भर्खरै :

सक्वको म राजदास – ७२ / सोभियत नेता ब्रेझनेभको सफलता र असफलता

सन् १९२४ मा महान् अक्टोबर क्रान्तिका प्रवर्तक भ्लादीमीर इलिच लेनिनको मृत्युपश्चात् सोभियत सत्ता आफ्नो हातमा लिएपछि सोभियत नेता जोसेफ स्तालिन सोभियत सङ्घलाई द्रुतगतिमा औद्योगिकीकरण गर्न सफल भएका थिए । सन् १९४१ मा नाजी हिटलरले सोभियत सङ्घमा आक्रमण गरेपछि सन् १९४५ सम्म सोभियत सङ्घ पूर्णरूपमा युद्धमा होमिन पुग्यो ।
द्वितीय विश्वयुद्ध हुनुअघि सोभियत सङ्घको औद्योगिकीकरण सँगसँगै ठूलो आर्थिक विकास भएको थियो । तर, युद्धमा दुई करोडभन्दा बढी जनता गुमाउनु पर्दा सोभियत सङ्घको आर्थिक उन्नतिमा ठूलो धक्का पुग्यो । यद्यपि, उक्त विश्वयुद्धमा सोभियत सङ्घको विजय भयो र विश्वलाई चकित पार्दै फेरि सोभियत सर्वोच्च कमान्डर जोसेफ स्तालिनको नेतृत्वमा आफ्नो विकास पथमा लम्किँदै गयो ।
द्वितीय विश्वयुद्धपछि सोभियत सङ्घले देशमा औद्योगिकीकरण सँगसँगै आणविक प्रविधि, रेडियो सञ्चार, कृषि तथा हातहतियार उत्पादनमा पनि ठूलो सफलता पायो ।
सन् १९७० सम्म आइपुग्दा सोभियत सङ्घ विश्वमा दोस्रो ठूलो औद्योगिक शक्ति सम्पन्न राष्ट्रमा गनिन पुग्यो । देशमा स्टील, फलाम, तेल, सिमेन्ट, ट्याङ्क, ट्याक्टर आदि वस्तुहरूको उत्पादनमा प्रमुख स्थान लिन सफल भयो ।
सन् १९५३ मा सोभियत नेता जोशेफ स्तालिनको मृत्युपश्चात् निकिता ख्रुश्चेभमा सत्ता हस्तान्तरण भएपछि सोभियत नीति निर्माणमा परिवर्तन ल्याएर ख्रुश्चेभले सोभियत समाजवादको विकासमा ठूलो अवरोध गरे । देशलाई समाजवादबाट विमुख हुने दिशामा उनी गए । लेनिन, स्तालिन र माओ त्सेतुङ हिँडिरहेको बाटोबाट मोडेर विश्व पुँजीवादी देशहरूसँग मिलेर ‘सहअस्तित्व’ को अवधारणा ल्याई देशका आर्थिक विकास र राजनीतिक धारमा अन्योलता ल्याउँदै ख्रुश्चेभले दिवङ्गत सोभियत नेता स्तालिनको अपमान हुने गरी खेदो खन्दै देशलाई संशोधनवादको बाटोमा दोहो¥याए ।
सन् १९६० को सुरुमा ख्रुश्चेभले सोभियत सङ्घमा छिटोभन्दा छिटो समाजवाद स्थापना गर्ने आश्वासन दिँदै देशलाई सबभन्दा पहिले आर्थिक सम्पन्नता दिलाउनुपर्ने र यसको लागि कृषि र पशुपालनमा जोड दिनुपर्छ भनी विशाल सोभियत भूमिको बाँझो खेतमा मकै उत्पादन गर्ने बृहत् योजना बनाए । सोभियत उक्राइनमा ठूलो मकै अनुसन्धान गर्ने संस्था पनि खडा गरे र संयुक्त राज्य अमेरिकाबाट उन्नत जातको मकैको बीउ ल्याई लाखौँ लाख विगाहा बाँझो भूमिमा मकै खेती लगाए । मकै खेतीबाट अन्न उत्पादनको साथसाथै गाईवस्तुलाई ख्वाउने फोदर पनि प्रशस्त प्राप्त हुने र यसबाट पशुपालनमा ठूलो सघाउ पुग्ने हिसाबले ठूलो लगानी गरे । तर, बिनावैज्ञानिक अनुसन्धान र बिनाठोस सोच विचार गरिएको मकै खेतीको नयाँ अनुभवले निकिता ख्रुश्चेभको सपना पूरा विफल भयो । सन् १९६४ तिर सोभियत सङ्घमा अन्नको अभावले हाहाकार मच्चियो । मकैबारीले सोचेअनुसार प्रतिफल नदिएकोले विदेशबाट अनाज आयात गर्नुपर्ने अवस्था सृजना हुनुको साथै निकिता ख्रुश्चेभ सन् १९६४ मा सोभियत सत्ताबाट हटाइए ।
निकिता ख्रुश्चेभबाट सत्ता अपहरण गरेका लिओनिद इलिच ब्रेझनेभले सन् १९६४ देखि सन् १९८२ सम्म सोभियत सत्ता चलाए ।
ख्रुश्चेभले जस्तो कुनै ठूलो परिवर्तन ल्याएन लिओनिद बेझनेभले आफ्नो शासनकालमा । सकेसम्म यथास्थितिमा रहेर उनले देशलाई अगाडि लाने प्रयास गरे । अलेक्सी कोसिजीनलाई देशको प्रधानमन्त्री बनाई आफू सर्वशक्तिमान सोभियत सङ्घको महासचिव पदमा रहेर ब्रेझनेभले १८ वर्षसम्म सोभियत सङ्घको नेतृत्व समाले । आफ्ना सहयोगी पडगोर्नीलाई आलङ्कारी राष्ट्रपति पदमा राखेर प्रखर कूटनीतिज्ञ आन्द्रेइ ग्रोमीकोलाई विदेशमन्त्रीको पद दिइएको थियो भने सुश्लोभ उनको वैचारिक सहयोगी (थिङ्क ट्याङ्क) बनाएर आफ्नो पद मजबुत बनाएका थिए ।
ब्रेझनेभको कृषि योजना
निकिता ख्रुश्चेभले जस्तै लिओनिद ब्रेझनेभले पनि सर्वप्रथम देशमा अन्नको सङ्कट हटाउने योजना बनाए । ब्रेझनेभको शासनकालमा पनि निकिता ख्रुश्चेभको मकै खेतीको विफलताले ल्याएको खाद्यान्नको सङ्कट यथावत नै थियो । संयुक्त राज्य अमेरिका र क्यानडाबाट खाद्यान्न किनेर आपूर्ति गर्ने गरिन्थ्यो । जब संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौतामा खटपट भयो सोभियत नेता ब्रेझनेभले दक्षिण अमेरिकी देश अर्जेन्टिनासँग खाद्यान्न किन्न सम्झौता गर्न पुगे र साथसाथै एसिया अफ्रिका र ल्याटिन अमेरिकामा पनि समाजवादी क्रान्ति निर्यात गर्ने प्रयास जारी राखे ।
विदेशबाट खाद्यान्न आयात गरेर आफ्नो समस्या समाधान नहुने देखेर उनले देशभित्र नै खाद्यान्न उत्पादन बढाउने नीतिमा जोड दिन थाले ।
निजी उत्पादमा जोड
सन् १९१७ मा महान् अक्टोबर क्रान्ति सम्पन्न भएपछि विभिन्न कारण सोभियत सङ्घमा खाद्यान्नको ठूलो सङ्कट भएको थियो । एक त प्रथम विश्वयुद्धको प्रभाव रुसलाई नराम्रोसँग परेको थियो । क्रान्तिपछि सन् २०२१ सम्म गृहयुद्ध नै चलिरहेको थियो । त्यसमाथि क्रान्तिविरोधी सामन्त र जमिनदारहरूले आफ्नो जमीनमा अन्न उत्पादन गर्न छाडेकाले सोभियत सङ्घमा ठूलो भोकमरीको अवस्था श्रृजना भयो । सोभियत उक्राइन पनि त्यस्तै अवस्थामा थियो । यही भोकमरीको मारमा परेर निकिता ख्रुश्चेभको पहिलो पत्नीको मृत्यु भएको थियो ।
देशमा विद्यमान खाद्यान्न सङ्कट समाधान गर्न त्यसबेला भ्यालदिमीर इलिच लेनिनले ‘नयाँ आर्थिक प्रणाली’ लागु गरी सीमित मात्रामा सोभियत जनतालाई आफ्नो खेतबारीमा अन्न उत्पादन र पशुपालन गर्न छुट दिइएको थियो । त्यही प्रथा सन् १९७० को दशकमा पनि सोभियत सङ्घमा यथावत रह्यो । मस्कोबाट ६ सय किमि दक्षिणपूर्वमा रहेको मेरो ससुराली पेन्जा सहरमा मेरी ‘सासू आमाको दुई तीन रोपनी घडेरी र आफ्नो निजी घर पनि थियो । बारीमा फलफूलका १०–२२ वटा बोट, आलु, प्याज, गालेभेँडा लगाइएको थियो । त्यस्तै केही बङ्गुरहरू पनि पालेका थिए । यो सुविधा लेनिनको ‘नेप’ कार्यक्रमअनुसार नै प्राप्त भएको थियो । सन् १९७० को दशकमा लिओनिद इलिच बे्रझनेभको पालोमा पनि यथावत थियो ।
निकिता ख्रुश्चेभको मकैबारी विफल भएको कारण ब्रेझनेभ धेरै सतर्कसाथ अगाडि बढ्दै थिए भने देशमा खाद्यान्न उत्पादन बढाउन धेरै लगानी गर्न लगाए । विद्यमान सामूहिक खेतीमा धेरै लगानी वृद्धि गरी हरेक कृषि फार्मलाई केन्द्रबाट खाद्यान्न दूध, मासु, अन्डा, आलु, मकै, गहुँ उत्पादन वृद्धि गर्नुपर्ने बाध्यात्मक नियम लागु गरिदिए र प्रत्येक कृषि फार्ममा अनुशासनको व्यवस्था पनि कडीकडाउ गर्न थाले । तर, पनि आशातीत उत्पादन हुनसकेन ।
सोभियत सङ्घको बजेटको २७ प्रतिशत लगानी कृषिमा गरिदिँदा पनि आशा र योजना गरेअनुसारको प्रतिफल नआएपछि ब्रेझनेभले लेनिनको ‘नेप’ लाई सशक्तरूपमा अघि सार्ने अध्यादेश ल्याएर प्रत्येक निजी उत्पादक कृषकलाई आधा हेक्टर जमीन (२० रोपनी) सम्ममा उत्पादन गर्नसक्ने स्वीकृति दिए ।
सन् १९७७ र १९८१ मा ल्याइएका यी अध्यादेशले निजी कृषि उत्पादकहरूलाई धेरै प्रोत्साहन मिल्यो र सरकारी सहकारी संस्थाहरूभन्दा धेरै गुणा उब्जाउ देखाइदियो ।
देशको ४ प्रतिशत जमीनबाट सोभियत सङ्घको कुल कृषि उत्पादनको ३० प्रतिशत खाद्यान्न उत्पादन निजी क्षेत्रका किसानहरूले उब्जाएर देखाए ।
यस तथ्याङ्कले सोभियत सङ्घमा ठूलो तरङ्ग ल्याइदियो । के अब निजी उत्पादनमा नै जाने हो कि भन्ने प्रश्न तड्कारोरूपमा खडा भयो । तर, सोभियत कम्युनिस्ट सिद्धान्तविपरीत दिशामा जान बहुसङ्ख्यक राजनीतिक नेताहरू सहमत भएनन् । उनीहरू सरकारी सामूहिक खेतीलाई नै सुधार गर्दै लानुपर्ने नीतिमा अडिग रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *