भर्खरै :

नेताहरूको आरोप–प्रत्यारोप : सत्य बुझ्दै जनता

संसद् विघटनपछि नेकपाभित्रका दाहाल–नेपाल पक्ष र ओली पक्षबीचको झगडाले यतिखेर सडक तातेको छ । एक आपसको आरोप प्रत्यारोपले आ– आफू नै नाङ्गिने काम भएको छ । जनतालाई भने फाइदा नै भएको छ । दाहाल–नेपालले ओलीलाई इतिहासकै कुलङ्गार, निरङ्कुश, भष्मासुर इत्यादि भन्दै आएको छ । त्यस्तै ओलीले दाहाल नेपाललाई विकासविरोधी, परिवारभन्दा माथि रहेर नसोच्ने, कसैको उक्साहटमा हिँड्ने आदि बोल्दै आएको छ ।
मतपत्र च्यातेर जित्नेहरू आफै पत्तासाफ हुँदै जान्छ भन्ने भनाइ ओलीको आरोप छ । माघ १७ गते प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु शाह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलगायत जम्बो टोलीले भरतपुरस्थित सिटी हल र भरतपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको सडक स्तरोन्नति कार्यको उद्घाटन गर्ने नाममा चितवनको पार्टी कार्यक्रमलाई सम्बोधन गर्न आए । पार्टी कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै प्रधानमन्त्री, मन्त्रीलगायतले स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयर जिताउन प्रचण्डले मतपत्र च्यात्न लगाएको सत्य आरोप लगाए ।
मतपत्र च्यातेर ओलीको आफ्नै भरतपुरका मेयर उम्मेदवार देवी ज्ञवालीलाई हराएको तातो रिस सेलाउन पाउँदा नपाउँदै हिजो पार्टी एकतामा कुम जोडेर हामी असल साथी हौँ भन्दै ओली र दाहालले पार्टी एकता गरेका थिए । नेताहरूको स्वार्थ मिल्दा सबै गल्ती र कमजोरीहरू बिर्सने र स्वार्थ नमिल्दा यस्तो र उस्तो आरोप लगाउने बानी परिसकेको छ । वास्तवमा यिनीहरू सबै बेइमानी नै हुन् । आरोप लगाउँदै गर्दा दक्षिणको उक्साहटमा प्रचण्ड–माधव उचालिएको सम्म ओली पक्षकाले बोल्न भ्याए । यी शासक दलहरूमा विदेशीको प्रभाव रहेछ भन्ने कुरा पनि जनताले बुझ्ने मौका पाए । तीन पटकसम्म प्रधानमन्त्री बनेकाहरूले युद्ध ताका मृत्यु भएका परिवार र घाइते लडाकूहरूलाई केही गर्न नसकेको रामबहादुर थापा बादलले आरोप लगाए । माओवादीका बाबुराम नाङ्गिए, प्रचण्ड नाङ्गिए, त्यस्तै बादल पनि एक दिन नाङ्गिने छ र अरू पनि नाङ्गिँदै जानेछ ।
हिजोदेखि सरकारमा गएर देशलाई चुस्दै आएका यी आरोपीहरू कोही पनि अछुतो छैनन् । मन्त्री पटक–पटक भएकै छन् । मन्त्रीहरू नै भ्रष्टाचारमा मुछिएकै हो । गुन्डा र दलालहरूको संरक्षक यिनीहरू नै हुन् । देश हितविपरीत सन्धि सम्झौता गरेर आएकै हुन् । नीच स्वार्थको लागि झगडा भएका यिनीहरूको नाटक जनता हेर्न विवस छ । अन्ततः यिनीहरूको बोली र व्यवहारले कम्युनिस्ट होइन भनी सावित गरेको छ । तर, पनि कम्युनिस्ट झन्डा समात्न नछोड्नाले जनता अलमलिरहेका छन् । कम्युनिस्ट सिद्धान्तमाथि खेलवाड गरेर यिनीहरूले ठूलो अपराध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *