाको दृष्टिकोण र समसामयिक राजनीतिक परिस्थितिबारे बुझ्न सान्दर्भिक भएकोले प्रकाशन गरिएको छः
पार्टी स्थापनाका आधारहरू
वि.सं. २०२० देखि २०३० को एक दशक नेपालको कम्युनिस्ट आन्दोलन विशृङ्खलित स्थितिमा पुगेको थियो । दोस्रो महाधिवेशनमा डा. केशरजङ्ग रायमाझीको नेतृत्व संशोधनवादी, राजावादी र विघटनवादी साबित भइसकेको थियो ।
नेकपाका पूर्वमहासचिव मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र डीपी अधिकारी पनि अन्योल र विघटनवादी साबित भइसकेका थिए ।
निर्मल लामा, मोहनविक्रम सिंह र जयगोविन्द साह अर्थात् चौथो महाधिवेशन ( आजको राष्ट्रिय जनमोर्चा) सुरुमा भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादको विरोधमा थिए भने पछि उनीहरूले राजा र राजतन्त्रलाई मुख्य दुश्मनको रूपमा लिए ।
आजको एमाले (ओली समूह) झापामा व्यक्तिहत्याको नीतिको कारण व्यक्तिगत आतड्ढवाद वा रुसी नरोदवादी भासमा फसिसकेको थियो ।
पुष्पलालजी र साथीहरू राजा तथा राजतन्त्र मुख्य दुश्मन भएको र नेकासँगको संयुक्त मोर्चाविना (पञ्चायती व्यवस्थामा) परिवर्तनको सम्भावना देख्दैनथे ।
नेपालको कम्युनिस्ट आन्दोलनको यस्तो विशृङ्खलित स्थितिको बेला अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसी संशोधनवादी ख्रुश्चेभ गुटले विश्व कम्युनिस्ट आन्दोलनलाई विश्वासघात गरी संरा अमेरिकी साम्राज्यवादको नेतृत्वको नाटो गुटलाई सहयोग पु¥याएको अवस्था थियो । संरा अमेरिकी र बेलायती साम्राज्यवाद एवम् रुसी सामाजिक साम्राज्यवादको सहयोगमा भारतीय एकाधिकार पुँजी र विस्तारवादले समाजवादी चीनमा आक्रमण गरी एसियाली–अफ्रिकी र संसारका तटस्थ एवम् असंलग्न आन्दोलनलाई कमजोर बनाइरहेका थिए । पूर्वी पाकिस्तानमा भारतीय सेनाले आक्रमण गरी पाकिस्तानबाट टुक्र्याई बङ्गलादेश बनायो भने सिक्किमलाई भारतमा विलय गरायो ।
नेपालको कम्युनिस्ट आन्दोलन विशृङ्खलित भइसकेको हुँदा डा. माझी गुटबाहेकका अन्य समूह विद्यार्थी फेडरेसनको सट्टामा ‘अखिल नेपाल विद्यार्थी सङ्घ’ को नाम राखी नेपालको सुस्तामाथि भारतबाट भएको थिचोमिचो र पञ्चायतको विरोधमा देखापरे । तर, राजा महेन्द्रसमक्ष द्यौसी खेलेर ‘अखिल’ राजावादी भासमा भासियो ।
त्यस्तो अन्योल र अस्पष्ट स्थितिमा हामीले पीएल नेतृत्वको पार्टीमा ‘रुसी संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन भएको’, ‘नेपालमाथि भारतको थिचोमिचो, बङ्गलादेशमा भारतीय सेनाको कब्जा र सिक्किमलाई भारतमा विलयको कारण भारतीय एकाधिकार पुँजी तथा भारतीय विस्तारवादलाई मुख्य दुश्मनको रूपमा लिनुपर्ने अडान’, ‘नेपालका मजदुर र किसानहरूबीच समाजवाद र साम्यवादी सिद्धान्तको प्रचार एवम् शोषणको विरोधमा सङ्घर्ष अगाडि बढाउन मजदुर र किसान सङ्घर्षलाई पुनः अगाडि बढाउने नीति’ लाई अगाडि सा¥यौँ । नेपालमा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा बोकी वर्गसङ्घर्षमार्फत साम्राज्यवाद एवम् विस्तारवादको विरोधमा जनमत तयार गर्न सङ्घर्ष गर्नुपर्नेबारे जोड दियौँ ।
उपर्युक्त हाम्रो दृष्टिकोण र नीतिलाई पार्टीभित्रबाट अस्वीकार गरियो । मिलेर कामै गर्न नसकिने षड्यन्त्रकारी गतिविधिको विरोधमा अलग्गै सङ्गठन गरी सङ्घर्ष गर्ने निर्णयअनुसार ‘रुसी संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन’, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’, ‘नेपाल–भारत सम्बन्ध र भारत’ आदि पुस्तकहरू प्रकाशित ग¥यौँ । ‘जनताको साहित्य’, नेपालका तराई र भारतमा बस्ने नेपाली तथा भारतीय कामदार जनतासमेतलाई ध्यान दिई हिन्दीमा ‘आधार’, ‘समाचार संसद्’, ‘ध्रुवतारा’, ‘नेपाल तराई’ तथा ‘बारा, रौतहट, धनुषा, सिराहा र सप्तरीको ऐतिहासिक किसान आन्दोलन एक अध्ययन’ लगायतका सम–सामयिक पत्रिका एवम् पुस्तकहरू प्रकाशित ग¥यौँ ।
नेपाल मजदुर किसान पार्टी नै किन ?
नेमकिपाले लिएको सिद्धान्त, विचार एवम् दृष्टिकोणअनुसार नारायणी, बाग्मती र जनकपुर अञ्चलमा सङ्गठन र सङ्घर्षलाई अगाडि बढाउनुको साथै भेरी, कर्णाली र सगरमाथा अञ्चलमा पनि सङ्गठन विस्तार गरियो । सिद्धान्त र व्यवहार मिलाई कामदार जनताको हितमा ‘निःस्वार्थ’ रूपले अगाडि बढाउने एक राजनीतिक दलको आवश्यकता अनुभव गरेरै नेमकिपाको निर्माण भएको हो ।
जनमत सङ्ग्रहको आन्दोलनमा नेमकिपा अन्य वाम दलहरूसँगको सङ्घर्षमा समर्पित रह्यो र बहुदलीय व्यवस्था पुनःस्थापनापछि २०४७ पुस–माघमा भैरहवामा पार्टीको पहिलो राष्ट्रिय सम्मेलन भयो ।
त्यसबेलादेखि आजसम्म नेपालको वामपन्थी आन्दोलनमा इमानदारीपूर्वक कम्युनिस्ट आन्दोलनमा समर्पित सङ्गठन भएको हुँदा नेमकिपाको स्थापना एक अनिवार्य आवश्यकता थियो ।
एमाले–माओवादी अथवा हालको नेकपासँग नेमकिपाको सैद्धान्तिक मतभिन्नता
एमाले–माओवादी (नेकपा) मा देखिएको आजको जस्तो अन्योल र अस्पष्ट, एक अवसरवादी एवम् पुँजीवादी दृष्टिकोण हिजो पनि नेतृत्व वर्गमा देखिन्थ्यो, त्यो दृष्टिकोण हिजो भ्रुणकै रूपमा थियो ।
वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), विप्लव नेतृत्वको नेकपा अर्थात् पूर्वमाओवादीसँग नेमकिपाको सैद्धान्तिक मतभिन्नता
नेकपा (वैद्य), नेकपा (विप्लव) अर्थात् पूर्वमाओवादीहरूमा प्रचण्ड–बाबुराम भट्टराईको भारतीय एकाधिकार पुँजी र विस्तारवादबारे नखोलिएका अनेक मतभेद देखिन्छन् ।
मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चासँग नेमकिपाका सैद्धान्तिक मतभेद
मोहनविक्रम सिंह अर्थात् ‘मसाल’ र राष्ट्रिय जनमोर्चा व्यवहारमा अराजकतावाद, एमाले र एमाओवादीप्रतिको दृष्टिकोण कहिले अमेरिकी एक कम्युनिस्ट घटक एवम् कहिले जर्मनीको एक कम्युनिस्ट घटकसँगको सम्बन्धले अस्पष्ट छ । भूमिगत पनि भन्ने र सरकारमा पनि जाने साथै निर्वाचनमा एमालेसँग पनि साठगाँठ गरेको हुनाले उनीहरूमा राजनीतिक स्पष्टताको अभाव छ ।
नेका, राप्रपा, समाजवादी जनता दल आदि राजनीतिक पार्टीहरूसँगका सैद्धान्तिक मतभेद
नेपाली काङ्ग्रेस अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग सम्बन्धित भनिए तापनि व्यवहारमा संरा अमेरिका र भारतीय एकाधिकार पुँजी, विदेशी साम्राज्यवाद एवम् विस्तारवादसँग झुकाव राख्ने राजनीतिक दल हो । राप्रपा राजावादी र जमिनदार वर्गको राजनीतिक दल हो । तराईका विभिन्न राजनीतिक दलहरू सारमा भारतीय एकाधिकार पुँजीप्रति झुकाव राख्ने जमिनदार वर्गको राजनीतिक दल हुन् ।
प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाबारे
बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीभित्रबाट अनुचित दबाब दिएमा वा प्रमुख प्रतिपक्षले काम गर्न नदिएमा पुँजीवादी प्रजातान्त्रिक देशहरूमा सरकारले संसद् विघटन गरी नयाँ जनादेश लिन नयाँ निर्वाचनको घोषणा गर्नसक्छ ।
आजको अन्तर्राष्ट्रिय परिस्थितिबारे
अमेरिकी राष्ट्रपति ट्रम्प, ब्राजिलका राष्ट्रपति बोल्सोनारो र भारतको मोदी फासीवादी तथा नाजीवादी हुन् । समाजवादी प्रजग कोरिया, क्युवा, चीन र अन्य प्रजातन्त्र तथा समाजवादी पक्षधर देशहरूको एवम् आफ्नै देशका किसान, मजदुर, अल्पसङ्ख्यक जाति–जनजातिहरूको विरोधमा तिनीहरूले आक्रामक नीति लिँदै छन् ।
नेमकिपाका कार्यकर्ताहरूको दायित्व र काम गर्ने तरिकाबारे
पार्टी कार्यकर्ताले आफ्ना टोल, छिमेक र गाउँका घर–घरमा गई कामदार वर्गको पक्षमा कक्षा सञ्चालन गर्ने, भेटघाट गर्ने गरिरहनुपर्छ । हाम्रा प्रकाशनहरू (‘मजदुर’, ‘श्रमिक’ वर्गीय र पेशागत सङ्गठनहरूका पत्रिका एवम् पुस्तक) बारे हरेक दिनजस्तै शिक्षा दिइरहनु आवश्यक छ । सङ्गठनको विकास नहुनुको अर्थ कार्यकर्ता सक्रिय भएनन् भन्ने प्रस्ट हुन्छ । हरेक कार्यकर्ताले आत्म–समीक्षा गर्नु आवश्यक छ ।
पार्टी कार्यकर्ताहरूलाई पार्टीको सहायता
कार्यकर्ताले विद्यालय, कलेज, कारखाना वा आ–आफ्नो काम गर्ने ठाउँमा सङ्गठनको इमानदारीपूर्वक काम गर्ने, अन्य साथीहरूसँग मेलमिलाप गर्ने, सहयोगको भावनाले हाम्रो पार्टीप्रति आकर्षित गर्ने, आम्दानीको केही प्रतिशत क्षमताको आधारमा पार्टीलाई चन्दा दिने तथा सबै प्रशिक्षण कक्षा, बैठक र आन्दोलनहरूमा सहभागी हुनु अनिवार्य छ ।
पार्टी प्रकाशनहरू जनतासम्म पु¥याउनबारे
हरेक पढेलेखेका साथीसम्म प्रकाशन पु¥याउने, वाचन गराउने, नबुझ्ने विषयमा बुझाउने काम गरिरहनुपर्छ ।
व्यक्तिगत स्वार्थ र फाइदामात्र हेर्नेलाई ‘अरूले पनि सहयोग नगर्ने र आफूले अरूलाई सहयोग गरेमा मात्र आफूलाई पनि अरूले सहयोग गर्ने’ बारे शिक्षित गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *