भर्खरै :

‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’

नेपालको राजनीतिक इतिहासमा नेपाल मजदुर किसान पार्टीको स्थापनाले असाध्यै ठूलो महत्व राख्दछ । स्पष्ट वैचारिक अडान र सिद्धान्त अर्थात् माक्र्सवाद–लेनिनवाद र माओ त्से तुङ विचारधाराको आधारशिलामा नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशानिर्देश गर्न नेमकिपाको स्थापना भयो । तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनभित्र देखापरेका सबैखाले अवसरवादी उत्ताउला र संशोधनवादी विचारविरुद्ध सङ्घर्ष गर्नु नै आन्दोलनलाई अघि बढाउने र जोगाउने एउटा उत्तम उपाय थियो ।
पुष्पलाल नेतृत्वको पार्टीभित्रको वैचारिक स्खलन र विरोधी आचरणविरुद्ध लडेर अध्यक्ष नारायणमान बिजुक्छेँले बहुमत नेपाली जनतालाई सम्बोधन गर्ने मौलिक नाम ‘नेपाल मजदुर किसान सङ्गठन’ खडा गर्नुभयो । सो सङ्गठनको भैरहवामा भएको पहिलोे राष्ट्रिय सम्मेलनले ‘नेपाल मजदुर किसान पार्टी’ नामकरण ग¥यो । पार्टी स्थापनाको ४६ वर्षमा पार्टीले सदैव देश र जनताको सेवा गर्ने राजनीतिलाई हुर्कायो । देश र जनताको पक्षमा उभियो । आन्दोलनको नाममा नेपाली जनतालाई भ्रममा राख्ने सम्पूर्ण समूह र गुटहरूसँग वैचारिक सङ्घर्ष ग¥यो । देशको सार्वभौमिकता र सम्प्रभुताको पक्षमा अटुट सङ्घर्ष अघि बढायो । अन्तर्राष्ट्रिय विषय वस्तुको सही विश्लेषण र व्याख्या गरी राष्ट्रिय आन्दोलनहरूलाई बाटो देखायो । पार्टीले ४६ वर्षमा सैद्धान्तिक र व्यावहारिक पक्षमा नेपालको आन्दोलनमा गरेको योगदान बेजोडको छ भन्छन् राजनीतिक विश्लेषकहरू । पार्टीले निरन्तर र इमानदारीपूर्वक राजनीतिक दबुमा विचारधाराको नेतृत्व गर्न सक्नु पछाडि पार्टी स्थापनाका आधार पनि हुन् । नेमकिपाले पार्टीलाई चिन्तनको चौतारीको रूपमा हुर्कायो ।
सिद्धान्तहीन एकताभन्दा फुट जाति हुने विचार नेमकिपा बोक्छ । एमाले र माओवादीको चुनावी गठबन्धन हुँदा नेमकिपाका अध्यक्ष रोहितले भन्नुभएको थियो, “यो विचार र सिद्धान्तको एकता होइन, पद र पैसाका निम्ति भएको एकता हो । यिनीहरू आफै मिलेका होइनन् बाहिरी तत्वले मिलाइदिएको हो । त्यसकारण, यिनीहरूको नियति फुट नै हो ।” पद र पैसाका निम्ति फुट्ने र जुट्ने पार्टीले देश र जनताको सेवा गर्दैन । आज ३ वर्षपछि नेकपा फुटको सङ्घारमा छ । हिजो पदका निम्ति एकतामा जुटेको नेकपा आज पदकै निम्ति फुटेको देखिन्छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र देखापरेको विदेशी शक्तिको प्रभाव र गलत प्रवृत्ति आज पनि कायम छ । आजको परिवेशमा पार्टी स्थापनाका आधारहरूबारे अध्ययन र छलफल गर्नु सामयिक नै हुन्छ ।
अध्यक्ष नारायणमान बिजुक्छेँले तत्कालीन पार्टीबाट छुट्टिन तीनवटा राजनैतिक दस्तावेजहरू सैद्धान्तिक आधारको रूपमा प्रस्तुत गर्नुभएको थियो – ‘नेपालको आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’, ‘रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ र ‘नेपाल–भारत सम्बन्ध र भारत’ । पछि ती दस्तावेजहरूले पुस्तकाकार पाए । आज पनि का.रोहितकृत यी पुस्तकहरूलाई नेपालको आन्दोलनको महत्वपूर्ण ऐतिहासिक दस्तावेजको रूपमा अध्ययन गरिन्छ । यहाँ पुस्तक एवम् पार्टी स्थापनाको सैद्धान्तिक आधार ‘नेपालको आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ बारे चर्चा गर्नु सामयिक होला ¤
आज नेपालको कम्युनिस्ट आन्दोलन नेकपाकै कारण थप बदनाममात्र होइन भड्खालोमा खसालिँदै छ । नेपालमा आन्दोलन निश्तेज बनाउन दक्षिणले चालेका गोटीहरूकै सक्रियता बढी छ । त्यो विरुद्ध नेमकिपाले आज पनि सङ्घर्ष गर्दै छ । यो पुस्तक थुप्रै खोटा विचारहरूविरुद्ध सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालमा आन्दोलनको विकासक्रम र इतिहास बुझ्न, पढ्न छुटाउनै नहुने पुस्तक हो, यो । आन्दोलनको उद्देश्य समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हुनुपर्छ र बाटो घोषणापत्रमा प्रस्ट उल्लेख छ । माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक आधारशिलाको विकल्पको रूपमा संसोधनवाद र अवसरवाद कदापि मान्य हुँदैन र यदि त्यसो गर्न खोजिए कम्युनिस्ट आन्दोलनले दुर्घटना व्यहोर्नुपर्ने हुन्छ । त्यसको क्षति देश र जनतालाई नै हुने हुँदा नेपालको सन्दर्भमा नेमकिपाले बेलैमा सचेत बनाएको हो । ती खोटा विचारहरूलाई पराजित नगरिकन कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने र आन्दोलन अगाडि नबढे जनताले कहिल्यै सुख नपाउने, शोषणविहीन समाज नबन्ने पक्का हो । त्यसकारण, नेमकिपा आज पनि वैचारिक सङ्घर्षको मैदानमै छ । सम्पूर्ण खोटा विचारहरूको विश्लेषण, खण्डन र विरोध सैद्धान्तिक र व्यावहारिक तवरले गरेका हिजोका प्रत्येक तर्क आज पनि उत्तिकै सान्दर्भिक महसुस हुन्छ ।
यस पुस्तकको आँखाबाट ४६ वर्ष लामो कम्युनिस्ट आन्दोलनलाई हेरे आन्दोलनको गुणदोषबारे प्रस्ट हुन्छ । आजको परिस्थितिमा त नेकपालाई का. रोहितका यही तर्कहरूको कसीमा घोटेर विश्लेषण गर्न जरुरी छ । आजको परिवेशमा त झन् पुस्तक अत्यन्त पठनीय देखिन्छ । पार्टी स्थापनाका एकमुस्ट सैद्धान्तिक र व्यावहारिक आधारहरू छन् । ‘पार्टी कार्यक्रमको सम्बन्धमा’ शीर्षकमा का.रोहितले पार्टी कार्यक्रममा आँखा चिम्लेर फलाकाबाजी गर्नेहरूको गलत ठम्याइबारे आलोचना गर्नुभएको छ । कार्यक्रम ठीक या बेठिकले तत्कालीन परिस्थितिमा जनताको आन्दोलन प्राथमिकतामा राख्नुपर्ने या कार्यक्रम ? कार्यक्रमको मोटाइमा जाने या उद्देश्यमा ? यी प्रश्नहरूमा घोत्लिन सुझाउनुभएको छ । माक्र्सले भन्नुभएको छ, “वास्तविक आन्दोलनको हरेक पाइला दर्जनौँ कार्यक्रमहरूभन्दा धेरै महत्वपूर्ण हुन्छ ।” जनताको हितको निम्ति कार्यक्रमका ठेलीहरूभन्दा व्यावहारिक पाइलाहरूको आवश्यकता रहनेबारे प्रस्ट पार्नुभएको छ । कार्यक्रमहरू पनि जनताको वर्गसङ्घर्षबाट तयार भएको हुनुपर्दछ । ती कार्यक्रमहरूले वर्गसङ्घर्षलाई हुर्काएको हुनुपर्दछ । त्यसकारण, पार्टी या पार्टीहरूले मोटा र बाक्ला कार्यक्रमका ठेलीहरू निर्माणमा रमाउनु र त्यसैलाई प्राथमिकतामा राखी जनताको सङ्घर्षलाई नउठाउनु खोटा विचारको रूपमा विश्लेषण गर्नुभएको छ ।
“हाम्रा शत्रुहरू को हुन् र हाम्रा मित्रहरू को हुन् ?” सङ्घर्षको मैदानमा यो प्रश्न टड्कारो उठ्दछ । आमूल परिवर्तनका निम्ति यो प्रश्न अनिवार्य छ । मित्रहरूको एकतामा जनताका वास्तविक शत्रु परास्त भइसकेपछि जनताको स्वर्ग निर्माण हुनेमा सन्देह छैन । तत्कालीन समयमा पार्टीभित्रै केहीले जनताको शत्रु राजा हो भने केहीले नेपाली काङ्ग्रेस हो भने । अध्यक्ष रोहितले तिनको आलोचना गर्दै भन्नुभयो, “शत्रु र मित्र छुट्याउने हाम्रो दृष्टिकोण ‘व्यक्ति’ या ‘गुट’ होइन बरु वर्गीय र उत्पादन सम्बन्ध हुनुपर्छ, राजनैतिक व्यवस्थाको बाहिरी रूप र नामबाट होइन त्यसको सारसँग गर्नुपर्छ ।” राजा रहनु र नरहनुलाई ‘सामन्तवाद’ र प्रजातन्त्रको रूपमा व्याख्या गर्नु गलत थियो । इतिहाससिद्ध एउटा राजा गए अर्को आउँछ । त्यसकारण, सिङ्गो राजतन्त्र, सामन्तवादी व्यवस्था, पुँजीवादी बन्दोबस्त जनताका शत्रु हुन् । देशभित्र सामन्तवाद र पुँजीवाद हुर्काउन बाहिरी उपनिवेशवादी साम्राज्यवादी र विस्तारवादी तत्व सदैव सक्रिय रहने हुँदा त्यसविरुद्ध पनि सङ्घर्ष आवश्यक हुन्छ । इतिहासदेखि आजसम्म नेपाली जनताका बाह्य शत्रु भारतीय विस्तारवाद र एकाधिकार पुँजी एवम् अमेरिकी साम्राज्यवाद नै हुन् । भित्री शत्रु हिजो राजतन्त्र र सामन्तवादी व्यवस्था थियो आज सामन्ती संस्कार र पुँजीवादी व्यवस्था नै जनताका शत्रु हुन् भनी बुझ्न पाठकलाई पुस्तकले सघाउँछ । तत्कालीन समयमा राजतन्त्र, काङ्ग्रेस, भारतीय विस्तारवाद तीन टाउके सर्प थिए भने एउटा टाउको काट््दैमा जनतालाई बाँकी दुई टाउकोले डसिरहने तर्क आज पनि सामयिक नै छ ।
‘अन्तर्राष्ट्रिय कुराबारे’ शीर्षकमा आफूलाई कम्युनिस्ट भन्ने तर अन्तर्राष्ट्रिय विषयवस्तुबारे कुरा नगर्ने र गर्न नदिने गलत पद्दत्तिको विरोध छ । आज पार्टी स्थापनाको ४६ वर्षपछि पनि नेमकिपामाथि विदेशको मात्र कुरा गर्ने पार्टी भनी फतुर लाग्ने गरेको छ । नेमकिपाले स्थापनाकालदेखि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र राजनैतिक घटनाक्रमको विश्लेषण गरी नेपालको कम्युनिस्ट आन्दोलन र राजनैतिक फेरबदलको विश्लेषण एवम् व्याख्या गरी जनतालाई शिक्षित बनाउँदै आइरहेको छ । इतिहासदेखि आजसम्मको समयले बताउँछ कि नेमकिपाको विश्लेषण कहिल्यै गलत भएन । भियतनामदेखि लावस–कम्बोडिया एसियादेखि ल्याटिन अमेरिका अफ्रिकामा अमेरिकी साम्राज्यवादको दबदबाविरुद्ध बोल्नु कर्तव्य हो । विश्वमा संरा अमेरिकाको ब्वाँसो नीति र आतङ्कविरुद्ध नबोल्ने कम्युनिस्ट हुनै सक्दैन । दक्षिण एसियामा भारतीय विस्तारवादको छाडा साँढे नीतिविरुद्ध लड्नु कम्युनिस्टहरूको दायित्व हो । नेमकिपाले रूसी समाजवादभित्र संशोधनवादको आक्रमण र रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको विश्लेषण गरी आफ्नो छुट्टै दृष्टिकोण विकास गरेको थियो । भारतले पाकिस्तान टुक्र्याएर बङ्गलादेश बनाएको, सिक्किमलाई भारतमा गाभेको, अफ्गानिस्तानमा साम्राज्यवादीहरूबाट सेना आयात गरी मच्चाएको उत्पातविरुद्ध नेमकिपाले कम्युनिस्टको हैसियतले बोल्यो । समाजवादी चीनका नेता माओले सदैव तेस्रो विश्वको एकता साम्राज्यवादको पतन, सामाजिक साम्राज्यवादको अन्त्यका निम्ति ठूलो शक्ति बन्नेमा विश्वस्त हुनुहुन्थ्यो । ‘कम्युनिस्ट घोषणापत्र’ले “संसारका मजदुरहरू एक होऔँ” भन्छ । त्यसकारण, संसारका शोषित–पीडित जनताको पक्ष लिनु र साम्राज्यवाद विस्तारवादविरुद्ध लड्नु अन्तर्राष्ट्रिय कर्तव्य हो भन्ने सन्देश यो दशकलाई अझ सामयिक छ ।
‘सामन्तवादको निर्मूल गर’ भन्ने लेखमा व्यवस्था अन्त्यपछि बाँकी रहने सामन्तवादी चरित्र र अवशेषको अन्त्य कति अनिवार्य छ भन्ने विश्लेषण छ । उत्पादन सम्बन्धमा आउने फेरबदलले सामन्ती प्रवृत्तिमा परिवर्तन नहुने हुँदा कम्युनिस्ट पार्टी चनाखो हुनुपर्ने विचार व्यक्त छ । ‘राजतन्त्र र गणतन्त्र’ शीर्षकमा थप चर्चा छ । ‘के एक चोटी एउटा मात्रै शत्रुको विरोध गर्ने हो ?’ प्रश्नले एकचोटी एउटामात्र शत्रु हुन्छ भन्ने कुतर्क राख्नेहरूको बुझाइ किन गलत छ प्रस्ट्याउँछ । जनताले सङ्घर्ष गर्दा एकैचोटी देशभित्रका शासक र बाहिरी आक्रमणहरूसँग समानान्तर लड्नुपर्ने हुन्छ । चिनियाँ क्रान्तिको समयमा चिनियाँ जनताले जापानी उपनिवेशवादविरुद्ध सङ्घर्ष गर्दागर्दै देशका जमिनदारहरूविरुद्ध लडे र पछि कोमिन्ताङ प्रतिक्रियावादीहरू, क्रान्तिविरोधी तत्वहरूसँग पनि भिडे । विश्वमा यस्तो सङ्घर्षका थुप्रै दृष्टान्तहरू छन् । त्यसकारण, एक समय एउटा मात्र दुश्मन हुन्छ भन्ने विचार खोटो हो ।
‘के हामीले प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र काम गर्नुहुन्छ ?’ शीर्षकमा आफूलाई कम्युनिस्ट भन्नेहरूले प्रतिक्रियावादी संस्थाभित्र जानुहुन्न भन्ने उत्ताउला तर्क राखेको सन्दर्भ छ । प्रतिक्रियावादी संस्थाभित्र गई जनता र देशको सेवा गर्ने लेनिनवादी नीतिलाई अनुसरण गर्नेहरूलाई त्यतिबेला पञ्चायतवादी, राजावादी, अर्थवादी, सुधारवादी र संशोधनवादीको फतुर लगाइयो । तर, त्यो फगत उत्ताउलो र कोरा विचार प्रमाणित भयो । क्रान्तिको परिस्थिति नहुन्जेल संसद् र अन्य सङ्घ–संस्थामा जनताको प्रतिनिधि बनी जनसेवक एवम् जानुपर्ने तर्क नेमकिपाले नेपालको राजनीतिक दबलीमा राख्यो । आज पनि सिद्धान्तमा अडिग छ । नेमकिपा बहुमत जनताको पक्षमा कानुनी र गैरकानुनी सङ्घर्षलाई निरन्तर अगाडि बढाउने पक्षमा छ । अध्यक्ष रोहितले रूस, चीन, भियतनामी क्रान्ति लगायतको उदाहरणसमेत दिनुभएको छ ।

किसानको मोहियानी हक, भूमिसँग जोडिएका समस्या तिरोतिरानसम्बन्धी समस्या हल गर्नु पनि तत्काल समाधान गर्नुपर्ने पक्ष हुन् । त्यसैगरी युवा विद्यार्थी, कर्मचारीहरूका थुप्रै समस्या समाधानका लागि कार्यक्रम तत्काल तय गर्नुपर्छ । तत्कालीन र दैनिक कार्यक्रमलाई प्राथमिकता दिइनुपर्दछ भन्दा फन्लाकावादी र उत्ताउला साथीहरूले सुधारवादी, अर्थवादी, संशोधनवादी गतिविधि भनी लाञ्छना लगाएका थिए । क्रान्तिकारी सङ्गठन गुप्त सङ्गठनको आवश्यकता, कार्यकर्ताको अनुशासनबारे का.रोहितको प्रस्ट विचार पुस्तकभित्र छ ।

‘चुनावमा भाग लिने प्रश्नमा’ नेमकिपा ४६ वर्षअघि पनि प्रस्ट थियो आज पनि छ । चुनावलाई जनताको चेतनास्तर बढाउने राजनैतिक अवसरको रूपमा उपयोग गर्ने नेमकिपाको विचार स्पष्ट छ । का.रोहितमाथि चुनावमा भाग लिनु नै संसदीय बाटो स्वीकार्नु हो भन्ने कुतर्कसहित आक्षेप लगाइएको थियो । चुनावमा भाग लिनुपर्छ तर सङ्घर्षबाट त्यसैभित्रमात्र सीमित राख्नुहुन्न भन्ने लेनिनका शिष्य का.रोहित रूसको सन्दर्भ, लेनिनको सङ्घर्षलाई मिहिन चर्चा गर्दै जनतामाझ जाने अवसर हो चुनाव भन्नुहुन्छ । लेनिनको क्रान्तिकारी संसद्वादको पक्षमा नेमकिपा कटिबद्ध छ । पुँजीवादी बन्दोबस्तमा निश्पक्ष चुनाव नहुने निश्चित हो । चुनावमा भाग लिनु त्यही विकृति र गा¥हो पक्षसँग जुझ्नु त हो । चुनावमा भाग नलिँदैमा पार्टी संशोधनवाद र अवसरवादबाट अछुतो हुन्न भन्ने उदाहरण त तत्कालीन एमाले नै हो । तर, नेमकिपा चुनाव या संसद्बाट समाजवाद आउनेमा विश्वास राख्दैन । संसद्बाटै समाजवाद स्थापना हुन सक्छ भन्नु संशोधनवादी विचार हो । समाजवाद स्थापनार्थ सशस्त्र सङ्घर्षकै जरूरत हुन्छ । इतिहासमा बहिष्कारवादी विचार खोटो प्रमाणित भयो । सिद्धान्तलाई व्यावहारिक अभ्यास गर्दै नेमकिपा निरन्तर अघि बढ्दै छ ।
‘काम गर्ने तरिकाबारे’ का.रोहितको विमर्श असाध्यै जानकारीमूलक छ । पार्टी कार्यक्रममै तत्काल गर्न सक्ने र दीर्घकालीन कार्यक्रमहरूलाई छुट्याएर प्रस्तुत गर्नुपर्ने सन्दर्भ उल्लेख छ । दैनिक तत्काल गर्नुपर्ने गतिविधि जस्तैः ज्याला बढाउने, कामको समय घटाउने, काम गर्ने ठाउँमा वातावरण सुधार गर्ने, स्वस्थ विचार र बासको निःशुल्क र राम्रो प्रबन्ध, कामको स्थायित्व लगायतका मजदुर समस्याका मागहरू तत्काल हल गर्नुपर्ने विषय हुन् भने किसानको मोहियानी हक, भूमिसँग जोडिएका समस्या तिरोतिरानसम्बन्धी समस्या हल गर्नु पनि तत्काल समाधान गर्नुपर्ने पक्ष हुन् । त्यसैगरी युवा विद्यार्थी, कर्मचारीहरूका थुप्रै समस्या समाधानका लागि कार्यक्रम तत्काल तय गर्नुपर्छ । तत्कालीन र दैनिक कार्यक्रमलाई प्राथमिकता दिइनुपर्दछ भन्दा फन्लाकावादी र उत्ताउला साथीहरूले सुधारवादी, अर्थवादी, संशोधनवादी गतिविधि भनी लाञ्छना लगाएका थिए । क्रान्तिकारी सङ्गठन गुप्त सङ्गठनको आवश्यकता, कार्यकर्ताको अनुशासनबारे का.रोहितको प्रस्ट विचार पुस्तकभित्र छ ।
क्रान्ति शान्तिपूर्ण हुन्छ भन्नु संसोधनवाद नै हो । सशस्त्र क्रान्तिविना जनताको समाजवाद र साम्यवाद स्थापना हुन्न । वर्गसङ्घर्ष नै क्रान्तिको मार्ग हो । शान्तिपूर्ण मार्ग वर्गसमन्वयबाट मात्र सम्भव हुन्छ । वर्गसङ्घर्ष र वर्गसमन्वय दुई विपरीत धु्रव जत्तिकै हुन् ।
चिलीमा प्रगतिशील एयेन्डेको सरकार र एयेन्डेको निर्मम हत्याको उदाहरण दिँदै ससस्त्र क्रान्तिविना संसद्बाट समाजवादको तयारीमा गुटेका एयेन्डे सरकारविरुद्ध कसरी आक्रमण भयो भन्ने उदाहरण प्रस्तुत छ । माक्र्सवादको आधारशिलामा सशस्त्र क्रान्ति नै कम्युनिस्टहरूको मार्ग हो जसरी रूस र चीनमा सम्भव भयो । यही निचोड ‘क्रान्ति ः सशस्त्र वा शान्तिपूर्ण’ बाट मिल्छ ।
उत्ताउला विचार बोक्नेहरूलाई पनि अध्यक्ष रोहितले छ्यास्नुभएको छ । व्यक्ति हत्या, दुस्साहसवाद, उग्रवाद, तातै खाउँ जल्दै मरौँ विचार बोक्नेहरूले आतङ्कलाई हुर्काउँछन् र कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्छन् । रूसका नरोदनिकहरूको उदाहरण पुस्तकमा छ । रूस, चीनको क्रान्तिमा फलाकावादी र उत्ताउलावादीहरूसँग पनि लेखकले पाठकलाई परिचित गराउनुभएको छ । उत्ताउला कम्युनिस्टहरू क्रान्तिको बेस्सरी फलाकोबाजी गर्छन् । तर, रातो झन्डाको विरोध गर्न रातो झन्डा बोक्छन् । ती माक्र्सवादी देखिन्छन् तर वास्तवमा माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराका कटरविरोधी हुन्छन् । यसरी आन्दोलनभित्रका सम्पूर्ण उत्ताउला, संशोधनवादी, वामपन्थी, दक्षिणपन्थी, अवसरवादी, बहिष्कारवादी, दुस्साहसवादी र फलाकावादीहरूको खोटा विचारहरूको खण्डनविना आन्दोलनले सही मार्ग पहिल्याउन सक्दैन । त्यसकारण, आलोचना र खण्डन जरूरी छ ।
अध्यक्ष रोहित भन्नुहुन्छ –“सैद्धान्तिक क्षेत्रमा माक्र्सवाद – लेनिनवाद र माओ त्से तुङ विचारधाराको ठाउँमा अवसरवाद, संशोधनवाद र सामाजिक साम्राज्यवादलाई स्वीकार गर्नु फुटको कारण हो । विदेशी दबाब र शान्तिपूर्ण तरिकाले नै क्रान्ति र समाजवाद ल्याउने जाली विचार लिनु फुटको कारण हो ।” तर, एकताको नाममा खोटा सैद्धान्तिक र अव्यावहारिक पाइलाहरूलाई समर्थन गर्नु माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचार धारालाई धोका दिनु हो भन्नुहुन्छ –का.रोहित । माक्र्सले एकताको नाममा सिद्धान्तको वेचबिखनलाई सदा विरोध गर्नुहुन्थ्यो भन्ने स्मरण गराउनुहुन्छ ।
पुस्तकले आन्दोलनको इतिहासको एउटा अध्यायमात्र उजिल्याउँदैन मूल्यमान्यता र विचार पनि प्रदान गर्छ । सबैभन्दा महत्वपूर्ण कुरा त आन्दोलनलाई हेर्ने दृष्टिकोण प्रदान गर्छ । क्रान्तिकारी सिद्धान्त विभिन्न खोटा सिद्धान्तहरूसँग सङ्घर्ष गरेर नै अगाडि बढ्छ र क्रान्तिकारी पार्टीले नै मात्र क्रान्तिकारी सिद्धान्त इमानदारीपूर्वक हुर्काउँछ भन्ने दृष्टान्त नेमकिपाको इतिहास हो । यस पुस्तकलाई नेमकिपाको इतिहासको एउटा महत्वपूर्ण आधारका रूपमा नयाँ पुस्ताले अध्ययन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *